बच्चा जन्माउँदैमा अभिभावकत्व पूरा हुँदैन

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

आधुनिक एवम् व्यस्त जमानामा बालबालिका सम्हाल्नु र उनीहरुलाई उचित मार्गदर्शन दिनु गार्हो काम हो । हिजो आजका अभिभावकका लागि बालबालिकाको रेखदेख ठूलो चुनौती बनेको छ । अहिलेका बालबालिका यति स्मार्ट बन्दै गएका छन् की उनीहरु माथि सहि निगरानी नराख्ने हो भनेदेखि गलत बाटोमा जान सक्ने सम्भावना तिव्र रुपले बढ्छ भन्ने कुरामा दुईमत छैन । यस्तो अवस्थामा उनीहरुको मनोविज्ञान बुझी सोही अनुरुप व्यवहार गर्नु सचेत अभिभावकको दायित्व हो ।

बालबालिकाहरुलाई हरेक कुरामा रोकटोक लगाउनु हुँदैन, उनीहरुलाई केहि कुरा सम्झाउनु नै छ भने एकान्तमा प्रेमपूर्वक सम्झाउनु पर्छ । उनीहरुलाई साथी भाईहरुका अगाडी गाली गर्ने, कराउने, झपार्ने जस्ता काम गर्दा उनीहरु अटेरी त हुन्छन् नै उनीहरुमा अभिभावक प्रतिको प्रेम र सम्मान घट्दै जान्छ ।

बालबालिकालाई बाल्यकालदेखि नै धन्यवाद र माफीका बारेमा राम्रोसँग बुझाउनु पर्छ । घरमा आएका पाहुनालाई यथोचित सम्मान गर्न सिकाउनुपर्छ । उनीहरुमा सहि आचरणको बिरुवा बाल्यकालदेखि नै रोप्नुपर्छ । यसका लागि उनीहरुको कुनै काममा सहयोग गरे धन्यवाद तथा गल्ती गरेमा माफी माग्न सिकाउनुपर्छ ।

कहिलेकाही बालबालिकाको जिद्दीलाई बुझिदिने प्रयास गर्नुपर्छ । उनीहरुको जिद्दीलाई स्वाभाव नसम्झिकन बालसुलभताका रुपमा बुझ्नुपर्छ । अभिभावकले होसियारी पूर्वक सम्हाल्न सके उनीहरुको स्वभावमा क्रमिक रुपले कमी आउँछ । आफ्ना बालबालिकालाई कहिलेकाँही बोल्ने मौका दिनुपर्छ । उनीहरुका कुरा ध्यान दिएर सुुन्नुपर्छ । आम नेपाली परिवारमा अभिभावकले बोल्ने तथा बालबालिकाले सुन्ने चलन छ तर ठुला मान्छेले पनि बालबालिकाका कुरा सुनिदिनुपर्छ । बालमनोविज्ञानको तथ्य अनुसार बालबालिकाहरुले स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्न पाए भने र अभिभावकले सुनिदिए भने उनीहरुलाई सहि दिशा निर्देश गर्न सकिन्छ ।

हिजो आज अभिभावक र बालबालिकाबीचको दुरी त्यति लामो छैन । उनीहरुबीचको सम्बन्ध साथीको जस्तै भईसकेको छ तर त्यस्तो अवस्थामा एक निश्चित सिमा निर्धारण गर्नु आवश्यक छ र यसो गर्न सके आफ्नो अभिभावकत्व सुरक्षित राख्न सकिन्छ ।

अर्काको बालबालिकासँग आफ्नो बालबालिका तुलना गर्नु हुँदैन । यसले बालबालिकामा त्रासको भावना उत्पन्न हुँदै जान्छ । यसका अतिरिक्त स्कुलमा धेरै अंक ल्याउने विद्यार्थीसँग आफ्ना बालबालिकाको तुलना गर्नु हुँदैन । हरेक बालबालिका व्यक्तिगत रुपमा फरक हुन्छन् । उनीहरुको क्षमता माथि हौसला प्रदान गर्न अभिभावकको कर्तब्य हो । बालबालिकालाई अनुशासित र जिम्मेवार बनाउन सर्वप्रथम आफू अनुशासित हुनपर्छ । अभिभावकको लापरवाहीको असर बालबालिकामा तुरुन्तै देखापर्छ र उनीहरुको मनोवृतिमा असर हुँदै जान्छ । बालबालिकालाई आफ्नो पारिवारिक झगडा र मनमुटावको हिस्सा बनाउनु हुँदैन । उनीहरुका अगाडी पारिवारिक, राजनीतिक झैझगडा र मनमुटावको बारेमा चर्चा गर्नु हुँदैन यसले बालबालिकाको दिमागमा नकारात्मक असर पर्छ ।

बालबालिकासँग बढि अपेक्षा गर्नु हुँदैन । प्राय अभिभावकहरु आफ्ना अधुरा महत्वकाङ्क्षा तथा पूरा हुन नसकेका सपनाहरु आफ्ना बालबालिकामा लाद्न खोज्छन् । यसले बालबालिका कुण्ठीत हुँदै जान्छन र आफै भित्रका इच्छाहरु मार्न थाल्छन् । बालबालिकाका अगाडी कसैलाई गाली गर्नु वा अपशब्द बोल्नु हुँदैन । उनीहरुका अगाडी झुटो पनि बोल्नु हुँदैन । आफ्ना बालबालिकाका लागि प्रशस्त समय निकाल्नुपर्छ, उनीहरुको माग र आवश्यकताबारे गम्भीर भएर सोच्नुपर्छ । बालबालिकाको दिनचर्या र उनीहरुको व्यक्तिगत विकासमा सामेल हुनु र उनीहरुको सम्पूर्ण गतिविधिहरुको रेखदेख गर्नु अभिभावकको कर्तब्य हो ।

कुनै पनि पारिवारिक जमघट, विवाह, ब्रतबन्ध, पास्नी लगायतका कार्यक्रममा बालबालिकालाई सँगै लैजानुपर्छ । यसले बालबालिकालाई सामाजिक हुन सिकाउनुका साथै आफ्नो रितिरिवाज तथा परम्पराको बारेमा थुप्रै जानकारी दिन्छ । बालबालिकाको मनोविज्ञानभित्र कुनै जिज्ञासा वा प्रश्न छ भने हप्काएर चुप लगाउने वातावरण बनाउनु हुँदैन । समझदारीपूर्वक उनीहरुको प्रश्नको उत्तर दिएर मन शान्त बनाउने प्रयास गर्नुपर्छ । कतिपय अभिभावकहरुले आफ्ना बालबालिकालाई यत्ति बढि स्वतन्त्रता दिन्छन् की उनीहरु लापरवाह बन्दै जान्छन् कुनै प्रकारको सीमा वा अङ्कुश लगाउँदा बालबालिका बिग्रने डर हुन्छ ।

बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउनुपर्छ । कतिपय अभिभावकले आफ्ना बालबालिकालाई यति धेरै माया गर्छन् त्यसले बालबालिकालाई परनिर्भर बनाईदिन्छ । बालबालिकाले बिगारेका खेलौना र भुईमा छरेको कलर, पेन्सिल छरपस्ट पारेका खेल्ने वस्तुहरु उनीहरु आफैँलाई मिलाउन दिनुपर्छ । उनीहरुका हातबाट कुनै वस्तु भुईमा खसेमा उनीहरुलाई आफै उठाएर राख्न लगाउन पर्छ । यसो गर्दा उनीहरु बाल्यकाल देखि नै आत्मनिर्भर बन्न थाल्छन् ।

हाम्रो जीवनमा जहिल्यै पनि स–साना कुराहरुको ज्ञान खड्कीरहेको हुन्छ । हामीलाई लाग्छ सबैभन्दा ज्ञानी, बुझकी, समझादार र जान्ने म नै हुँ तर तर त्यस्तो कदापी सोच्नु हुँदैन किनकी यो सोचाई “म ज्ञानी छु” यो सोचाई मात्र हो । आफ्ना बालबच्चालाई जिउने कलातर्फ प्रेरित गर्नुपछ । उनीहरुलाई प्रेरित गराउन बिनम्रता, धैयर्ता, क्षमा, सत्य र समझदारको पक्षमा रहन सिकाउनुपर्दछ । यी माथिका कुराहरु प्रति आफ्ना बालबालिकालाई प्रेरित गराउन सकियो भने छोराछोरीबाट पाउने आनन्द, सुख र खुशी मिल्छ । जबसम्म सन्तानप्रति अभिभावकले आफ्नो कर्तब्य निभाउन सक्दैनन् तब सम्म जीवनको वास्तविक आनन्द आउन सक्दैन ।

(प्रतिक्रियाका लागि : [email protected])

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 


ताजा अपडेट