कृषिप्रधान देशले गरेको कृषि

प्रकाशित मिति: १ पुष २०७४, शनिबार

वि.सं.२०३३ सालमा कृषि विकास बैंकमा शाखा अधिकृतबाट जागिर सुुरु गरी लगभग २७ वर्ष काम गरेका जलनकुमार शर्मा सोही बैंकमा महाप्रबन्धकसम्म भएर काम गरे । त्यसपछि उनले भर्खरै खुलेको साना किसान विकास बैंकमा एक वर्ष महाप्रबन्धक भएर काम गरे । त्यहाँ २०६०/६१ सालतिर काम गर्दागर्दै धरानमा बिपी कोइराला स्वास्थ्य बैंक प्रतिष्ठानमा रजिष्टार भएर दुई वर्ष काम गरे र फेरि २०६६ सालदेखि २०७४ सालसम्म साना किसान बैंकको सिईओ भएर काम गरेका उनले भर्खरै अवकास प्राप्त गरेका हुन् । कृषिसँग सम्बन्धित बैंकमा रहेर काम गरेका उनी देश विदेशको कृषि खेतीका प्रत्यक्षदर्शी हुन् । नेपालको कृषिसँग संलग्न भएर धेरै किसानहरुको पीरमार्का बुझेका शर्मा कृषिसम्बन्धी यसरी खुल्छन् :
कृषिप्रधान देश भनिएको छ, मान्छेले रोजगारी कहाँ, के मा पाएका छन् त ? अहिले पनि १८/२० वर्षभन्दा माथि ७० वर्ष उमेरसम्मका ७० प्रतिशत मान्छे कृषिमा काम गर्छन् । उनीहरुको पालिने माध्यम अर्थात जीविकोपार्जन कृषि हो, त्यसैले कृषि प्रधान देश भनेको पनि हाम्रो त्यहि नै हो । हामीले अरुको लागि कृषि गरेका छैनौं र यहाँ कृषिमा रोजगारी पनि छैन । पहिला ९० प्रतिशत कृषि थियो, अहिले ७० प्रतिशत मान्छे कृषिमा लागेका छन् । यहाँ कृषिमा धेरै समस्याहरु छन् । एउटा घरको पूरै परिवार खेतमा खटिन्छन् तर त्यहि खेती गर्न मेहनत, खर्च कति लाग्यो भनेर उनीहरुलाई थाहा हुँदैन र यस्ता कुरा कसैले सिकाएको पनि छैन् । तपाईंलाई खेती गर्न कसले सिकायो भनेर खेती गर्ने प्रत्येक व्यक्तिलाई सोध्यौ भने उहाँहरुले मेरो बा, हजुरबाले गर्दै आएकोले मैले गरेको भन्नुहुन्छ । वास्तवमा हाम्रा खेती किसानी गर्ने व्यक्तिलाई कसैले सिकाएकै होइन् ।

कतिपय किसानहरु यूरियालगायतका विभिन्न मलहरु बारीमा हाल्छन् तर त्यो मलको बारेमा केहि पनि थाहा हुँदैन । मल हालेपछि सप्रिन्छ, ठूलो हुन्छ भन्ने मात्र थाहा हुन्छ, कुन मलमा के छ भन्ने कुरा थाहा हुँदैन । यहाँसम्म कि गोबरमलमा के छ, कति प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन । यो मल राम्रो, मलिलो हुन्छ भन्ने परम्परागत ज्ञान बाहेक अरु महत्व बारे थाहा छैन । यसरी हाम्रोमा धेरै नै परम्परागत खेती मात्र हुँदै आइराखेको छ र हँुदैछ । फिल्डमा बसेर धेरै किसानको खेती गराई मैले हेरेको छु, ऋण बाडेको छु, ऋण असुल गर्न आफै गएको छु । ऋण तिर्न किसानहरुलाई गाह्रो भएको धेरै देखेको छु । एक लाख ऋण लिएका किसानले २० हजार मात्र खेतीमा खर्च गर्छन् अरु अन्तै खर्च गर्छन्, बाध्यता त्यस्तो छ । त्यसले गर्दा पनि किसानले ऋण तिर्न सक्दैनन् ।

नेपालमा मानविकी, व्यवस्थापक, साइन्स, कम्प्युटर, होटल म्यानेजमेन्टलगायत धेरै विषयका कलेजहरु छन् तर कृषि पढ्ने कलेज, विश्वविद्यालय नेपालमा कति छन् भन्ने कुरा खोज्नु पर्ने अवस्था छ । अर्को कृषिमा स्नातक, स्नातकोत्तर गरेका कति मान्छेले खेती गरेका छन् ?, भन्दा सम्भवत् एकजना पनि पाइदैन । एग्रीकल्चर पढेका मान्छेले नै नेपालमा खेती गर्दैनन् भने एग्रीकल्चर नै नपढेका मान्छेले खेती गर्दा कसरी खेती अगाडि बढ्छ ? भनेपछि यसको जवाफ हामी कोहि सँग पनि छैन । त्यसैले कृषिलाई माथिदेखि नै डाइगोसेस गर्नुपर्ने हुन्छ ।

हामीले गएको आर्थिक वर्षमा दुई खर्ब बराबरको कृषिसँग सम्बन्धित सामाग्रीहरु आयात गरेका रहेछौं । यहाँ अर्जेन्टिनाको मकैदेखि लिएर धेरै मुलुकको खाद्यान्य आउँछ । त्यसरी आयात गर्न नेपाली पैसा त जाँदैन, भारु अर्थात् डलर तिरेर ल्याउछौं । अर्कोतिर हाम्रो धेरै पैसा रेमिट्यान्सबाट आउँछ र त्यो आएको पैसा पनि सबै खाद्यन्यलगायत घरायसी कामतिरै खर्च भइराखेको छ । खर्बौको आयात गरिदैं आइएका खाद्यान्य सामाग्री देशमै उत्पादन गर्न यदि रेमिट्यान्सको ९० प्रतिशत पैसा उत्पादनमा लगायौ भने त्यसैभित्र व्यवसायिकरण, एजुकेशन, बाटोघाटो बन्ने, एग्रीकल्चर कलेज खुल्नुपर्ने, पढेलेखेका मान्छेहरु लाग्नुपर्ने लगायतका सबै कुरा हुन्छ । यदि अझै पनि यस्ता कुरामा ध्यान दिएनौ भने फेरि पाँच वर्षभित्रमा अर्को पाँच खर्बको आयात गर्नुपर्ने अवस्था आउँछ । हाम्रोमा एग्रीकल्चर कलेजहरु पनि कम भयो । सबैमा मास्टर, पिएचडी गरेकै चाहिन्छ भन्ने छैन तर एग्रीकल्चरमा प्लसटु वा बेसिक गरेको मान्छे भयो भने उसले खेती राम्ररी सम्हाल्न सक्छ । खेती गर्न राम्रो बिउ चाहियो, त्यहि अनुसारको माटो तयार गर्नुपर्यो, पानी चाहियो र लगाएको बोट गाजिएर जानु पर्यो अनि मात्र राम्रो हुन्छ । त्यसैले यहाँ कृषिमा धेरै सम्भावना छ र पढेलेखेका मान्छेले नै गर्नुपर्छ ।

कृषिमा हामी कहाँ चुक्यौ ? नचुकेको भए दुई खर्ब खाद्यान्य आयात किन गथ्र्यौ, हाम्रा युवाहरु २०/३० हजार रुपैयाँ प्रति महिना कमाउन विदेश किन पलायन हुन्थे ? त्यसैले यहाँ भविष्य छ भनेर देखाउनको लागि धेरै मान्छे कृषिमा चाहिदैंन, जनसंख्याको २०/२५ प्रतिशत मात्रै लाग्यौ भने हाम्रो कृषि धेरै राम्रो हुन्छ । हुनत अहिले यहाँको अवस्था भनेको जग्गामा उत्पादन गरेर फाइदा छैन बरु जग्गा बेच्दा फाइदा छ भन्नेहरु धेरै भए । आजभन्दा ३०/४० वर्ष पहिले धान, गहुँलगायत खाद्यान्न धेरै फलाउनतिर लाग्थ्यौ तर अहिले खेतीयोग्य जमिन घडेरी बन्न थाले । ठाउँठाउँमा बाटो खोलेर घडेरी बेच्यो भने त्यसको मूल्य आउछ तर त्यसबाट दुःख गरी उत्पादन गर्दा मूल्य आउदैन, भनेपछि हाम्रो देशको पूरै जग्गामा जसलाई जे गर्न मन लागे पनि गर्न सक्छन्, कसैको रोकटोक छैन । यस्तो अवस्थालाई चाहिँ यहाँ खेती बाहेक घर घडेरी बनाउन पाइदैन भनेर बन्देज गर्नुपर्ने हो । तर, त्यो कसले गर्ने ?

किसानले दुःख गर्छन् तर उनीहरुले भाउ पाउँदैनन्, बिचौलियाले खायो भन्छौ । यहाँ के चिजमा बिचौलिया छैन र ? प्रत्येक चिजमा बिचौलिया छ, तिनीहरुलाई गाली गरेर केहि पनि हुँदैन । गाउँबाट शहरसम्म सामान ल्याएबापत बिचौलियाले केहि कमिशन खान्छ, जुन स्वभाविक हो । त्यसैले हामी त्यतातिर लाग्ने भन्दा पनि हाम्रो कृषि प्रणालीलाई नै सुधार गर्नु पर्यो । यहाँ गाउँघरबाट डोकोमा बोकेर तरकारी बेच्न ल्याउछन अनि बिक्री भएन भने फ्याकेर हिड्नु पर्ने अवस्था हुन्छ, यस्ता कतिपय किसानका मार्का धेरै देखि राखेकै छौं । मैले पाँचदेखि सात हजार किसानसँग प्रत्यक्ष भेटेर काम गरेको छु । कसैलाई ट्याक्टर दिएको छु, गाई, भैसी आदिको लागि ऋण दिएको छु तर उहाँहरुले खेती गरेर प्रगति गरेको भने एकदमै कम देखेको छु । ऋण लिएर उनीहरुले असुल गर्न नसकेको देख्दा मलाई दुःख लाग्छ ।

हामीले सामान मात्र दिएर के गर्ने त्यसको तरिका जान्नु पर्यो । खेतमा के गर्दा राम्रो फल्छ भन्ने उहाँहरुलाई ज्ञान नभएपछि त्यो खेतीले के प्रगती गर्छ र ? जस्तो पाँच कट्ठा जग्गामै लगाएको खेती हेर्यो भने एक छेउको धान राम्रो, अर्को छेउको ठिकैको र अर्को छेउको सुकेको हुन्छ, यस्तो किसिमको खेती छ । त्यसैले हाम्रोमा पनि विदेशमा गरिएको खेती जस्तै लगाएको सबै जग्गाको धान एकैनासको फल्ने हुनुपर्यो । इजराइलमा हेर्ने हो भने त्यहाँ एउटा बोट पनि नराम्रो, नफलेको हुँदैन । यसपाली पानी परेकाले धान फल्यो फलेन भन्ने भन्दा पनि हामीसँग भएको पानीलाई स्टोर गरी प्रत्येक बोटमा पानी पुर्याउनु पर्यो । तर बिडम्बना, हाम्रोमा कुनैबेला पानी धेरै भएर बिग्रन्छ भने कुनै बेला पानी नै नभएर फल्दैन । यस्ता कुरा सिकाउने मान्छे हुनुपर्छ अनि मात्र हाम्रो कृषिको उन्नती हुन्छ ।

इजराइलमा मरुभूमिमा खेती गरिराखेका छन् । त्यहाँ गरेको बोट बिरुवाबाट नफल्ने भन्ने त हुँदै हुँदैन । यहाँ एक कट्ठामा तीन मन धान फल्छ भने उनीहरुको त्यतिनै त्यस्तै जग्गामा छ/सात मन फल्छ । त्यहाँ पढेलेखेका मान्छेले खेती गर्छन् । कति फल्छ फल्दैन सबै थाहा हुन्छ, एक–एकको हिसाब हुन्छ । हाम्रो स्वर्गजस्तो यति राम्रो मुलुक सायद अरु मुलुक छैन होला साथै हामी सँग पानी, माटो, वातावरण, मान्छे सबै छ तरपनि यहाँ केहि चिजको सुविधा छैन । इजरायलमा खानेपानी पनि छैन तर उनीहरु एकएक थोपा पानीको हिसाब गरेर खेती गरेका छन् । यहाँको एउटा गाईले पाँच/छ लिटर दुध दिन्छ भने त्यहाँ एउटा गाईले ५० देखि ७० लिटरसम्म दुध दिन्छ । उनीहरुको गाईले त्यति धेरै दुध दिन्छ भने हाम्रो गाईले किन दिदैंन ? उनीहरुको गाई कुनै जादु गरेर माथिबाट आएको त होइन ? सबै मान्छेले नै गरेको हो । त्यसरी नै यहाँ पनि गर्नु पर्यो । जस्तो यहाँ कुखुरा ८/१० हप्तामा अढाई/तीन केजीको हुन्छ तर इजरायलमा त्यहि समयमा छ/सात केजीको हुन्छ, यस्ता कुरा पनि हामीले याद गर्नुपर्ने हुन्छ ।

नेपालको कृषिलाई पनि व्यवसायिकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्नुपर्छ । नेपालका ठाउँ अनुसार हाते ट्याक्टर अर्थात सानादेखि ठूला ट्याक्टर, आवश्यक मेशीनरी सामाग्री हुनुपर्छ । कुुखुरा, बाख्रा, गाईवस्तु कसरी पाल्ने ?, यदि कुखुरा, बाख्रा, गाईवस्तु पालन गर्दा उनीहरुमा केहि रोग लागेर एक्कासी मर्यो भने किसानको के हालत हुन्छ ?, त्यसैले राज्यबाट तिमी गर यदि त्यो भएन भने हामी सहयोग गर्छौ भन्ने हुनुपर्यो र सबैको इन्स्युरेन्स हुनुपर्यो जसले गर्दा किसान टाट नपल्टियोस । कृषि प्रदान भनिएको छ तर कुनै एउटा गाउँमा गाई बिरामी भयो भने त्यो गाईको औषधी गर्न बजारसम्म आइपुग्दा उतातिर गाई मरिसकेको हुन्छ । अनि त्यतिबेला गर्ने के ? त्यसैले गाउँगाउँमा बाटोघाटो, औषधीलगायतका सबै सामाग्री हुनुपर्यो र गाउँकै मान्छेलाई प्राथमिकता दिनुपर्यो अनि मात्रै हाम्रो कृषिले काँचुली फेर्ला ।

(प्रस्तुती : रीता बस्नेत)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट