नेपालमा महिलाको हकमा नागरिकताको अर्थ फरक छ

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

यहाँ उठाउन खोजिएको कुरामा सत प्रतिशत सत्यता छ । वास्तवमा नेपालको सन्दर्भमा नागरिकताको अर्थ फरक छ । त्यो फरक कसरी र कुन आधारमा छ त्यो अगाडि खुलस्त गरिनेछ । एक महिला जब बच्चा हुन्छिन् तब उनी कुनै पुरुषको छोरी हुन्छिन् । जब विवाह गर्छिन् तब कुनै पुरुषकी पत्नी हुन्छिन् र जब बुढेसकालमा पुग्छिन् तब उनी कुनै पुरुषको आमा हुन्छिन् । उनको आफ्नो अस्तित्व र पहिचान हुदैंन् । जे हुन्छ सब पुरुषहरुको उपकार स्वरुप रहेको हुन्छ यति बुझे नि हुन्छ कि पुरुषले गर्दा नै महिलाको अस्तित्व र पहिचान हुन्छ । महिला आफूमा जति सक्षम भए पनि जति योगदान दिए पनि त्यसको कुनै मूल्य हुदैंन ।

हामीले कुनै चित्र वा पेन्टिंग बनाउन्छौं भने त्यसमा आफ्नो नाम लेख्छौं आर्ट बाई फलाना यो पेन्ट फलानाले गरेको भनेर । बिडम्बना एक महिलाले नौ महिनासम्म आफ्नो रगतबाट सिंचेर एक बच्चालाई जन्म दिन्छिन् । स्तनपानको नाममा आफ्नो रगत चुसाउँछिन ४० हड्डी एक साथ भाच्ने गरी प्रसवपीड़ा सहन्छिन् तर समाजको संरचनाका कारण उनले आफ्नै बच्चालाई आफ्नो नाम दिन सक्दैनिन् । हाम्रो यो समाजमा महिलालाई उपभोगको सामान र सन्तान उत्पादन गर्ने मेसिन ठानियो ।

एक नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरे उनी स्वतस् नेपाली हुने तर एक नेपाली महिलाले कुनै विदेशी पुरुषसँग विवाह गरे उनी नेपाली नरहने । यो विभेद किन र यस विभेदले समुदायमा कस्तो समस्या ल्याइरहेको छ । त्यसलाई कसले र कहिले हेर्ने र समाधान गर्ने । हो यहाा त्यस्ता महिलाका कुरा गर्छौं जसले विदेशी पुरुषसँग विवाह गरी कुनै कारण जस्तै पतिको मृत्यु भएपछि, घरेलुहिंसाबाट पीडित भर्इ वा पतिसँग सम्बन्ध विच्छेद गरी फर्केपछि तिनका बच्चालाई एक नागरिकको कुनै कागजी प्रमाण लिन गाह्रो हुन्छ । किनभने ती बच्चा एक विदेशी पुरुषका सन्तान मानिन्छन् । जबकि आमा आफू नेपाली हुदाहुदै जन्मदर्ता र नागरिकता पाउन एक दमै गाह्रो भइरहेको अवस्था छ । यसरी यी कागजी प्रमाण नभइदिँदा बच्चाहरुलाई धेरै खाले समस्या भोग्नु परिरहेको छ ।

जहाँ राज्यले सक्षम व्यक्तिहरुलाई जागीर र हरेक नागरिकले पढ्न पाउनुपर्ने प्रावधान लागु गर्दा पनि अवस्था यस्तो छ । कि उनीहरु सक्षम हुदाहुदै काम गर्न पाउने अवसरबाट बन्चित छन् भने जन्मदर्ता नहुदा पढ्न समेत पाइराखेका छैनन् । यसरी पढ्न नपाउनु र दक्षता अनुसार जागीर गर्न नपाउनु आफैमा अनुचित छ । अर्थात यो समस्याको प्रमुख कारण राज्यले प्रदान गर्ने कानूनी कागजात प्राप्तीमा जटिलता कायम रहनु हो । यहाँ यस विषयमा चर्चा गर्नुको एक विशेष कारण छ । जसलाई सजिलो हुने गरी बुझ्न प्रष्ट पारिनेछ ।

अब कुरा गरौं जन्मदर्ता र नागरिकताको जन्मदर्ता यस्तो महत्वपूर्ण कागजात हो जसको आधारमा बच्चालाई स्कुल भर्ना गर्न गराउन सजिलो हुन्छ र यसका आधारमा बालविवाह रोक्न सहयोग हुन्छ । तर बिडम्बना जन्मदर्ता गर्न प्रकृया जटिल छ । एक बच्चाको जन्मदर्ता गर्नका लागि उसको बाबुको नागरिकता उसको आमाको नागरिकता आदि भएमा मात्र जन्मदर्ता गरिन्छ । अन्यथा गरिदैंन्।

नागरिकताको सन्दर्भमा प्रकृया झन जटिल छ । एक व्यक्तिलाई नागरिकता पाउनका लागि उसको बाबुको नागरिकता उसको आमाको नागरिकता साथै उसको तीन पुस्ता खोजिन्छ अझ यति मात्र कहा हो र त्यसमा पनि मधेशी र मुस्लिम समुदायका भइदिए भने सबै प्रमाण हुदाहुदै सरजमीन गरिन्छ । अनि बल्ल बल्ल सबै प्रमाण जुटाएर सरजमीन गरी दिइने नागरिकता पनि दोस्रो दर्जाको नागरिक सरह मानिन्छ र ठानिन्छ त्यसमा पनि महिला भइदिए झनै ।

नेपालको सन्दर्भमा एक नागरिकले प्राप्त गर्ने यस प्रमाणलाई कस्तो रुपमा लिइएको छ यस विषयमा चर्चा गर्नु आवश्यक छ । हो नेपालको सन्दर्भमा हेर्ने हो भने नागरिकता जस्तो प्रमाणपत्र उसको बाबुबाजेले दिएको पहिचान हो । अर्थात उसको बाबुबाजेको अंश र वंश रुपमा लिईन्छ ।

यहाँ कसै कसैले यो प्रश्न उठाउन सक्छन् कि बाबु (पुरुष) को नाममा मात्र नभइ आमा९महिला०को पनि नागरिकता दिइने नीति र प्रावधान त छदैंछ । अब त महिलाका नाममा पनि त नागरिकता दिइने गरिएको छ । तर यही अंश र वंशको रुपमा लिएको सोच र नीतिका कारण नै केही यस्ता समुदायका व्यक्ति छन् । जसले नागरिकतामा उल्लेखित व्योहोराका कारण हीनता बोध गरिरहेका छन् ।

किनभने उनको नागरिकता प्रमाणपत्रमा बाबुको नाम र थर लेखिने ठाउँमा यस्तो शब्द लेखियो जुन शब्दलाई कुनै पनि व्यक्तिले सुन्न र सुनेर सहन गर्न सक्दैन् । अर्थात जहा बाबुको नाम र थर लेखिने ठाउँ रहेको हुन्छ त्यहा बाबुको ठेगान नभएको भन्ने शब्द उल्लेख गरिएको छ जुन आफैमा लज्जास्पद कुरा हो । नागरिकले आफूलाई त्यस देशको नागरिक हुँ भनी गर्व महशुस गर्न प्राप्त गर्ने प्रमाणलाई नागरिकता भनिन्छ तर त्यो नागरिकता के काम जसले लज्जित गराओस् ।

यहाँ यस विषयलाई चर्चा गरिनुको मुख्य कारण यो छ कि चाहे ऊ महिला होस् वा पुरुष नागरिकतालाई अब अंश र वंशको प्रमाणको रुपमा प्रदान न गरी एक नागरिकले आफू त्यस देशको सम्मानित नागरिक हुँ भनी गर्व गर्न सक्ने गरी प्रदान गरिनुपर्छ । शाहिदा बानो, अधिकारकर्मी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट