यस्तो छ नोकिया एक्सः लिक भयो तस्वीर

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

काठमाडौं, ३१ वैशाख । नोकिया ब्राण्डका स्मार्टफोन उत्पादन गर्ने एचएमडी ग्लोबल कम्पनीले अहिलेसम्म बजारमा विभिन्न ५ वटा नोकिया स्मार्टफोन लञ्च गरिसकेको छ ।

आफ्नो फ्लागसीप ह्याण्डसेट नोकिया एक्स छिटै नै सार्वजनिक गर्ने तयारी अहिले कम्पनीले गरिरहेको छ । र, आगामी मे १६ मा नोकिया एक्स लञ्च हुनेछ । नोकिया एक्सको बारेमा लामो समयदेखि चर्चा परिचर्चा भैरहेको छ । र, यसबीचमा हालै केही अनलाइनहरुमा यो फोनका केही तस्वीरहरु पनि लिक भएका छन् ।

ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा एलइडी फ्लाससँगै डुअल रियर क्यामरा देखिएको छ ।

अर्को एंगलको एक तस्वीरमा फोनको माथिल्लो भागमा ३.५ एमएमको हेडफोन ज्याक पनि देखिन्छ । त्यस्तै डिस्प्लेको तल्लो भागमा नोकियाको ब्राण्ड लोगो पनि राखिएको छ ।

यसअघि चीनकै एक सर्टिफिकेसन वेबसाइट टेनाले पनि नोकिया एक्सका अनुमानित तस्वीरहरु सार्वजनिक गरेको थियो ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार नोकिया एक्समा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टम रहनेछ । त्यस्तै ३ जिबी, ४ जिबी र ६ जिबी गरी तिनवटा भेरिएन्टमा स्मार्टफोन उपलब्ध हुनेछ जसमा ३२ तथा ६४ जिबी स्टोरेजको अप्सन रहनेछ ।

नोकिया एक्समा २२८० गुणा १०८० पिक्सल युक्त ५.८ इन्टको फुल एचडी डिस्प्ले हुनेछ । साथै यसमा ३ हजार मिली एम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । नोकिया एक्सको मूल्यका बारेमा भने कुनै तथ्य बाहिर आएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट