मेरो वडालाई समृद्ध बनाउने धोको छ : राम बाबु महत (भिडियोसहित)

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबाबु महत २०७४ सालमा कांग्रेसबाट निर्वाचन जितेर वडाध्यक्ष बनेका हुन् । वि. सं २०३८ सालको पञ्चायत कालमा ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य समेत रहेका महत जनताका समस्या सुनेर समाधान गर्ने प्रयासमा निरन्तर खटिरहन्छन् । समाज सेवा गर्दा आनन्द प्राप्त गर्ने महतले वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भइसकेपछि आफ्नो क्षेत्रको सुधारका लागि थुप्रै कामहरु गरेका छन् । उनै वडाध्यक्ष महतसँग समसामयिक विषयमा गरिएको कुराकानी :

१. तपाईको बारेमा बताईदिनुस् न ?
म रामबाबु महत । पेशाले अहिले म ललितपुर महानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्ष छु। मेरो रुचि पहिलेदेखि नै व्यापार व्यवसायभन्दा पनि टोलको भौतिक विकास र आफ्नो क्षेत्रको आर्थिक समृद्धि कसरी गर्ने भन्नेतिर थियो । मैले २०७४ सालमा चुनाव जितीसकेपछि जनताका चाहना र आवश्यकतालाई पहिलो प्राथामिकतामा राखेको छु ।

२. तपाई २०३८ सालमा पनि वडा सदस्य बन्नु भएको थियो, त्यतिबेला र अहिले यस क्षेत्रका लागि के-के गर्नु भयो ?
त्यतिबेला पञ्चायती शासन थियो । २०२९ सालमा म अर्थमन्त्रालयमा जागिरे थिए । मेरो टोललार्इ कसरी राम्रो बनाउने भनेर सोचेपछि मैले स्थाइ जागिरलाई राजीनामा दिए र टोलको सदस्य भएर काम गरे । त्यतिबेला बजेटको अभाव थियो । पहिले ३ वडालाई ३० हजार थियो भने अहिले एउटा वडालाई १ करोड ५० लाखसम्म बजेट छुट्याइएको छ । फोहरमैला व्यवस्थापनको लागि मैले गाडी नजाने ठाउँमा पनि महानगरपालिकासँग समन्वय गरेर गाडी पठाएर फोहर उठाइदिने गरे भने पानीको समस्यालाई कम गरे, बाटोको समस्यालाई मध्यनजर गर्दै बाटो पनि बनाए ।

३. यस वडाका मुख्य समस्याहरु के-के हुन् ?
हाम्रो वडामा विशेष गरी पानी, बाटोको समस्या हो । यो क्षेत्र भिआइपी एरियाका नामले चिनिन्छ । अरु खासै त्यस्तो समस्या छैन । यि समस्या पनि चाँडै समाधान हुन्छन् । जनताका सुविधालाई मध्यनजर गर्दै हामीले बिहान ७ बजेदेखि नै अफिस खोल्ने गरेका छौँ ।

४. अब कसरी अगाडी बढ्ने सोच बनाउनु भएको छ ?
मैले मेरो टोलमा बाटो फराकिलो बनाएर खानेपानीको समस्यालाई हटाउने लक्ष्य लिएको छु । यो ठाउँलाई हराभरा बनार्इ यि १४ वटा वडालाई सुन्दर महानगर बनाउने योजना छ मेरो । यसका लागि हामी महानगरसँग समन्वय गरेर अगाडी बढ्ने सोचमा छौँ ।

५. विकास निमार्णका लागि पर्याप्त बजेट छ जस्तो लाग्छ त तपाइलाई ? जनताले सोचे अनुसारको विकास कहिलेसम्म सम्भव हुन्छ ?
विकास भन्ने कुरा कस्तो हुन्छ भने मान्छेलाई जति गर्दा नि पुग्दैन । हाम्रा आवश्यकता दिन प्रतिदिन बढ्दै जान्छन् । विकास भनेको विस्तारै हुदै जाने कुरा हो । सबै विकास म अहिले नै गर्छु भनेर हुदैन । एउटा वडामा कम्तीमा ५ देखि ७ करोडसम्म आउँछ तर हाम्रो अवधि भनेको ५ वर्ष हो, ५ वर्षसम्म हामीले धेरै काम गर्न सक्छौँ । अहिले हाम्रो वडालाई १ करोड २० लाख रुपैयाँ बजेट दिएको छ । त्यसमा पनि नगर बजेट छ, सडक विभाग छ । यसले गर्दा १ वर्षमा ८/१० करोडको काम हुन्छ । प्रत्येक वडामा यसरी नै काम हुँदा महानगरभित्रका १४ वडामा विकास गर्न समस्या छैन चाँडै हुन्छ ।

६. यो वडाको शान्ति सुरक्षा कस्तो छ ? जनताहरु सुरक्षित छन् त ?
अहिले शान्ति सुरक्षाको विषयमा वडाबासी सचेत छन् । यसका लागि अहिले एउटा सामुदायिक भवन बनाइएको छ । त्यहाँ शिशु स्याहारदेखि मेडिकल र सामुदायिक प्रहरी पनि बस्ने गर्दछन् । हामीले १०० मा फोन गर्दा पनि उहाँहरु तुरुन्त आइपुग्नु हुन्छ । हाम्रो वडामा सुरक्षाको अवस्था राम्रो छ । अब चाँडपर्वका बेला यसलाई बढाउनु पर्ने देखिन्छ ।
७. यो वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवस्था कस्तो छ ?
हाम्रो वडामा खासै पर्यटकीय स्थल भनेर छैनन् । यहाँ पार्क, नख्खीपोटमा खेलकुद मैदान र केहि मन्दिरहरु छन् । टोलबासीलाई कार्यक्रम र भोज भतेर गर्न सजिलो होस् भनेर मैले २५/३० लाख रुपैयाँ खर्च गरेर ट्रस्ट बनाएको छु ।

८. तपाईको विचारमा जीवन के हो ?
मान्छेको आ आफ्नो विचार र सोच हुन्छ । अहिले म ६८ वर्ष पुगे अहिलेसम्म मैले दुख भोगेको पनि छैन । मलाई धन कमाउला भनेर कुनै लोभ लालच पनि छैन । म समाजको सेवा गरेर सबैको नजरमा राम्रो भएर मर्न चाहन्छु । त्यसैले मलाई अरुका लागि, समाजका लागि केहि गर्नु नै जीवन जउिनु हो जस्तो लाग्छ । म आफू बसेको समाजलाई विकास गरेर अगाडी बढाउने मेरो सोच छ । आफ्नो पेशाप्रति बफादार भएर ।

९. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जनताले चाहे अनुसारका सम्पूर्ण कामहरु गर्न नसकेकोमा क्षमा माग्न चाहन्छु । अबको साढे ३ वर्षभित्र यो महानगरपालिकामा धेरै विकास गरी सुधार गर्नुपर्ने कुरामा सुधार गरी जनताको चाहनाअनुसार आफ्नो क्षेत्रमा भएको बाटो, पानी, बिजुली र फोहरमैला व्यवस्थापनका समस्यालाई चाँडै समाधान गरी जनतालाई सफा, शान्त र समृद्ध राष्ट्रका नागरिक बनाउने प्रतिबद्धता गर्न चाहान्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट