किन बढ्दैछन् बलात्कारका घटना, दोष कसको ?

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

हाम्रो समाजमा साधारण घटना सरह दिन प्रतिदिन बलात्कारका घटनाहरु बढीरहेका छन् । आज हाम्रो समुदायमा मानिस मात्र होईन् जनावर पनि सुरक्षित छैनन्। बलात्कारका घटना बढ्नुका धेरै कारणहरु छन् । आजको यस आधुनिक युगमा यस्ता घृणित घटना बढ्नु निन्दनीय छ ।

बलात्कारका घटना बढ्नुमा व्यक्ति पिच्छे फरक फरक धारणाहरु छन् । कसैले भन्दछ कि महिलाहरुले छोटो कपडा लगाएर हिड्दा बलात्कारका सिकार हुन्छिन् । कसैका अनुसार मेकअप र फेशनका कारण बलात्कृत हुन्छिन् महिला । कोही त महिलाहरु छाडा भएका कारण यस्ता घटना दोहोरिरहने बताउँछन् । महिलालाई छाडा भनेर होस् एक्लै हिड्ने आरोप लगाएर होस् । पढ्न पठाउनले बलात्कार बढिरहेको भन्नेहरुको पनि कहाँ कमी छ । कसैले महिलाहरुलाई मोबाइल दिँदा यस्ता घटना बढेको अनुमान लगाउँछन् भने कसैले टि.भी. का कारण यसो हुने गरेको विचार व्यक्त गर्छन ।

 यी सबै कुरा सुन्दा मेरो मनमा प्रश्न उठे
-के माथि उल्लिखित कारण नै हुन त बलात्कारका घटना दोहोरिनुमा ?
-के यसमा महिलाको मात्र दोष छ र ?
-वास्तविक कारण के हो त बलात्कारका घटना बढ्नुमा ?

अब यी उल्लिखित कारणलाई केलाउँदैं जाँदा हेरौं त । यदि छोटो कपडा लगाउनु बलात्कार हुनुको कारण हो भने ३ वर्षीय बालिका बलात्कारको सिकार नहुनु पर्ने किनभने ती अबोध बालिकालाई के थाहा छोटो र सानो कपडा भनेको के हो । अब कुरा गरौं मेकअप र फेशनको साच्चिकै मेकअप र फेशन बलात्कारको कारण हुने भए त ७०/८० वर्षीय बुढीआमा बलात्कृत हुनु नपर्ने । यदि महिला छाडा भएर हिड्दैमा, पढ्न जाँदैमा वा एक्लै हिड्दा यी घृणित घटनाहरु दोहोरिने भए वस्तुभाउ चौपायाहरु हवसका सिकार हुने थिएनन् ।
केही हद सम्म टि.भी. र मोबाइल फोन कारण हुन सक्छन् तर जनावरहरु समेत हवसबाट सुरक्षित नहुनु त लाजमर्दो कुरा होइन ?

गहन विचार गरेपछि यो कुरा प्रष्ट भयो माथि उल्लिखित कुराहरु बहाना मात्र हुन असल कारण त मानसिकता हो मानिसको । पुरुषहरुले महिलालाई यौन तृष्णा मेटाउने साधनका रुपमा मात्र हेर्ने गर्दछन् । महिलाले छोटो कपडा लगाएर अथवा छाडा भएर हिड्नाले बलात्कृत हुनुपर्ने कारणबाट म सहमत छैन् । हो यसको यथार्थ कारण मानसिकता नै हो ।
आज घटना प्रवृति हेर्ने हो भने आमा छोराबाट बलात्कृत भइरहेकी छन्, त कही बाउबाट आफूले जन्माएकी छोरी बलात्कृत हुनुपरेको अवस्था छ । कही ज्वाइबाट सासु त कही भिनाजुबाट साली बलात्कृत भइरहेकी छन् । भाईबाट बहिनी बलात्कृत, ससुराले बुहारीको बलात्कार, कही साथी र साथीका साथीहरुबाट सामुहिक बलात्कारको सिकार हुनुपरेको छ महिलालाई । अधिकांश बलात्कारका घटनामा आफन्तको नै संग्लनता रहेको पाईन्छ ।

आज हाम्रो पाठ्यक्रमबाट नैतिक शिक्षा विषय हटाइएको छ जसले गर्दा मानिसहरुको नैतिक पतन भर्इरहेको छ । हामी आधुनिक शिक्षाको होडबाजीमा आफ्ना बच्चाहरुको नैतिकताको पतन गरिरहेका छौ । नैतिकवान बनाउन बच्चालाई धर्मको ज्ञान दिनुको सट्टा कम्प्यूटर र अंग्रेज़ी सिकाउन अगाडि बढेका छौ हामी । धार्मिक र नैतिक शिक्षाबाट टाढा रहेकाहरुलाई यो थाहा नै हुदैन कि कसको महत्व के छ र कसरी त्यसको सम्मान गर्ने हो । परिवार र समुदायप्रति आफ्नो दायित्व नै नबुझेका कारण नकारात्मक सोच विकसित हुदै जान्छ । जसको फलस्वरूप बलात्कारका घटना घट्ने गर्दछन् ।

इस्लाम धर्मले प्रष्ट भनेको छ कि एक नजरको माफी छ अर्को नजरको इजाजत छैन् । जब उसले यो बुझेको हुन्छ कि अर्को नजरको इजाजत छैन् हेरें भने पापको भागिदार हुनेछु भने उसले पक्कै पनि यस्ता घृणित कार्य गर्दैन । इस्लाम धर्मको साथै मैले हिन्दु धर्मको कुरा पनि जोड्न चाहें । बनबासको समय जब सीताको हरण भयो त्यति बेला सीताले आफ्ना गहनाहरु बाटामा फाल्दै गएकी थिइन् । भगवान राम र लक्ष्मण जब सीतालाई खोज्न हिडे बाटामा भेटिने गहनालाई हेर्दै रामले लक्ष्मणलाई यो भाउजुले लगाएकी थिईन् यो उनको हो भनी सोधिरहन्थे । अन्तिममा भेटिएको पाउजु भाउजु सीताकै हो लक्ष्मणले भन्दा रामले सोधे अघि सम्म थाहा नभएको भन्ने अहिले यही हो भनी यकिन गर्ने, लक्षमणले जवाफ दिएका थिए मैले सीता भाउजुको अनुहार र शरीरका कुनै भाग देख्दैनथे तर खुट्टा ढोक्दा पाउजु हेरेको थिए । यहाँ प्रष्ट हुन्छ कि हिन्दु धर्मअनुसार लक्ष्मणले भाउजुलाई हेरेनन् भने हामीलाई बलात्कार गर्ने अधिकार कसले दियो ।

जहाँ इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफा फर्माउनुभएको छ ‘महिलाको अस्मिता काबातुल्लाह भन्दा पनि महत्वपूर्ण छ’ र हिन्दु धर्म अनुसार ‘जत्र नारी पुजन्ते तत्र देवता रमन्ते’ अर्थात ‘जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ देवताको बास हुन्छ ।’

बलात्कारका घटनाक्रम दिन प्रतिदिन क्रुरताका साथ बढ्दै जानुको अर्को कारण बलात्कारीलाई सजाय नहुनु, धरौटीमा छोडिनु र बलात्कारबाट अस्मिता गुमाएकी पीडितलाई नै दोषी ठहराउने प्रवृति र चलन हो । मेरो विचारमा बलात्कारका घटना यसरी क्रुरताका साथ बढ्नुको केही प्रमुख कारण छन् जसले यस्ता घृणित कार्यलाई बढावा दिइरहेको छ ।
१. नैतिक र धार्मिक शिक्षाबाट टाढा हुनु ।
२. आधुनिकताका नाममा नग्नता ।
३. मोबाइल र इन्टरनेटको दुरुपयोग ।
४. पीडितलाई दोषी ठहराउने विद्यमान प्रवृति
५. बलात्कारीलाई कडा सजायको व्यवस्था नहुनु ।

मेरो विचारले नैतिक र धार्मिक शिक्षा र ज्ञान दिनु आवश्यक छ । साथै आधुनिकताका नाममा केटाकेटी दुवैलाई नग्नताबाट बच्नुपर्ने । मोबाइल र इन्टरनेटको प्रयोग उमेर अनुसारका साइड हेर्ने गरी व्यवस्था हुनुका साथै विकृति फैलाउने खालका साइटमाथि प्रतिबन्ध गरिनुपर्ने । पीडितलाई दोष थुपार्ने तैले आफूले गर्दा नै बलात्कृत हुनु पर्यो भन्ने मानसिकता हटाउनु पर्ने र सबभन्दा अहम कुरा बलात्कारीलाई आफन्त भनी छोड्ने वा धरौटीमा रिहा गर्ने कार्य बन्द गरिनुपर्छ ।

बलात्कारका घृणित घटनाक्रमलाई रोक्न र पीडितलाई न्याय दिलाउन अब शैली र नीति फेरिनु पर्ने आवश्यकता छ । अहिलेसम्म देशमा बलात्कारकाविरुद्ध कानुन नभएको होईन् तर उक्त कानूनको खिल्ली उडाइएको छ । दोषीलाई विभिन्न बहानाले कानूनमा उन्मुक्ती दिनु र पीडितलाई दोषी ठहराउनु कानुनको खिल्ली उडाए सरह नै हो ।

नेपाल संयुक्त राष्ट्र संघको पक्ष राष्ट्र भएकोले बलात्कारीलाई फासी दिन मिल्दैन् भनी बलात्कारीलाई हौसला र आँट दिने पक्षधर पनि छन् । सिरिया, फिलिस्तीन, बर्मा जस्ता देशमा शक्ति प्रदर्शनका नाममा निमुखा दुधमुखे बालबालिका र निर्दोष महिला पुरुषको हत्या भइरहँदा त्यही सयुंक्त राष्ट्र संघ मौन भर्इ मुखदर्शक भएर बसीरहेको सर्वविदितै छ । यहाँ त दोषीलाई सजाय होस् भनी मृत्युदण्डको माग गरिएको छ र यसका लागि हाम्रो देशले आफ्नो देश र परिस्थिति अनुसार कदम चाल्नु आवश्यक छ ।

मेरो विचारमा बलात्कार एक घृणित, निन्दनीय र तुक्ष कार्य हो । यसलाई नियन्त्रण गर्न सरकारले हेर्नुपर्छ, किनभने कतिपयले गरिबीका कारण दबाब र पैसाको लेनदेनमा मिलापत्र गर्नुपर्ने अवस्था हुन्छ । त्यसकारण पीडितलाई न्याय प्राप्ती होस् र दोषीलाई कडा कारवाही होस् ।

अब कडा कारवाही कसरी गर्न सकिन्छ किनभने देश त सयुंक्त राष्ट्रको पक्ष राष्ट्र हो भनी भन्नुभन्दा पनि दुईचार बलात्कारीलाई फासी दिएर नजीर बनाउनु आवश्यक छ । ताकि बलात्कारीहरुलाई सीख होस्, कि बलात्कार गरे भने मृत्युदण्ड निश्चित छ अब कुनै बहानामा उन्मुक्ती पाईने छैन् भन्ने दुईचार वटा नजीर भए अनि मात्र बलात्कार जस्ता अपराधमा लगाम लाग्नेछ भन्ने मेरो विचार ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट