झापामा तीन दलको गठबन्धन भएकाले बाम गठबन्धनको जित सुनिश्चित छ : देवराज घिमिरे

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

झापाका सिङ्गो जिल्लाको पाँचैवटा प्रतिनिधिसभाका उम्मेदवारहरु र १० वटा प्रदेशसभाका उम्मेदवारहरुको निर्वाचन परिचालन समितिको संयोजक भएर निरन्तर काममा खटिराखेका एमाले पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका समानुपातिक उम्मेदवार देवराज घिमिरे भन्छन्, ‘समानुपातिकले पाउने मतलाई व्यवहारिकतामा ल्याउन जिम्मेवार भएर लागिराखेको छु, जसले गर्दा मेरो जित सुनिश्चित छ ।’ उनै उम्मेदवार घिमिरेसँग सहकर्मी प्रकाश आचार्यको सहयोगमा झापामा भइराखेको निर्वाचन चहलपलहबारे रिपोर्टर नेपालकी रेनु कार्कीले गरेको कुराकानी  :

चुनावको प्रचारप्रसारमा कत्तिको व्यस्त हुनुहुन्छ ?
यसपाली हाम्रो प्रचारप्रसार देशव्यापी रुपमा छ । एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण गर्ने निर्णयका साथ अर्थात अहिले एकीकरण नगरी समन्वयका साथ निर्वाचनमा उम्मेदवारहरु आइराखेकाले हाम्रो पक्षमा आम जनलहर छ । कम्युनिष्टको शासन आउन लाग्यो भन्ने डरले पहिला फैलाइराखेका भ्रमहरु जस्तोः कम्युनिष्टले बुढाबुढीलाई मार्छ, छोराछोरी भन्न पाइदैन भन्ने जस्ता कुप्रचारहरु अहिले पनि कांग्रेसले निरंकुशता लाद्छ, रुनसम्म पाइदैन भन्नेलगायतका भ्रमहरु फैल्याइराखेको छ । तर यस्ता कुराहरुले कांग्रेस आफै कमजोर भएर गइराखेको छ भने उता जनताहरु बाम गठबन्धनको सरकार बन्ने रहेछ र बनोस, एकचोटी भोगौ भनिराख्नु भएको छ । किनकि आम जनताले कम्युनिष्टलाई बुढाबुढीमाथि सुविधा, न्याय गरेको छ, यसलाई अरु पनि गर्ने मौका दिनुपर्छ भनिराखेका छन् । झापामा अहिले हाम्रो विशिष्ट परिस्थिति छ । विशिष्ट परिस्थिति भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि हामीले झापाको एउटा क्षेत्रमा प्रतिनिधिसभामा सहयोग गरेका छौं । झापाको सबै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको छ । यस कारणले तीनवटा दलको गठबन्धन झापामा भएकोले निर्वाचनमा एमालेलाई धेरै अनुकूल छ अर्थात बाम गठबन्धनलाई अनुकूल छ र जीत पनि सुनिश्चित छ । त्यसैले यसलाई हामीले राष्ट्रवादी गठबन्धन भनेका छौं । झापामा राष्ट्रवादी गठबन्धन धेरै अगाडि भएकाले यसबाट आत्तिएर प्रतिस्पर्धी कांग्रेस चुनाव नजिक आउदाखेरी जथाभावी बोल्नेलगायतका कुराहरु गरिराखेको छ । तर आम जनताले बाम गठबन्धनलाई जिताउने सुनिश्चित छ ।

जित्नु हुन्छ त ?
जित्ने मात्र होइन, एकदमै ठूलो अन्तरले जितिन्छ । हाम्रो पार्टी अध्यक्षले न्यूनतम ३० हजारको अन्तरले जित्नु हुन्छ । यहाँ कांग्रेस उम्मेदवारहरुले जित्दैनन् ।

जित्नका लागि के कस्ता एजेण्डा बोकेर हिड्नु भएको छ त ?
हाम्रो समाजलाई अहिलेको नयाँ संविधानले नयाँ संरचनाको आधारमा आमूल परिवर्तन गर्ने लगायतका एजेण्डाहरु बोकेर हिडेका छौं । अहिलेसम्म भइरहेको शिक्षालाई आमूल परिवर्तन गरेर सबैलाई सुलभ र व्यवहारिक शिक्षा उपलब्ध गराउने, स्वास्थ्यमा आम जनतालाई स्वास्थ्य उपचारमा शुलभता ल्याउने, सुकुम्बासीका समस्या समाधान गरेर दुई वर्षभित्रमा प्रत्येकलाई घरको व्यवस्था गर्ने आदि छन् । त्यस्तै, सिंचाई हुने जमिनहरुमा पाँच वर्षभित्रमा पूरै सिंचाईको प्रबन्ध गर्ने देखि लिएर पाँच वर्षे स्थायी सरकार चलाएको खण्डमा यातायात, शान्ति सुरक्षा, प्रशासनलाई पारदर्शी र निष्पक्ष छिटो छरितो बनाउने र जनताले अनुभूत गर्ने गरीको आर्थिक समृद्धिका योजनाका साथ हामी अगाडि बढ्छौं ।

मत माग्न जनतासमक्ष जाँदा उहाँहरुबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
एमाले बाम भएर आयो यसलाई भोट दिनु पर्छ, यसले केहि गर्न खोजेको छ, स्थायी सरकार नहुँदा यसले गर्न चाहेर पनि गर्न नपाएको अवस्था थियो भन्ने कुरा यहाँका मतदाताहरुले बुझ्नु भएको छ । यहाँ स्थानीय चुनाव पछि फर्केर आएनन् अहिले फेरि मत माग्न मात्र आउनु भयो भन्ने जनगुनासा खासमा झापामा छैन । प्रतिनिधि आयो कि आएन भन्ने भन्दा पनि प्रतिनिधिले यहाँ काम गर्यो कि गरेन भन्ने कुरा यहाँका जनताले बुझेका छन् ।

मत माग्न जाँदा तपाईंसँग मतदाताले के कस्ता माग गर्छन त ?
तपाईंले बोलेका कुरा पुर्याउनु हुन्छ त ?, भन्छन् र कुनैकुनै ठाउँमा काम गर्नु हुन्छ भन्ने आधारहरु के हुन भन्नुहुन्छ । आधारहरुमा विगतमा हामीले सरकार चलाउँदा गरेका व्यवहारहरु हुन भनेपछि उहाँहरु चित्त बुझाउनु हुन्छ ।

तपाईंको प्रतिस्पिर्धीले पनि मेरो जित सुनिश्चित छ भन्नु हुन्छ नि ?
प्रतिस्पिर्धीसँग हामीले अगाडि सारेका कार्यक्रमलाई चुनौती गर्ने गरीको दस्तावेज पनि छैन र जवाफ पनि छैन । हामीले अगाडि सारेका कार्यक्रमका अतिरिक्त कांग्रेसले कम्युनिष्टहरु भनेको निरंकुशतावादी हुन, कम्युनिष्ट तानाशाही लाद्छन, कम्युनिष्टले चुनावनै गराउँदैनन् भन्ने मात्र गर्छन् । कम्युनिष्टले धर्मकर्म मान्दैनन् या धर्म स्वतन्त्रता हनन हुन्छ लगायतका अन्धविश्वासका कुराहरु गर्ने बाहेक हाम्रा कार्यक्रमलाई चुनौती दिने केहि प्रतिस्पर्धी कुराहरु मेरो वा हाम्रो पार्टीको प्रतिस्पर्धीसँग छैन् र यहाँका मतदाताले उहाँका कुरा पत्याउदा पनि पत्याउँदैनन् । त्यसैले जित मेरो सुनिश्चित छ ।

कांग्रेसले कम्युनिष्टको सरकार आयो भने देशलाई राम्रो हुँदैन भनिराखेका छन् नि ?
उनीहरु आपूmले २० वर्षसम्म शासन गर्दा कुनै नयाँ कुरा गर्न नसक्ने, एमालेले एक्लैले गरेको कुराको चाहिँ विरुद्धमा जाने ? एमालेले आफ्नो गाउँ आफै बनाऔं भनेर गाउँमा बजेट पठाउँदाखेरी कांग्रेसले बजेट कनिका छरेजस्तो गरेर समाप्त गर्यो भने । तर उ सरकारमा आउदा तिनै कुराहरुको प्रतिनिधित्व गर्यो । त्यस्तै हामीले दिँदै आएको वृद्धभत्तालाई लिएर अहिले उ वृद्धभत्ता यति उति दिन्छौ भन्ने ठाउँमा पुगेको छ । घरघरमा दुई हजार रुपैयाँ वृद्धभत्ता पुर्याराखेका छौं र फेरि सरकारमा पुग्यौ भने त्यसलाई बढाएर पाँच हजार पुर्याउछौ भनेर त हामीले घोषणै गरेका छौं । यसले गर्दा कांग्रेसले कम्युनिष्टको शासन लागू हुँदैन भनेका कुरालाई जनताले पत्याउने आधारै समाप्त भएर गएको छ । बरु एमालेले गरेको कार्यक्रमहरुलाई नै कांग्रेसले अनुशरण गर्न खोजिराखेका छन् । कम्युनिष्ट राष्ट्र निर्माण गर्ने कुरामा राष्ट्रविरोधी हुन्छन्, अन्तर्राष्ट्रिय विरोधी हुन्छन्, नेपालीको पहिचान हराउछ आदि इत्यादि जनताले नपत्याउने खालका कुरा गरेर अहिले कांग्रेस हिडेका छन् । तर यस्ता कुरा जनताले अब पत्याउँदैनन् ।

मतदातालाई के भन्न चाहनु हुन्छ ?
मतदाताहरुलाई आग्रह गर्न चाहन्छु, बाम गठबन्धनलाई विजयी गराउनुहोस । जसले गर्दा स्थिर सरकार बन्ने छ र त्यही सरकारले आम जनताका समस्याहरुको समाधान गर्ने छ । कुनै खालका भुल भुलैयाहरुमा नपर्नुहोस । त्यसैगरी पार्टीले समानुपातिकमा पनि जेहेन्दार इमानदार नेताहरुलाई अगाडि सारेको छ । सूर्य चिन्हमा मतदान गर्नुहोस र यो निर्वाचनमा भ्रमलाई चिरेर अगाडि बढ्नहोुस । इतिहासले तपाईंहरुलाई मौका दिएको छ । संविधान कार्यान्वयन गरेर हेर्ने मौका बाम गठबन्धन बाहेक अरुबाट हुँदैन भन्ने कुरा बुझ्नुहोस भन्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट