अरु देशमा सप्लाई नहुने स्याउ नेपाल आउँछ : भीमप्रसाद हुमागाईं

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

बिएच इन्टरप्राइजेज प्रा.लि. वि.सं.२०५४ सालमा सुरु गरेर २०५५ सालमा दर्ता गरी अहिलेसम्म त्यहि कम्पनीमार्फत स्याउ व्यवसाय गरेको बताउने स्याउ व्यवसायी भीमप्रसाद हुमागाईं भन्छन्, ‘मैले जुम्लाको स्याउ बंगलादेश, मलेशिया पठाए तर सफल भएन । नेपालको स्याउमा किरा आदि इत्यादि हुन्छ भनेर त्यहाँको सरकारले स्वीकृति दिएन ।’ त्यस्तै, यहाँ आएका बेला २०५७ सालमा बंगलादेशका एक व्यापारीमार्फत र परिक्षणको रुपमा तीनवर्ष अगाडि मलेशिया जुम्लाको स्याउ पठाए तर त्यहाँ परिक्षण गर्दा नेपालको स्याउमा समस्या देखाइएकोले अहिलेसम्म हाम्रो स्याउ विदेश पठाउन सकिएको छैन भनि गुनासो गर्ने उनै हुमागाईंसँग २० वर्षदेखि स्याउ व्यवसाय गरेको अनुभवलाई संगाली नेपाल र विदेशका स्याउखेतीदेखि लिएर स्याउ व्यवसायसम्बन्धी रिपोर्टर नेपालका लागि रीता बस्नेतले गरेको विविध कुराकानी :

कहाँबाट कसरी र एक पटकमा कति स्याउ ल्याउनु हुन्छ ? 
विशेष गरी चाइनाबाट ल्याउछु । न्यूजिल्याण्ड, अमेरिकाबाट पनि ल्याउने गरेको छु । कहिले आफैले ल्याउछु, कहिले मगाउछु । प्राय आफू भने चाइना मात्र जान्छु । चाइनामा हामीले अर्डर गरेअनुसारको स्याउ नपठाउने भएकोले आफू चेकिङ्गमा जानुपर्छ । चेकिङ्गमा गएर एक/डेढ महिना बसेर, हेरेर आफ्नो देशमा, बजारमा कस्तो सामान चल्छ त्यहि अनुसारको ल्याउछु । जस्तो एकचोटी ल्याउदा गाडीमा ६/१० हजार कार्टुन ल्याउछौं । दुईवटा नाका रसुवा र कलकत्ता भएर नेपाल ल्याउछौ । कलकत्ताबाट समुद्र हुँदै २०/२५ दिनमा नेपाल आउछ । हामी हप्तैपिच्छे ल्याउछौ, कहिले हप्तामा दुई/तीन चोटी पनि आउँछ । नेपाल अधिराज्यभरि हाम्रो व्यवसायी साथीहरु छन् । त्यसले गर्दा डाइरेक्ट लोड भएर विभिन्न जिल्ला जान्छ र बल्खुअन्तर्गत पनि जान्छ । बल्खुबाट दिनमा मेरो दुई हजार कार्टुन स्याउ बिक्छ ।

स्याउ व्यवसाय एक्लै गर्नु हुन्छ ? बाहिरबाट अरु के के फलफूल ल्याउनु हुन्छ ?
साथी पनि छन् । एक्लै गर्न सकिदैन, धेरै पैसा चाहिन्छ । एक वर्षमा २४ करोड चाहिन्छ । २४ करोड भए अर्कै काम गरिन्थ्यो, यस्तो काम किन गर्नु पथ्र्यो । २४ करोडको स्याउ मात्रै मगाउँछौ, त्यसमा अरु फलफूल छैन् ।

वर्षमा २४ करोडको स्याउ व्यवसाय गर्दा कति फाइदा हुन्छ ?
व्यापारमा कुनै बेला फाइदा हुन्छ, कुनै बेला घाटा हुन्छ । तर हामीलाई ०.५ प्रतिशत फाइदा भयो भने एक÷दुई करोड फाइदा हुन्छ, त्यसले भइहाल्छ । हामी बाह्रै महिना बाह्रै काल व्यापार गर्छौ । साउनदेखि कात्तिकसम्म चार महिना स्याउ फल्ने समय हो । त्यो चार महिनामा हामी विभिन्न जातका स्याउहरु कलेक्शन गरेर कोलिस्टोरमा राख्छौ र वर्षैपिच्छे बजारको माग अनुसार सप्लाई गर्छौ ।

बाहिरबाट कति प्रकारका स्याउहरु ल्याउनु हुन्छ र यहाँ कतिमा बेच्नु हुन्छ ?
मैले सुनेअनुसार दुई/तीन सय प्रकारका स्याउका जाती हुन्छन् । त्यसमध्ये हामी सात/आठ थरीका स्याउ ल्याउछौं । जस्तोः फुजी, डेलिसस, डल्लो, पिङ्ग लेडी, रेड स्टार, गोल्डन स्याउ लगायतका छन् । यहाँ डल्लो, फुजी, पिङक लेडी, गोल्डन स्याउ विशेष गरी बिक्री हुन्छ । सबैभन्दा महङ्गो फुजी हो । फुजी खाँदा रसिलो, बलियो, टिकाउ हुन्छ । हाम्रो नेपाल अधिराज्यभरि स्याउको मूल्य बराबरी हुन्छ । जस्तोः काठमाडौंमा सय रुपैयाँमा बेच्यौ भने विराटनगर, बुटबल, पोखरालगायत जुनसुकै ठाउँका व्यापारीलाई सय रुपैयाँमै बेच्छौ । तर व्यापारीहरुले लगेर बेचेको सामान चाहिँ महङ्गो हुन्छ ।

बाहिरको स्याउ धेरै समय टिकाउन औषधी हालेर राख्नु हुन्छ ? 
पहिला मेरो पसल थियो । सबै सामान पसलमा राखेर पनि बेच्थे, अहिले लोडिङ्ग मात्रै गर्छु । माल आउछ, सबैसँग चिनजान भइसक्यो, गाडीमा प्याक गर्ने पठाइदिने गर्छु । हामी स्याउमा औषधी हालेर राख्दैनौं । स्याउ कुहिने, सड्ने चिज भएकोले बल्खुमा धेरै समय पनि राख्न मिल्दैन । बालाजु औद्योगिक क्षेत्रको कोलिस्टोरमा राख्छौं । हाम्रो कोलिस्टोर बालाजु औद्योगिक क्षेत्र भित्र र विराटनगर गरी दुई ठाउँमा छ । चाइनाको कोलिस्टोरबाट निकालेर चार/पाँच दिन लाग्छ यहाँ आउन । चाइनाबाट कलकत्ता हुँदै यहाँ आउनेमा चाइनाको कोलिस्टोरबाट निकालेर कलकत्तासम्म एसी कन्टेनरमा हालेर ल्याउछौं र कलकत्ताबाट यहाँसम्म ल्याउन एसी कन्टेनर केहि हुँदैन । चारदिन एसी हुँदैन अनि यहाँ ल्याएर कोलिस्टोरमै हाल्छौं र बेच्छौं । चाइनाबाट आउदा पाँचदिन बाटोमा चिसो हुँदैन, पाँच दिनपछि यहाँ कोलिस्टोरमा राखेर बेच्छौ ।

नेपालमै हुम्ला, जुम्लालगायतका ठाउँहरुको स्याउले नेपाललाई धान्दैन ?
मिडियामा आउछ, नेपाल सरकारले विज्ञापन गर्छन्, नेपालमै उत्पादन र व्यवसाय गरौं भनेर तर नेपालको हुम्ला, जुम्लाको स्याउले त एउटा छेउ पनि भ्याउदैन ।

नेपालको स्याउले बजार नपाएर गाईवस्तुलाई खुवाउने, फाल्ने, कुहिएर जाने हुन्छ भनेर सुनिराखिन्छ नि ?
हाम्रोमा स्याउ फल्छ, त्यसलाई औषधी उपचार गर्दैनन्, रोग, किरा मास्दैनन् त्यसले गर्दा स्याउ राम्रो देखिदैन् । बजारमा बिक्री गर्न त हेर्दा राम्रो, चट्ट परेको चाहियो । पहिला मुखले खाने होइन, पहिला आँखाले खाने हो । आँखाले हेर्दा राम्रो देखियो भने मान्छेले किन्छन् । हामी पनि बजार गयौ भने कुन राम्रो छ त्यही किन्छौ, चोटपटक, किरा लागेको किन्दैनौं । हाम्रोमा औषधी उपचार गर्ने केहि छैन, स्याउको बोट रोपोदियो र फलेपछि ल्याएर बेचेपछि कसले किन्न आउँछ ? अनि त्यो स्याउ बिक्री हुँदैन, गाईले नै खाने हो, मान्छेले खादैन ।

तपाईंलाई नेपालकै स्याउ फस्टाए हुन्थ्यो, यहिको व्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्दैन ?
लाग्छ । नेपाली, नेपाल सम्पन्न होस, राम्रो होस । नेपालकै सामान बाहिर पठाउन सकियोस, बाहिरको सामान ल्याउन नपरोस भन्ने लाग्छ । तर लागेर के गर्नु उत्पादन छैन । हामी व्यवसायी व्यवसाय गर्नै पर्यो । नेपालको पैसा बाहिर जानु भन्दा बाहिरको पैसा नेपाल भित्रेको राम्रो हो, त्यो हामी गर्न चाहन्छौ तर व्यक्तिले गरेर हुँदैन, सरकार लाग्नु पर्छ । सरकारले गरे हामी सहयोग गर्न तयार छौं । बाहिरबाट नेपालको स्याउ ल्याएर बेच्नु भन्दा नेपालकै स्याउ किनेर नेपालकै बजारमा बेच्न सके राम्रो हुन्छ । जुम्लाको स्याउको वास्तविक व्यापारी म हुँ । मैले त्यहि बाट स्याउ व्यवसाय सुरु गरेको हुँ । अहिले दुई/तीन वर्षदेखि जुम्लाको व्यापारै छोडिदिए, गर्नै सकिदैन । आठ घण्टा माथि जंगलमा स्याउ रोपेर फलेको हुन्छ, त्यो बोकाएर ल्याउनु पर्यो, तलसम्म ल्याउदा चोट लाग्ने, ढुवानीको साधनको ग्यारेन्टी नहुने हुन्छ । अर्कोतिर त्यहाँबाट फेरि बजारसम्म ल्याउदा धेरै महङ्गो पर्न जान्छ । त्यसले गर्दा चाइनाको स्याउ भन्दा जुम्लाको स्याउ दोब्बर महङ्गो हुन्छ । पाएसम्म हामी नेपालको स्याउको व्यवसाय गर्छौ तर नेपालको स्याउ बेच्नै सक्दैनौं, चाइनाको स्याउ फटाफट बिक्छ । हामीले चाइनाको स्याउ सिस्टमेटिक तरीकाले ल्याएका हुन्छौं, चाइनामा व्यापारीहरु सँग कुरा चल्छ, कुरा सुन्छन् तर नेपालमा हाम्रो कुरा चल्दैन, सुनिदैन र सिस्टम छैन । सबभन्दा पहिला हाम्रो सरकारकै सिस्टम खराब छ । त्यसपछि किसानको पनि सिस्टम खराब छ । मैले आठ वर्ष जुम्लाको स्याउ वान डोर सिस्टमबाट गर्ने प्रयास गरे, असफल भएँ । त्यसपछि दुई/तीन वर्ष अगाडिदेखि मैले कामै छोडिदिए । मेरो एक/दुई करोड रुपैयाँ अहिले पनि जुम्लामा फ्रिज भएर बसेको छ । कार्टुन, मेशीन, क्रेटलगायतका सामान छ । दुई हजार त मेरो स्याउ हाल्ने क्रेट नै छ । प्याकिङ्ग गर्ने स्टोर, कोलिस्टोर बनाउने, गाडीहरु राख्ने, कलेक्शन सेन्टर बनाउने भनेर जग्गा किनेको छ । तीन ठाउँमा मेरो केलेक्शन सेन्टरहरु छ तर सबै छोडिदिए, माया मारे ।

नेपालकै स्याउलाई प्राथमिकता दिन तपाईं व्यवसायीहरु मिलेर सम्बन्धित निकायसँग पहल गर्नु भएन त ?
हामीले पहल गरेका हौं । त्यस्तै नेपालकै स्याउलाई प्राथमिकता दिन सरकार, आइएनजीओ, एनजीओ सबै लागिपरेका छन् तर यहाँ सिस्टम राम्रो भएको छैन । सरकारले एक घर एक बगैंचा भनेर स्याउको बोटहरु बाड्यो, पहिला पाँचवटा दियो क्यार, अहिले २५/५० वटा निःशुल्क दिएको छ । किसानहरु त्यो लगेर स्याहारसुसार गर्दैन, रोप्ने काम मात्रै गर्छन् । अर्कोतिर रोपेको स्याउको बगैंचासम्म जाने बाटो, ल्याउने सुविधा आदि धेरै सिस्टम राम्रो छैन त्यसैले नेपालको स्याउ चल्दैन, हुँदैन । हुनत केहि मात्रामा विभिन्न ठाउँबाट बजारसम्म स्याउ ल्याइराखेका छन्, तिनीहरुलाई सरकारले कृषिमार्फत अनुदान भनेर प्याकिङ्ग खर्च, कार्टुन, बक्स दिएको छ । तर, कृषिमार्फत भएकोले कृषकले जुम्लाको स्याउ कोहि प्याक गरी ल्याएर बेच्छन्, कोहि अनुदानमा आएका सामान च्यातचुत पारेर फाल्छन्, ओछ्याउछन् यस्तै के के भइराखेको छ । त्यसरी अनुदानलाई बाध्यता बनाइएन । पहिला जुम्लामा स्याउ दुई प्रकारका मात्रै थिए, यसमा हामीले फुजी, पिङ्क लेडीलगायतका अरु स्याउहरुको जात हुनु पर्यो भनेर धेरै पहल, प्रयास गर्यौ । अहिले हाम्रो कुरा सुनुवाई भएर जुम्लामा नयाँ नयाँ जातका स्याउ रोपिसकेका छन् । धेरै पुराना राजा महेन्द्रको पालाका भएको भनिएका स्याउहरुको जात धेरै टिकाउ छैन, टिक्दैन । नेपाल सरकारलाई अनुरोध गरेर पहिले मैले नेपालको प्रतिनिधिमण्डल नै चाइना लगेर घुमाए, देखाए, यस्तो स्याउ हुनुपर्छ, यसरी खेती गर्नुपर्छ, यसो गर्नुपर्छ भनेर किसानसँग परिचय समेत गराए । त्यसबेला मैले हाम्रोमा पनि चाइनाको जस्तै व्यवस्थित तरिकाको खेती होस भनेर देखाएको, घुमाएको थिए । तर यहाँको सरकारले गर्न चाहदैन अथवा किसानले गर्दैन त्यो मलाई थाहा भएन ।

तपाईंलाई सरकारले कृषक अथवा व्यवसायीलाई कस्तो सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? 
स्याउ छिट्टै कुहिने, सड्ने आइटम हो । यसलाई बचाउन सक्ने क्षमता सरकारले गर्नु पर्यो । हामी व्यक्तिले गर्न सकिदैन । मैले चाइनाको स्याउ व्यवसाय गरे अनुसार त्यहाँ टिपेपछि सिधैं कोलिस्टोरमा हालिन्छ, दुई दिन या दश दिन टिपेर त्यसै राखिदैन । अहिले पनि मैले काम सकाएर आएको छु, करिब १० करोडको स्याउ टिपेर उहीको कोलिस्टोरमा हालेको छु । चाइनाको कोलिस्टोर राम्रो छ, नेपालको कोलिस्टोर ठिक छैन । यहाँ आलु राख्ने कोलिस्टोर मात्र ठिक छन्, स्याउ राख्ने कोलिस्टोर ठिक छैनन् । विशेष गरी जुम्लाको कृषक, व्यापारीसँग काम गरेको अनुभवमा भन्नु पर्दा त्यहाँ निकै राम्रो काम गर्न सक्ने अवसरहरु, ठाउँ छ । तर सरकारले सहयोग गर्नुपर्यो साथै जनता जागरुक हुनु पर्यो ।

चाइना र नेपालको स्याउ खेती गराईमा के फरक छ ?
नेपालमा स्याउका रुखहरु मान्छे चढेर टिप्नुपर्ने खालका ठूला हुन्छन् । चाइनामा मान्छेले हातैले टिप्न सक्ने रुखहरु बनाइएका हुन्छन् । उनीहरु स्याउका हाँगाबिगा ढुंगा लगाएर हुन्छ कि के गरेर हुन्छ मिलाउछन । उनीहरु एउटा बोटमा कति फलाउने हो त्यति मात्रै राख्छन्, साना टिपेर फालिदिने, ठिक्कका राख्ने गर्छन् त्यसैले एउटा बोटमा धेरै स्याउ फल्छ । तर यहाँ टिपेर फाल्ने चलन छैन, पानी हाल्ने, स्याहारसुसार गर्ने केहि गरिदैन । उनीहरुको खेती नै त्यहि, उद्देश्यै त्यहि, सबैकुरा त्यहि हुन्छ । चाइनाको तीन प्रान्त साङदोङ, साछी, गासु हाम्रो पाँचवटा नेपाल बराबरको क्षेत्रफल छ । त्यहाँ स्याउ मात्रै हुन्छ, अरु केहि खेती गर्न पाइदैन, त्यहाँ सरकारको नीति नै स्याउ खेती गर्ने मात्र छ । त्यो स्याउ विश्वभरि सप्लाई हुन्छ । तर त्यहि स्याउ नेपालमा सस्तो खालको, अन्त सप्लाई नहुने किसिमको आउछ । हाम्रो जुम्लाको स्याउ अर्गानिक र ननअर्गानिक गरी दुई खालका छन् । अर्गानिक स्याउको माग छ, विश्वका धेरै देशमा निर्यात गर्न सक्छौं तर सरकारले सहयोग गर्दैन । गरे भन्छ तर वास्तविक सहयोग भएको छैन । वास्तविक व्यापारीलाई सरकारले चिन्दै चिन्दैन, जो कुरा बढी गर्छ, चाप्लुसी गर्छ त्यस्तोलाई मात्रै सरकारले गर्ने हो ।

किन नेपालमा चाहिँ जस्तोसुकै स्याउ ल्याउदा पनि बिक्ने भएको त ?
यहाँ हुनुपर्यो नि टेष्ट गर्ने ? क्वारेन्टटाइन भन्ने हुन्छ, यहाँ त्यो टेष्ट गर्ने मेशीन नै छैन । त्यसैले यहाँ कसरी थाहा हुन्छ राम्रो नराम्रो, किरा लागेको, नलागेको भनेर । तरपनि यहाँ वारेन्टटाइन टेष्ट भनेर दुई/चार दाना लगेर हेर्ने र व्यवसायीबाट एक हजार खर्च लिने गर्छन् । मेशीन सरकारले मुखले छ भन्छ तर मेरो बिचारमा त्यो मेशीन छैन, मैले देखेको छैन । क्वारेन्टटाइन चेक गर्ने भनेर दुई/चार दाना लेउ भनेर हाम्रो दुई कार्टुनै लिइदिन्छन् तर परिक्षण गरेको रिपोर्ट दिदैनन् । एकपटक मैले जुम्लाको अर्गानिक स्याउ बाहिर निर्यात गर्ने भनेर बाहिरबाट स्याउको माग पनि ल्याए । १० केन्टेनर अर्गानिक स्याउ सप्लाई गर्नुपर्यो भनेर सबै गरे । नेपालमा भएको अर्गानिक स्याउ प्रमाणित गर्ने अर्गानिक सर्टिफिकेट अफ नेपाल भन्ने संस्थाले प्रमाणित गरेर पठाए तर विदेशीले प्रमाणित गरेको भएन, यो ठिक छैन, अर्गानिक भएन भनिदियो । अनि मैले सप्लाई गर्न छोडिदिए ।

स्याउसम्बन्धी धेरै कुराको जानकार हुनुहु्न्छ, तपाईंले राज्यसँग सहकार्य गरेर काम गर्न खोज्नु भएन त ?
जुम्लामा स्याउको विकास गर्नुपर्यो, जाँच गर्नुपर्यो, किसानलाई सहयोग गर्नुपर्यो भन्ने प्रस्ताव आएपछि एचभीएपी(हाई भ्याल्लु एग्रीकल्चर प्रोग्राम) भन्ने संस्था अन्तर्गत मलाई बोलाइयो । एक करोड दिने के काम गर्नुपर्छ तपाईं गर्नुस र खेती गर्नेदेखि लिएर प्याकिङ्गलगायत सबै किसानलाई सिकाउनुस यदि बढी खर्च चाहिए दिन्छौं भन्ने भयो । म लागिपरे, एक करोडको सम्झौता पनि भयो, फोटोसोटो खिचियो, एकआपसमा बनाइएका पत्रहरु आदानप्रदान गरियो, जुन पञ्च बर्षीय योजनाअन्तर्गत थियो । तर पैसा लिन के के भनेर धाइराख्नु पर्ने हामी व्यापारीलाई धाइराख्ने फुर्सद नहुने । स्याउको लागि फर्म एप्पल नेट(स्याउमा हाल्ने बाहिरपट्टिको सेतो खालेको नेट), ट्रे(स्याउ खप्ट्याउदा हाल्ने पत्ता), स्याउ राख्ने कार्टुन आदि सबै हुनुपर्छ । नेपालमा काम गर्न यस्ता सबैचिज बाहिरबाट मगाउनु पर्छ, नेपालमा बन्दैन । नेपालमा पानी बोतल हाल्ने कार्टुन बन्छ, त्यो पनि पानीले भिज्यो भने कामै नलाग्ने हुन्छ । विदेशको कार्टुनमाथि त मान्छे चढेर प्याकिङ्ग गर्दा पनि दबिदैन । स्याउमा चोट लाग्यो भने कसैले किन्दैन त्यसैले चोट लाग्न नदिन राम्रो चिज चाहियो । यस्ता सबै कुरा किनेर ल्याइयो, राखियो, सरकारले पैसा दिन्छु भन्यो, पछि दिएन । पैसा लिनलाई भ्याटको बिल लेउ भन्छ । हामी फलपूmल व्यवसायी भ्याटमा दर्ता हुनै पर्दैन, प्यानमा दर्ता भए हुन्छ । भ्याट बिल कहाँबाट दिनु ? फेरि भ्याटमा दर्ता गरेर जिन्दगीभरी दिनैपिछे, महिनैपिच्छे हिसाब गरेर बुझाउनु पर्नेमा किन जाने ? सरकारले भोली नियम बनाएछ भने जाउला अहिले चाहिँ फलफूल व्यवसायीलाई भ्याटमा दर्ता हुनुपर्छ भन्ने छैन, प्यानबाट काम हुन्छ । त्यसरी भ्याटमा दर्ता नभइएको कारणले पाइएन । हुनत प्यानवालालाई पनि दिएको होला तर उसको अफसनमा म धाउन सकिन र घाटा खाएर छोडिदिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट