यस वर्षको पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

काठमाडौं । यस वर्षको पहिचान पुरस्कार नथिया उपन्यास र उन्मुक्त पुस्ताको कविता संग्रह आफरलाई प्रदान गरिएको छ ।

राजधानीको मण्डला थिएटरमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा नथियाकी लेखिका सरस्वती प्रतिक्षा र आफरका लेखक माधव घिमिरे अटललाई नगद रु दुई लाख दुई हजार दुई रुपैयाँसहित मेडल र ताम्रपत्रले सम्मान गरिएको हो । बैरागी काईलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता जंग सुनुवारले गरेका थिए भने कार्यक्रमका अतिथिहरुमा आहुती, हाङयुग अज्ञात, यज्ञशलगायत रहेका थिए ।

पुरस्कार समारोहलाई सम्बोधन गर्दै आफरका लेखक घिमिरेले उन्मुक्त पुस्ता आठ जना सर्जकले सुरु गरेको एउटा अभियान भएको बताए । आफूहरुको संग्रहलाई पहिचान कोषले पुरस्कृत गरेकोमा धन्यवाद ज्ञापन गर्दै लेखक घिमिरेले यो अभियानमा अझ प्रतिबद्ध भएर लाग्ने बताए ।

यस्तै नथियाकी लेखिका सरस्वती प्रतिक्षाले पुस्तकमा उठाएको मुद्दालाई स्वीकृत गर्दै पहिचान कोेषले पुरस्कृत गरेकोेमा धन्यवाद दिँदै नथिया आफ्नो लागि सिकाईको विश्वविद्यालय भएको बताइन् । २०७४ सालमा नथिया प्रकाशित भए पनि २०७५ साल आफ्नो लागि अविस्मरणीय भएको उनले जानकारी दिइन् ।

२०७५ मा आफूले विभिन्न उतार चढावहरु पार गरेकाले पनि यो वर्ष आफ्नो लागि महत्वपूर्ण रहेको उनले बताइन् । आगामी दिनमा पनि नथिया जस्तै अन्य मुद्दाहरुको विषयमा कलम चलाउने भन्दै उनले सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट