निर्वाचन आयोगले सरकारसँग गलत किसिमको साँठगाँठ गरेको छ : मोहन बानियाँ

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार

विसं २०२० साल माघ १५ गते मुगुको श्रीकोट-१ मा जन्मिएका मोहन बानियाँ एमालेका केन्द्रीय सदस्य तथा पूर्व सभासद हुन् । स्नातकोत्तरसम्म अध्ययन गरेका बानियाँले २०३६ सालमा नेकपा माक्सवादीको सदस्यता लिएका थिए । तीन कार्यकालसम्म एमाले मुगुको प्रमुख बनेका बानियाँ हाल मुगु र कालीकोट जिल्ला ईन्चार्ज हुन् । २०७० देखि २०७४ मुगु १ बाट व्यवस्थापिका सांसद् सदस्य समेत रहेका उनै मोहन बानियाँसँग रिपोर्टर नेपालका लागि नारायण शर्माले अहिलेको समसामयिक राजनैतिक अवस्थाबारे गरेको कुराकानी :

बामगठबन्धनले झण्डै दुई तिहाई मत ल्याउँदा पनि सरकार बन्न किन ढिलाई भइरहेको छ ?
नेपालको राजनीतिमा जहिले पनि यस्तै तुवालो लाग्ने गरेको छ । विभिन्न खालका अपवित्र राजनीतिक चलखेल चल्ने गरेका छन् । देश जहिले पनि संवैधानिक प्रावधानबाट चलेको छैन । संविधान कुल्चदै त्यसको विपरित काम गर्ने एक प्रकारको नजिर नै बसेको छ । निर्वाचनमा हारिसकेपछि देउवा सरकारले सहज रुपमा सत्ता हस्तान्तरण गर्नुपर्दथ्यो । अहिले देउवा सरकार डुब्न लागेको डाँडा माथिको घाम जस्तै छ । उनले दिन प्रतिदिन विभिन्न खालका हर्कतहरु गरेका छन् । अतः चाडो भन्दा चाडो निकास निकालेर सत्ताबाट बाहिरिनु पर्दछ । हामीलाई निर्वाचन आयोगसँग पनि आशंका छ । किनकी निर्वाचन आयोगले सरकारसँग साँठगाँठ गरेको छ । आयोगले जसरी हुन्छ सरकारको आयु लम्ब्याउन ब्यस्त छ ।
केहि दिनसम्म राष्ट्रिय सभासम्बन्धि विधेयक नल्याएर सरकारले ढिलाई गरेको थियो । त्यसपछि चोरबाटोबाट एकल संक्रमणिय प्रणाली भन्दै विधेयक ल्याएको छ । यसरी सर्मनाक हार भएपछि पनि कांग्रेसले अनेक बहानामा सत्तामै टासिइरहेको छ । तथापि धेरैदिन त टिक्दैन । वास्तवमा जत्ति दिन लम्ब्याउन खोजे पनि सबै स्वार्थ पूर्ती हुने अवस्था छैन ।

सत्तामा नेतृत्व गरेको कांग्रेसका सभापति देउवाले सरकारबाट बाहिरिनु पर्ने हुँदा गम्भीर प्रकारका निर्णयहरु पनि गरिरहेका छन् । त्यसले भोलि बन्ने सरकारलाई काम गर्न गाह्रो हुँदैन ?
सरकारले धेरै नराम्रा कामहरु गरेको छ । यो अवधिमा मात्रै झण्डै ८५ करोड रुपैयाँ कार्यकर्तालाई सहयोगका नाममा बाडेको छ । अहिले मात्रै होइन कांग्रेसका नेताहरु राष्ट्रको ढिकुटीमा दूरुपयोग गर्ने काममा विद्यावारिधि नै गरेका छन् । सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि त्यही अवस्था थियो । कांग्रेसको सत्ता सञ्चालन गर्ने फोहोर तौर तरिकाका कारण जनताहरु आजित भएका छन् । सरकारले गरेका राजनीतिक नियुक्त र गलत कार्यहरु अब बन्ने बामगठबन्धनको सरकारले मान्यता दिन सक्तैन । सबै कुराहरु हामीले विचार गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बामगठबन्धनले जितेमा अधिनायकवाद सुरु हुन्छ भन्थे । त्यसैले सत्ता नछाडेका त हैनन् ?
वास्तवमा कोहि मानिसहरु सपनामा बर्बराउने गर्दछन् । कांग्रेसले बामगठबन्धनले जितेमा अधिनायकवाद हावी हुन्छ भन्दै आएको छ । यो उसको बर्बराहट हो । त्यो बेकारको आक्षेप हो । हामी बामपंथीहरु साम्यवादमा गएको अवस्था होइन । हामीहरु त केवल लोकतान्त्रिक समाजवादको अवधारणामा अघि बढेर राज्यलाई समृद्धितर्फ अघि बढाउने शासन पद्धतिमा कटिबद्ध छौं । कांग्रेसलाई कुन भुतले छोएको छ ? कांग्रेसले पनि त राजावादी लगायतकासँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएकै हो । राजाहरु पनि त एकतन्त्रिय शासन व्यवस्थामा विश्वास राख्दथे । तर उनीहरुले भन्न खोजेको चीन वा उत्तर कोरियामा जस्तो शासन नेपालमा ल्याउने प्रयास हामीले गरेका छैनौं । एकपटक सत्तामा पुगेपछि बिसौं वर्षसम्म शासन चलाउने, कानुन र संविधान नमान्ने व्यवस्थामा हामी गएका होइनौं । त्यो अधिनायकवाद मान्दैनौं । कांग्रेसमा विचार र सिद्धान्त नभएपछि जनतालाई तर्साएको मात्रै हो । निर्वाचनमा पनि यहि खालको प्रचार गरियो । उनीहरुले भन्ने गरेका थिए, कम्युनिष्टहरुले जितेको खण्डमा हास्न पनि दिँदैन र रुन पनि पाइदैन । यस्ता वाहियात कुरा गरेर पनि हुन्छ ? चारपटक मुलुकको प्रधानमन्त्री भएका व्यक्तिले यस्ता घटिया कुरा गर्न मिल्छ ? सकेसम्म छिटो देश र जनतालाई निकास दिनुपर्दछ । कतिदिन कुर्सीमा टासिएर बस्ने ? अब धेरैदिन बस्न सक्ने अवस्था त संविधान त छैन । धेरैदिन थला परेको बिरामीले घर परिवारलाई अति दुःख दिएर हायल कायल बनाएर मर्नु जस्तै काम प्रधानमन्त्री देउवाले गरेका छन् । आफै सर्मिन्दा बनेर सत्ता छाड्नुपर्ने अवस्थामा झन लम्ब्याउने ? परीक्षामा ब्याक लागेपछि पढेर कटाउने कि जबर्जस्ती गर्ने ?

संविधान त माघ ७ २०७४ साल भित्र स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने भनियो । नयाँ सरकार बन्ने त टुङ्गो लागेन ? निर्वाचनको परिणाम घोषणा गर्ने जिम्मेवारी त निर्वाचन आयोगको होइन ?
हामीले २०७० साल माघ ८ गते संविधानसभामा सपथ ग्रहण गरेका थियौं । त्यसको चार वर्षमा हामीले संविधान निर्माण गरेर सबै तहको निर्वाचन सम्पन्न गर्ने भनेर संविधान मै उल्लेख गरेका हौं । अब हामीले जति ढिला गछौं संवैधानिक संकटहरु थपिदैँ जान्छन् । माघ ७ गते भन्दा अघि नै निर्वाचन आयोगले घोषणा गरेर सरकार बन्ने बाटो खोलिदिनुपर्ने थियो । यसरी निर्वाचनको परिणाम घोषणामा ढिलाई गर्नुमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवको साठगाँठ नै हो । त्यसैगरी प्रदेश प्रमुख तोक्न नसक्नु साथै अस्थायी राजधानी पनि नतोकिनु प्रधानमन्त्री शेरबहादुर देउवाको लार्पावाही हो । यसरी अयोधी कांग्रेसको इशारामा काम गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्तले इशारामै काम गरेका हुन् ?
वास्तवमा यस्ता खालका संवैधानिक संकट निम्त्याएर अराजकताको सिर्जना गर्ने काममा प्रमुख निर्वाचन आयुक्तको रोल देखिएको छ । देशमा आन्दोलनको सिर्जना गराएर अर्को खालको वातावरण सिर्जना गराउने काममा निर्वाचन आयोग उद्दत रहेको छ । आयोगले स्वतन्त्र रुपमा हैन कसैको प्रभावमा गैर जिम्मेवार काम गरिरहेको अवस्था छ ।
प्रदेशको राजधानी कहिले तोकिन्छ ? सरकारले त काठमाडौंमै अस्थायी राजधानी तोकेको छ नी ?
अहिले आन्दोलन गर्ने वातावरण बनाएर झनै अराजकता बनाउने प्रयासमा राज्य लागेको छ । प्रदेशसभाले नै राजधानीको लागि निर्णय गर्ने भन्ने हो । जनतालाई पाच्य हुने निर्णय सरकारले गरिसक्नुपर्ने थियो ।

बाम एकताका विषयमा किन परस्पर विरोधी कुराहरु आएका छन् । कहिलेसम्म हुन्छ यो एकता ?
चाँडै भन्दा चाँडै एकता हुन्छ । किनकी नेताहरुको सेटल्मेन्ट गर्नका लागि पनि केहि समय लाग्छ । सरकार पनि बामगठबन्धनको बन्छ त्यसपछि दुईपार्टी बीच पनि एकता हुन्छ ।

बाह्य शक्तिले यो पटक पनि बाम शक्तिलाई फुटाउने पो हो की ?
राजनीतिमा “फुटाउ र राज गर” भन्ने नै प्रमुख सिद्धान्त मानिन्छ । अन्यथा सत्तामा जान सकिँदैन । त्यसैले फुटोस् भन्ने कसैको आशा पनि होला । तर त्यो सफल हुँदैन । यो बामगठबन्धन त्यतिकै बनेको हैन । यसभित्र धेरै कुराहरु लुकेर बसेका छन् । यदि पुनः फुटेर अर्कै संरचना बन्यो भने मुलुकका लागि ठूलो दुर्घट्ना हुनेछ । किनकी यसका जरा निकै टाढा छन् । त्यो कुरा नेताहरुले पनि बुझेका छन् । जसबाट नेपाली जनताले समृद्धि पाउँछन् ।

तपाई कर्णालीको सशक्त र पुरानो नेता हुनुहन्छ । कर्णालीको विकासमा कस्ता योजना छन् ?
मुलुकमा संविधानले सातवटा प्रदेशको परिकल्पना गरेको छ । सातैवटा प्रदेशमा हाललाई विकासको गतिमा पछि पारिएको ६ नम्बर प्रदेश हो । तर, समृद्धिको बाटोमा लैजानका लागि धेरै प्राकृतिक साधन र स्रोत पनि यो प्रदेशमा छन् । सातैवटा प्रदेशमा यो प्रदेश सबैभन्दा धनी हुन पनि सक्तछ भन्ने हाम्रो आंकलन छ ।

पहिलो: हाइड्रपावरको प्रचुरताः
हाम्रो प्रदेशमा सबैभन्दा लामो नदी कर्णाली छ । भेरी नदी पनि यहि क्षेत्रमा पर्दछ । हामीले १०औ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्तछौं । त्यसपछि त्यो उत्पादित विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न सकिन्छ । जसबाट अन्तर्राष्ट्रिय स्तरमा निर्यातगर्न सकियोस ।

दोस्रो: जडीबटीको सम्भावनाः
नेपालमै सबैभन्दा बढि जडीबुटी पाइने ठाउँ भनेको नै कर्णालीमा हो । यहाँ जडीबुटीको “हब जोन” का रुपमा यो क्षेत्रलाई लिन सकिन्छ । यहाँ लो अल्टिच्यूड (कम उचाई) देखि हाई अल्टिच्यूड (बढि उचाई) सम्ममा पाइने जडिबुटीहरु प्रशस्त पाइन्छन् । त्यसैकारण त्यसको कर ट््याक्स र उद्योगबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ ।

तेस्रोः पर्यटनको प्रशस्त सम्भावना
यो प्रदेश पर्यटनको प्रशस्त सम्भावना भएको क्षेत्र भित्र पर्दछ । यहाँ रारा ताल, शे फोक्सुण्डो ताल जस्ता पर्यतकीय क्षेत्र पर्दछन् । पश्चिमको गेट वे हुम्ला पनि यहि प्रदेशमा पर्दछ । यसर ठूला ताल तलैया भएको क्षेत्रका कारण पनि पर्यटकीय सम्भावना पनि यहाँ छ ।

चौथो: अर्गानिक खेती
यो प्रदेश अर्गानिक खेतीका लागि पनि प्रख्यात छ । यहाँ रेड राइस, सिमी, फलफुलहरु विशेष रुपमा संसारमै प्रख्यात छन् । राणाकालमा पनि यहाँको चामल ल्याएर खाने गरेका थिए । यसरी अर्गानिक उत्पादनलाई ड्राई फुडका रुपमा सप्लाई गर्न सकिन्छ । जसरी पाकिस्तान, भारतको हिमाञ्चल र उत्तराञ्चलमा पनि ड्राईफुड बनाएर निर्यात गर्ने प्रचलन रहेको पाईन्छ ।

पाँचौं: खानीको सम्भावना
यो प्रदेशमा दक्षिण एशियामै सबै भन्दा ठूलो तामा खानी भएको क्षेत्र पर्दछ । पेट्रोलियम पदार्थ पनि दैलेखमा पाईन्छ । यो प्रदेश एकदमै हाई पोट्यान्सियालीटी भएको क्षेत्र हो । यी क्षेत्रमा विकास गरेको अवस्थामा हामी समृद्ध बन्न कुनै समय लाग्दैन । यी सबै कामका लागि सडक सञ्जालको पनि आवश्यकता छ । अहिले केवल एकतर्फी ट्रायाक मात्रै खुलेको छ । थ्री लेन र फोर लेनका सडक बनाएर हामीले यो क्षेत्रमा समृद्धि ल्याउन सक्तछौं ।

अहिले हारेको पार्टीका दलले सरकार चलाइरहँने र राजाले मलाई पुनस्थापना गराईदेउ भन्दै उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथसँग अलाप बिलाप गरेका छन् । अवस्था फेरी अकैतिर मोडिने सम्भावना त हुँदैन ?
त्यो सबै कुराको फैसला गर्ने अधिकार नेपाली जनतामा निहित छ । उत्तरप्रदेशका मूख्यमन्त्री भेट्दैमा राजाको चाहाना पुरा हुन सक्तैन । त्यसो त मोदीको पनि वामपंथीहरु नमिलुन भन्ने चाहाना थियो होला । अहिले बामगठबन्धन र त्यसले दिने दिगो सरकार र समृद्धि जनताको चाहना हो । कसैको लहडलाई जनताले सहन सक्तैनन् । नेपाली जनताले त्यही कारण ६१ प्रतिशत मत बामगठबन्धनलाई दिएका छन् ।

अन्तमा…
तपाईले रिपोर्टर नेपालमार्फत मेरा धारणा राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । यो सानो संक्रमणकालको चाडै अन्त होस् । नेपाली जनतालाई विकासको बाटोमा अघि बढ्ने अवसर प्राप्त होस भन्न चाहन्छु ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट