नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च चौथो वर्षमा प्रवेश

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च स्थापना भएको जेठ २९ गतेबाट तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।

मञ्चले स्थापनाको विशेष अवसरमा व्यवसायी मञ्चको केन्द्रीय कार्यालय तथा विभिन्न जिल्ला शाखाहरुमा अन्तरक्रिया तथा जलपान कार्यक्रम समेत आयोजना गरेको थियो । मञ्चको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले वर्तमान अवस्थामा सम्पूर्ण व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै यसका लागि सबै जना मिलेर एउटै महासंघमा आबद्ध हुनुपर्ने धारणा राखे ।

मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले सानातिना व्यवसायीहरुको माग र गुनासाहरु समाधान तथा सम्बोधन होस भनेर मञ्चको स्थापना भएको बताउँदै छोटो समयमा नै अधिराज्यका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गर्न सफल भएकोमा सबै पदाधिकारी व्यवसायीहरु तथा शुभचिन्तकहरुमा आभार प्रकट गरे ।

यस्तै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखाले पनि विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ । शाखा कार्यालयमा आयोजित विशेष कार्यक्रममा उपस्थित व्यवसायीहरुबीच वर्तमान अवस्थामा यस क्षेत्रमा देखिएका विविध समस्याहरुको बारेमा छलफल गरी समाधानका उपायहरुबारे सुझावहरु संकलन गरिएको थियो ।

जिल्ला अध्यक्ष राजकुमार गहतराजले केक काटेर कार्यक्रमको उदघाटन गरेका थिए । मञ्चको केन्द्रीय कार्यालयमा संचालित विशेष कार्यक्रमलाई केन्द्रीय महासचिव खेम तिरुवाले संचालन गरेका थिए ।

यस्तै प्रदेश नम्बर १ धरानमा पनि यस मञ्चमा आबद्ध व्यवसायीहरुले स्थापना दिवस मनाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट