रेग्मी, चित्रकला र महिलाहरु…

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

विगत दुई दशकदेखि रंग र कुचिहरुसँगको साईनो जोडेका चितवनका रामबन्धु रेग्मीको चित्रकलामा राम्रै दख्खल रहेको छ । त्यसैले त चितवनका व्यवसायिक ठूला कम्पनीदेखि लिएर साना कम्पनीहरु समेतले चित्रकलाका लागि रामबन्धुलाई नै खोज्ने गर्दछन् । पुरुषहरु वैदैशिक रोजगारमा आकर्षित हुनु, धेरै मिहिनेत र कम प्रतिफलको गुनासो यो पेसाप्रति हुनुले गर्दा चितवनका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले रेग्मीले महिलाहरुलाई यो पेसासम्बन्धी तालिम पनि दिन थालेका छन् । चितवन आर्टिस एशोसिएसनको सचिव समेत रहेका रेग्मीसँग भित्ते चित्रकलासम्बन्धी गरिएको कुराकानी :

यो कस्तो खालको आर्ट हो ?
पैसा कमाउने कमर्सियल आर्ट हो । भित्ते लेखन लेखेर पैसा कमाउने कम्पनीलाई विज्ञापन हुन्छ । अर्काे फाइन आर्ट हुन्छ । त्यसमा चित्रहरु, मुहारहरुमा बनाईन्छ । त्यसलाई फाइन आर्ट भनिन्छ । हामीले चाँहि पैसा कमाउने आर्ट भएकाले कर्मसियल आर्ट भन्छ ।

कति वर्षदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ ?
म विगत १३ वर्षदेखि यो क्षेत्रमा लागेकु हुँ । मैले ५७ सालमा त्रिभुवन माविबाट एलएलसी दिए, त्यसपछि केहि सिप सिक्न पर्यो भनेर क्षेत्रपार्टीमा रहेको आर्ट भ्यूमा तालिम लिन गए । सुरुको दिनमा मैले आर्ट तालिम लिए । मैले करिब १८ वर्षसम्म काठमाडौंमा संघर्ष गरेर बिताए । २०६१ सालमा मैले ललितपुर जनस्वाथ्यमा करार पदमा ड्राईभरको काम गरेको थिएँ । त्यहाँ मैले महिनाको ३ हजार रुपैयाँमा काम सुरु गरेको थिएँ । त्यतिबेला गाडीभाँडा दिनको सात/सात चौध रुपैयाँ र खाजा साजा खाँदा ३०/४० रुपैयाँ जस्तो खर्च हुन्थ्यो । महिनाको तीन हजार तलबले कसरी गुजारा चलाउने भनेर मलाई पीर परिरहन्थ्यो। अब ड्राईभरले तेल चोरेर खानुपर्ने रे, गाडी बिग्रिदा मर्मत खर्चहरु लुटेर खानुपर्ने रे त्यसरी बाँच्दा रहेछन् सरकारमा । मलाई त्यसरी पैसा कमाउन मन लागेन र ड्राईभिङ गरेर म कहिल्यै अगाडि बढ्छु जस्तो पनि लागेन र मैले जागिर छोडिदिए ।

आर्ट पेसाबाट बाँच्न सकिने रहेछ त ?
आर्ट पेसाबाट म त राम्रै सँगले बाँचेको छु । ८/१० जनालाई रोजगारी पनि दिएको छु ।

आर्ट सम्बन्धी ज्ञान भएका मान्छेहरुलाई रोजगारी दिनुहुन्छ कि तपाईले चाँहि उनीहरुलाई सिकाएर फेरि रोजगारी दिनुहुन्छ ?
मैले सिकाउँदै उनीहरुलाई अगाडि बढाइरहेको छु । महिलाहरु पनि छन्, उनीहरुले सिक्दै रोजगारी नी पाएका छन् ।

तालिम सिक्न कति समय लाग्छ ?
लगभग ३ वर्ष भयो महिलाहरुले सिक्न थालेका । अझै पनि सक्षम बनाउन सकिएको छैन । जे होस् काम गर्दै अगाडि बढिरेहका छन् ।

महिलाहरुलाई मात्र रोजगारी दिनुहुन्छ कि पुरुषहरुलाई पनि राख्नु भएको छ ?
मैले पुरुषहरुलाई प्राथमिकतामा राखेको छैन । पुरुषहरुले यो पेसामा महिला जस्तो रुचि र जागर नदेखाएकाले मैले महिलालाई नै काम सिकाएर सक्षम बनाउँदै लगेको छुँ ।

काम सिकेका महिलाहरुले के कति पारिश्रमिक पाउँछन् त?
मैले सुरुमा ३ सय ५० रुपैयाँ दिन सुरु गरेको थिएँ । अहिले आएर १ हजारदेखि १२ सयसम्म कमाउन सक्छन् । महिलाहरु घरायसी काममा मात्र सक्षम हुन्छन् भन्ने हाम्रो समाजको नकारात्मक धारणालाई हटाउँदै मैले आर्टको काममा उनीहरुलाई दक्ष बनाउने थालनी गरेको छु ।

तालिम लिएपछि काम पाउन कतिको सजिलो छ ?
यो तालिम लिएपछि काम त प्रस्शस्त छ । कम्पनीले अहिले आर्टिसहरु नपाएर हाम्रो चितवनमा मात्र कराडौको कामहरु फिर्ता गएको छ । अस्तीमात्र पेप्सीले लगभग ६/७ लाखको काम पठाएको थियो । काम गर्न नसक्ने हुँदा, जनशक्तिको अभावका कारण काम नै फिर्ता भयो ।

किन यो समस्या आइरहेको छ त ?
कम्पनीले आजभन्दा आठ नौ वर्ष अगाडिको दररेटमा नै काम गराउन खोज्ने गर्दछन् । जबकि त्यो बेला र अहिलेको समयमा निकै अन्तर आइसक्यो । त्यो बेलाको दर रेटमा काम गर्न नसक्ने हुँदा खासमा यो समस्या आएको हो । समयसमयमा कामका दर रेट परिवर्तन गर्नुपर्छ भन्ने कुरा कम्पनी र सम्बन्धीत निकायले बुझ्न नसक्नु, यस क्षेत्रका व्यवसायिक जनशक्तिको आकर्षण यो पेसामा कम हुँदै गयो ।

यो पेसामा लागेपछि तपाईको आर्थिक अवस्था कसरी चलेको छ ?
सुरुमा त मलाई यो क्षेत्रमा निकै नै गाह्रो भयो, बजारमा यो कामको दररेट थिएन । बिस्तारै एक स्क्वायर फिटको १८ रुपैयाँसम्म लिने, यो भनेको एउटा भित्ता रंग्याउँदा करिब ७ ८ हजारसम्म कमाई हुन्छ । त्यसरी दिनमा पाँचदेखि आठ वटासम्म काम गर्दा राम्रै आम्दानी हुन्छ । तर, कम्पनीहरुले टाईममा पैसा दिँदैनन् । त्यै पनि मैले काम त अगाडि बढाएकै छुँ ।

मूल रुपमा यो पेसामा देख्नु र भोग्नु भएको समस्या के छन् जस्तो लाग्छ ?
सरकारले यो पेसामा लाग्नेहरुका लागि तीन महिने तालिम दिने गरेको छ । तर एउटा आर्टिस बन्न तीन महिनाको तालिमले मात्र नपुग्ने भएर सरकारले यसतर्फ ध्यान दिएर तालिमको अवधि बढाइदिन अनुरोध गर्न चाहन्छु । नगरपालिकाले लगाएको चर्काे करका कारण हामीलाई यो पेसामा टिक्न एकदमै कठिन परेको छ । नगरपालिकाको करका कारण कम्पनीहरुले काम दिन नसक्ने भन्दै पन्छिरहेका छन् । कम्पनीले काम नदिँदा हामीलाई बाँच्न कठिन छ । यस प्रकारका समस्याबाट हामी ग्रसित भएकाले सरकारले यसप्रति पनि विचार गरिदिए सहज हुन्थ्यो कि भन्ने विश्वास छ ।

भविष्यका योजनाहरु के बनाउनु भएको छ ?
मैले महिलाहरुलाई अझै सक्षम र अगाडि बढाउन प्रयास गरेको छु । महिलाहरु काममा मिहिनेती, लगनशिल हुने भएकाले मैले महिला दिदी बहिनीहरुलाई यो काममा अगाडि बढाएको छु । मैले धेरैलाई नसके पनि दश जना जति महिलालाई तालिम दिएर भविष्यमा गएर एउटा सानो संस्था खोल्ने योजना बनाएको छु । सबै महिला दिदी बहिनीहरुलाई सीप सिकेर सक्षम बन्न पनि म भन्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट