राहत स्वरुप निर्मला पन्तकी आमाले बुझिन् १८ लाख

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, ९ जेठ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारले दिएको राहत रकम बुझेकी छन् ।

उनले संघीय सरकारले दिएको १० लाख रुपियाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छन् । घटना भएको ११ महिनापछि उनले राहत स्वरुप पाएको सबै रकम बुझेकी हुन् ।

दुर्गादेवीले आफूले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेको बताएकी छन् । तीन सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गादेवीको खातामा जम्मा गरिएको छ । उक्त रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने उनले बताइन् ।

साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाए पनि अहिलेसम्म निर्मलाका हत्यारा पत्ता लगाउन सकिएको छैन ।

सरकारले निर्मलाको परिवारलाई क्रमशः (स्थानीय ३, प्रदेश ५ र संघीय १० लाख) गरी कुल १८ लाख रुपियाँ राहत दिने घोषणा गरे अनुसार नै दुर्गादेवीले राहत रकम बुझेकी हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट