अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढेपछि व्यवसायी उत्साहित

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

लमजुङ, २ वैशाख । अन्नपूर्ण पदमार्गमा पर्यटकहरुको सङ्ख्या बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

केही महिना अघि परेको हिमपातका कारण अवरुद्ध भएको थोराङ्ला क्षेत्र सुचारु भएसँगै पदमार्गमा पर्यटकहरुको संख्या वृद्धि भएको हो । यातायात सहज भएसँगै अहिले मनाङ चामेदेखि, पिसाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म दैनिक उल्लेख्य सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । माथिल्लो क्षेत्रमा हिमपात रोकिएपछि पर्यटकहरुलाई थोराङ्ला भञ्ज्याङ पास गरी मुस्ताङ निस्कन अनुमति दिइएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिए ।

उनका अनुसार प्रशासनले हिमपात भइरहेको बेला पर्यटकहरुलाई सुरक्षित भएर होटलमा बस्न आग्रह गरिएको थियो । पदमार्गको थोराङ्ला र तिलिचो क्षेत्रको प्रवेशमा रोक लगाइएको थियो । अहिले हिमपात रोकिएको र बाटोमा भएका हिउँ पहिरो हटाइसकिएकाले पदमार्ग खुलेको उनले जानकारी दिए ।

अहिले बाह्य र आन्तरिक पर्यटक गरी दैनिक झण्डै २ सय ५० को हाराहारीमा पर्यटक मनाङ भित्रिने गरेका छन् । मनाङमा दैनिक पर्यटक बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट