नेपालमा पहिलो पटक ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता हुने

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार

काठमाडौं । नेपाली फेसन डिजाइनरका सृजना अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उद्देश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरहरुबीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । प्रतियोगिताको उद्देश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने, विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

धमलाका अनुसार डिजाइनर अफ द इयरको विजेता फेसन डिजाइनरले कोरियामा आयोजना हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा सहभागीता जनाउदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलवा ‘मिलान फेसन वीक’मा समेत सहभागी हुने अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ ।

सहभागी डिजाइनरले प्रतियोगितामा स्पेशल ग्रुमिङ कक्षा, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउँनेछन् ।

प्रतियोगितामा सहभागीलाई सम्बन्धीत क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तरक्रिया गराइने छ । प्रतियोगिताको उत्कृष्ट डिजाइनर चयन अन्तर्राष्ट्रिय स्तरको भब्य स्टेज सेटअपका साथमा राजधानीको तारे होटलमा भव्य कार्यक्रम सहित गरिने आयोजक नेक्स्ट मोडल्सका प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट