मन्त्री बिना मगरलाई खुलापत्रः ‘वेदनाकै लागि हामीले मतदान गरेका हौ त ?

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

माननीय बिना मगर दिज्यू, आज बडो दुःखका साथ प्रस्तुत हुँदैछु। अहिलेको केन्द्रिय सरकारमा सात नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित तपार्इ मन्त्रीपरिषदमा हुनुहुन्छ । हजुर सबैभन्दा पहिले कञ्चनपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित प्रतिनिधि हो, त्यसपछि मात्रै देशभरका लागि मन्त्री हो । तर अहिले तपार्इले गर्दै गरेको यस क्षेत्रको नेतृत्व किन कमजोर भयो ?

तपार्इ समेत सहभागी रहेको सरकारले कैलालीको टीकापुरस्थित खक्रौला छोटी भन्सारलाई मुल भन्सार बनाउन निर्णय गरेसँगै त्यहाँ खुशीयाली स्वरुप दीपावली मनाउँदै गर्दा हामी कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिक कसरी हर्षित हुने ?

सात नम्बर प्रदेशकै प्रमुख नाका धनगढी-गौरीफण्टा नाका विस्थापित हुने भएपछि त्यसको उत्तम विकल्प कञ्चनपुरको बेलौरी-खजुरीया भन्सार नाकालाई हेरिएको थियो। विसं २०१९ सालसम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ।

७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारतसँगको खुला सीमा नाका रहेको छ । बेलौरी भन्सारसँग जोडिएको खजुरियासम्म भारतको नेसनल हाइवे रोड बनिसकेको छ।

यता नेपालतर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गसँग जोड्ने कलुवापुर-बेलौरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन् । नेपालतर्फ लामो समयसम्म छोटी भन्सारको नाममा आवश्यक जग्गा, भवन सहितका आवश्यक पूर्वाधार र सडक सञ्जालको समेत बन्दोबस्त भइसकेको छ। भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा कष्टम अफिस खोल्ने बित्तिकै द्विदेशीय भन्सार नाका सञ्चालन गर्न सकिने अवस्था रहँदा पनि यस विषयमा सम्बन्धित पक्षसंग हाम्रो कुरा किन पुगेन ?

भारतसँगको द्विदेशीय भन्सार नाकाका रुपमा बेलौरी-खजुरीया भन्सार नाका स्थापित गर्न सके सात नम्बर प्रदेशको राजधानी धनगढी र पश्चिमी बजार महेन्द्रनगरको समदूरीमा रहने र सात नम्बर प्रदेशका सात वटै पहाडी जिल्लाका लागि समेत सहज हुने आधार थियो । यसका साथै एक शताब्दी भन्दा लामो समयसम्म कैलाली र कञ्चनपुरको सदरमुकाम रहेको बेलौरीलाई पुनर्जीवन मिल्नुका साथै समग्र प्रदेशको आर्थिक विकास समेत मजबुत हुने विश्वास गरिएको थियो । तर आज यो सबै कल्पनामा सीमित रहेको छ ।

कैलाली र कञ्चनपुरको सीमाक्षेत्रमा रहेको धनगढी-गौरीफन्टा भन्सार नाकाको उत्तम विकल्प मानिएको बेलौरी-खजुरीया भन्सार नाकाका सवालमा हामी कसरी कमजोर सावित भयौँ ? यही वेदनाका लागि हामीले मतदान गरेका हौँ त ? यिनै प्रश्नको जवाफ हजुर आफु निर्वाचित भएको क्षेत्रका नागरिकले मागिरहेका छन् । एक शताब्दी भन्दा बढी समय कञ्चनपुर र कैलालीकै सदरमुकाम रहेपनि नेतृत्व अभावले सदरमुकाम खोसिएको त्यही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अहिले सरकारमा समेत प्रतिनिधित्व गर्दैगर्दा उचित न्याय नपाई अझै पीडा थपिएको छ । दिज्यू, हजुर जनतासँग मत माग्दै गर्दा आफु पारिवारिक पीडामा भएर पनि रातदिन यहाँका नागरिक समक्ष गरिएका ती बाचा कसम बिर्सनु भयो की ?

यसको अपजस हजुरलाई मात्रै होइन, म पनि लिन्छु । किनकी तपाइ निर्वाचित भएको क्षेत्रमै सञ्चारउद्यमी र पत्रकारको रुपमा काम गर्दैगर्दा मैले पनि आफ्नो क्षेत्रबाट गर्नसक्ने आवश्यक पहल गर्न केही कमी गरेको महशुस भएको छ । यसका लागि म आफ्नो तर्फबाट यसक्षेत्रका सम्पूर्ण नागरीकहरु समक्ष क्षमा माग्न चाहन्छु। म माफी मागेर पन्छिन खोज्ने छैन, बरु अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रको यो पीडालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भई आफुले गरेर यस क्षेत्रका नागरिकलाई कसरी खुसी दिन सकिन्छ भन्ने बाटोमा निरन्तर कलम चलाइरहने प्रतिबद्दता जाहेर गर्दछु ।

(लेखक हरिश चन्द्र बाग, कञ्चनपुरमा दक्षिणी क्षेत्रमा रहेको एनबी मिडिया नेटवर्कका अध्यक्ष, एनबी खबर डट कमका प्रधान सम्पादक र रेडियो बेलौरीका प्रबन्धक हुन् ।) -हाम्रा कुराबाट साभार


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट