इन्डोनेसियन लिगको सर्वोत्कृष्ट खेलाडी बने रोहित चन्द

प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

काठमाडौं । रोहित चन्द इन्डोनेसियाको माथिल्लो डिभिजन लिग-१ वानको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार रोहित चन्दको टोली पेरसिजा जकार्ताले आइतबार लिगको अन्तिम खेलमा मित्रा कुकारमाथि २-१ को जित हासिल गर्दै निकटतम प्रतिद्वन्द्वी पिएसएम माकासारलाई एक अंकले पछि पारेको थियो ।

महत्वपूर्ण खेलमा जित हात पारेसँगै पेरसिजा च्याम्पियन बनेको हो। सेन्ट्रल जकार्ताको बुङ कार्नो रंगशालामा भएको खेलमा रोहितले पूरा ९० मिनेट खेलेका थिए। खेलमा उनी केन्द्रविन्दूमा रहेका थिए।

१८ टोली सहभागी लिगको अन्तिम (३४औँ) खेलमा पेरसिजालाई जित दिलाउन मार्को सिमिकले दुई गोल गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहितले यो सिजनमा पेरसिजालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले लिगमा ३१ खेल खेल्दै ३ गोल गरे। पूरा सिजनभर एकरुपको उत्कृष्ट प्रदर्शन गरेबापत उत्कृष्ट खेलाडी घोषित रोहित दक्षिण एसियाबाहिरको लिगमा व्यक्तिगत पुरस्कार जित्ने पहिलो नेपाली खेलाडी हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट