जुँगा पालेबापत मासिक रकम पाउँछन् कालीबहादुरले

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहीबार

दाङ, १० जेठ । सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिक रुपमा पैसा कमाउँदै आएका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएा छन् । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक २५० प्रदान गर्दै आएका छन् ।

भण्डारी पेशाले निर्माण व्यवसायी हुन् । कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा आफूलाई रमाइलो लागेको उनले बतथाए । नागबेली आकारको उनको काला जुंगा देखेपछि खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको भण्डारीले बताए । २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।

“शुरुमा उहाँले ५० रुपैयाँबाट शुरु गर्नु भएको हो, अहिले २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भने । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उनले बताए । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको उनले सुनाए ।

बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुन् । उनी नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक १०० रुपैयाँ जुंगाको तलब खाने गरेको बताए । “म नेपाली सेनामा हवल्दार हुँदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक १०० रुपैयाँ जुंगा पालेबापत दिँदै आउनुभएको थियो,” उनले बताए ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि रकम वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए । भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट पाँच हजार प्रदान गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट