‘मी टू’अभियान: निर्देशक राजकुमार हिरानीमाथि यौन शोषणको आरोप

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार

मुम्बई । विश्वभर महिलामाथि कार्यालय र घरमा हुने यौन हिंसाविरुद्धको अभियान ‘मी टू’ मार्फत यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। पछिल्लो समय भारतमा समेत चर्चामा रहेको यो अभियान अन्तर्गत बलिउडका विभिन्न कलाकार, गायक र भारतका नेता समेत मुछिएका छन् ।

यसै क्रममा थ्री इडियट्स, पिके, मुन्नाभाई एमबीबीएस, संजू जस्ता सफल फिल्मको निर्देशन गरेका बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी यौन दुर्व्यवहारको आरोपमा परेका छन् । हिरानीसँगै काम गर्ने महिलाले हिरानीलाई यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । हिरानीलाई यौन उत्पीडनको आरोप उनकी एक सह-निर्देशकले लगाएकी हुन्। हिरानीले निर्देशन गरेको अभिनेता संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’मा ती महिला सह-निर्देशक रहेको बताइएको छ।

हिरानीले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म लगातार ६ महिना यौन उत्पीडन गरेको ती महिलाले आरोप लगाएकी छन् । संजू फिल्मको पोस्ट प्रोडक्सनको समयमा आफूमाथि हिरानीले यौन उत्पीडन गरेको ती महिलाले आइतबार सार्वजनिक गरेकी हुन्। भारतीय संचारमाध्यम हफिंगटन पोस्टले ती महिलाको आरोप सार्वजनिक गरेको हो।

ती महिलाका अनुसार संजू फिल्मका सह-निर्माता विधु विनोद चोपडालाई पनि हिरानीले यौन उत्पीडन गरेको जानकारी दिइएको छ। ती महिलाले हिरानीले आफ्नो बारेमा भद्दा टिप्पणी गरेको, आफ्नो घरमा जबर्जस्ती सम्बन्ध राख्न खोजेको बताएकी छन्। उनले त्यतिबेला आफूसँग चुप लागेर सहनुको विकल्प नभएको पनि बताएकी छन्। उनले जागिरका लागि सबै सहन बाध्य भएको बताएकी छन्।

यता हिरानीले भने ती महिलाले लगाएको आरोप अस्विकार गरेका छन् । हिरानीको तर्फबाट उनका वकील आनन्द देसाइले ती महिलाका आरोपको खण्डन गर्दै हिरानीमाथि लागेका आरोप कपोलकल्पीत र षडयन्त्र भएको बताएका छन्। हिरानीको छवी खराब गर्नका लागि ती आरोप तयार गरिएको देसाइको प्रष्टिकरण छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट