मेट्रो रेलसेल त म जान्दिन तर भएका बाटोको खाल्टो पुरेर पीच गर्नेसम्मको काम गर्छु : सुबुना बस्नेत

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

उद्यमशीलता विषयमा पूर्ण छात्रवृत्तीमा स्नातकोत्तर(एमबीए) सम्मको अध्ययन सकेर बसेको दुई वर्ष भएको बताउने विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं.४ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सुबुना बस्नेत भन्छिन्, ‘युवाहरुलाई उद्यमशील क्षेत्रमा लाग्नको लागि प्रेरित गर्ने काम गर्छु र गर्दै आएको छु । यसको अलवा मैले गाउँका लोकल घिउ, खुर्सानीलगायतका अर्गानिक खाद्यान्य सामान ल्याएर काठमाडौंमा बेच्ने काम गर्छु ।’ जन्म इलाममा भए पनि एसएलसीपछि बाहिरै बसेर संघर्ष गरेकी बस्नेत भाई र आफ्नो पढाई खर्चलगायतका जिम्मेवारी आफै उठाउँदै आइरहेकी छिन् । पार्टी भित्रको उद्यमशीलता विकास प्रतिष्ठान अभियान विभागको नेतृत्व गरेको बताउने उनी विभागभित्र बसेर २५ सयभन्दा बढी युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित गरेको र आफू स्वयम् पनि काम गरिराखेको बताउँछिन् । विभिन्न सामाजिक कामहरु जस्तोः भूकम्पको बेला राहत बाड्ने, उद्धारको काममा खट्टिने, नेपाल बन्दको विरोध अभियानमा लाग्ने, डा.गोविन्द केसीको अभियानहरुमा सरिक भएर उनका मागहरु पूरा गर्न सरकारलाई दबाब दिने, युवाहरुलाई रक्तदानमा संलग्न गराई हजारौं मानिसहरुको जीवन जोगाउने अभियानको सधैं नेतृत्व गर्दै आएको बताउने उनै उम्मेदवार बस्नेतसँग रिपोर्टर नेपालका लागि रीता बस्नेतले गरेको कुराकानी :

राजनीतिमा नयाँ अनुहार(फ्रेस) र सानै उमेरको देखिनुहुन्छ, कसरी पार्टीले तपाईंलाई पत्याएर उम्मेदवार बनायो त ?
सानो उमेर भन्दा पनि अझ ढिलो पो भयो कि जस्तो लाग्छ । युवाहरुको लागि नेपालको कानुन नै अलि विभेदकारी छ । प्रतिनिधिसभाको लागि उम्मेदवारी दिन १८ वर्ष पुगेपछि दिनु पर्छ । किनभने १८ वर्षपछि मत हाल्न सक्नेले नेतृत्व गर्न पनि सक्ने क्षमता भइसकेको हुन्छ र अहिले हामी प्राविधिक युगमा छौं । आफू २५ वर्षको उमेर कुर्नु पर्यो, यो भन्दा अगाडि दोस्रो संविधानसभाको निर्वाचनमा नै उठ्न पाएको भए उठ्थे होला । किनभने म अगाडिदेखि नै राजनीतिमा छु । विद्यार्थी राजनीतिभन्दा पनि वैकल्पिक राजनीति शक्ति स्थापना नेपालमा गर्नुपर्छ भनेर म १७/१८ वर्षदेखि जागरण लिएर हिडेको मान्छे हुँ । भनेपछि मैले नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै, बुझ्दै, पढ्दै आइराखेकोले अहिले ठ्याक्कै २६ वर्ष पुगे र उठ्ने इच्छा पनि देखाए । साथै, मेरो पार्टीले पनि युवा र महिलाहरुलाई एकदमै राम्रो स्थान दिइराखेको छ । काठमाडौं भित्रबाट मात्रै हाम्रो पार्टीको तीनवटा प्रत्यक्षमा महिला उम्मेदवार छ र युवाहरु पनि ठूलो संख्यामा छौं । विवेकशील साझा पार्टीले हामी युवाहरुलाई विद्यार्थी राजनीतिमा मात्र होइन अब मुख्यस्तरको राजनीतिमै युवाहरुको खाँचो छ, भन्छ । मलाई पनि त्यहि नै सहि हो जस्तो लाग्छ । मान्छेहरुलाई भ्रममा पारेर नेपालमा चाहिँ युवाहरुलाई राजनीतिमा लगाउने कुरामा ४० काटेका मान्छे पनि युवा नै हो र सोचले पो युवा हुने हो भनेर गलत नेतृत्व(मिसलिड) गरिराखेको छ । यसले गर्दा कहिल्यै पनि १६ देखि ४० वर्षसम्मका जो साच्चिकै युवा हुन उनीहरुलाई राजनीतिमा स्थान नै दिइएन । तर हाम्रो पार्टीमा म भन्दा धेरै जान्ने बुझ्ने कम उमेरका युवाहरु आइसकेका छन् । त्यस्तै, पाँच/छ जना महिला लिडरहरु आइसकेका छन्, जो १८, १९ वर्ष उमेरका छन्, जसले भर्खर भोट हाल्न पाउदैछन् । तर, उनीहरु सबैमा राजनीतिक चेतना धेरै छ, काम पनि गरिराखेका छन् भनेपछि खासमा म त बुढो भइसके । हाम्रो पार्टीले मलाई यो भन्दा अगाडि पनि मौका दिन्थ्यो नै होला सायद र यो पल्ट मैले इच्छा जनाउदा कुनै विभेद नगरिकन मौका दियो ।

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
करिब ७०/८० प्रतिशत घरदैलो कार्यक्रम सकियो र केहि घरहरु बाँकी छन् । बिहान बेलुकै हिडिराखेका छौं । दुइवटै प्रदेशको उम्मेदवारहरुले सँगसँगै कार्यक्रमहरु पनि गरिराख्नु भएको छ । म चाहिँ कहिले यता कहिले उता दिन बिराएर हिडिराखेको छु ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
युवाहरुले नै गर्ने हो, तपाईंहरु नयाँ नै चाहियो भन्ने खालको प्रतिक्रिया पाइराखेको छु । मैले भेटिराखेका मतदाताहरुले उल्लासपूर्ण तरीकाले प्रोत्साहन दिइराख्नु भएको छ, जुन मैले कल्पना गरेको भन्दा धेरै नै राम्रो छ । क्षेत्र नं.४ का मतदाताहरुले मलाई एउटा छोरी, नातिनी जस्तो व्यवहार गरेर राम्रो स्वागत गर्नु भएको छ । मैले भेटेका सय/दुई सय मान्छेमा तीन/चार जनाले मात्र अलिकति होर, गर्ला र ? जस्तो कुरा गर्नुहुन्छ नत्र भने सबैले हामीले त तराजुलाई नै भोट दिने हो भन्नु हुन्छ ।

कांग्रेस र वामगठबन्धनका अनुभवी युवा उम्मेदवारलाई मतदान गर्न छाडेर तपाईंलाई मतदान गर्नु हुन्छ भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म के भन्छु भने, कसैले मैले दश वर्ष टाइपराइटर चलाएको अनुभव छ भन्नु मात्र ठूलो कुरा होइन । तर, त्यो अनुभवले के नतिजा लिएर आयो त भन्ने कुरा ठूलो हो । र, यो क्षेत्रको नेतृत्व गर्ने उहाँहरु जस्तो व्यक्तिले एक दशकसम्म मौका पाइसक्नु भएको छ । पूर्व नेतृत्वहरुले एक दशकसम्म यो क्षेत्रको नेतृत्व गरिराख्दा देखिने परिवर्तन के भयो त ?, भन्ने कुरामा मतदाताहरु त्यति विश्वस्त नभएको मैले पाएको छु । यस्ता कारणले गर्दा पनि मतदाताहरुले नयाँले केहि गर्ला भन्ने आशा, विश्वास, अपेक्षा गरिराख्नु भएको छ र क्षेत्र नं.४ बाट मत परिवर्तन हुने एकदमै सम्भावना देखिन्छ ।

जित्नु नै हुन्छ त ?
मैले अहिले चुनाव अगाडि जित्छु भनेर भनि हाले भने मतदाताहरुको अपमान हुन्छ । तर अहिलेको मेरो माहोल हेर्दा एकदमै जित्ने सम्भावना छ र जित्छु भन्नेमा आशावादी छु । म उम्मेदवारमा उठिरहदा कसैको मत काट्न भन्ने आदि इत्यादि हल्लाहरु आएको छ तर यो सब झुठ हो । म कसैको मत काट्न भन्दा पनि जित्नकै लागि उठेको हुँ । पुराना र काम नगरेका पार्टीलाई पाखा लगाएर काम गर्ने नेतृत्व आउनुपर्छ भन्ने हेतुले म नयाँ नेतृत्वबाट आएको हुँ । पुराना पार्टीबाट वाक्क दिक्क भएका मतदातासामु म यसरी आउँदा जित्ने माहोल पनि छ र जित्छु भनेर विश्वास गर्छु ।

मत माग्दा जाँदा मतदाताले कस्ता समस्याहरु तपाईंलाई तेर्साउँछन् त ?
समस्याहरु त धेरै नै छन् । मत माग्न जाँदा मतदाताहरुको समस्याका केहि भिडियोहरु पनि बनाएर मैले फेसबुकमा हालिराखेको छु । सबैको पहिलो माग भनेको धुवा, धुलो मुक्त गर्नु नै हो । यो क्षेत्रको बाटोघाटोमा एकदमै समस्या छ । यहाँका भित्री बाटो त छोडिदिऊ, रिङरोड भित्रकै गौशालादेखि चावहिलसम्मको बाटो हेर्नु भयो भने नै थाहा हुन्छ, यो क्षेत्रले कति राम्रो नेतृत्व पाइराखेको थियो भनेर । त्यसैले सबैको माग धुवा, धुलो नियन्त्रण र बाटोघाटोको मर्मत भन्ने छ । खानेपानीको समस्या बुढानिलकण्ठ नगरपालिकामा वा महानगरपालिकामा होस जताततै छ । त्यस्तै गरेर भूकम्पले ध्वस्त बनाएको सांस्कृतिक सम्पदालगायतका मन्दिरहरु जस्तो पशुपतिक्षेत्र भित्रकै जयबागेश्वरी मन्दिरको गजुर अहिलेसम्म ठडिएको छैन । यस्ता समस्याहरु टन्नै छन् । प्राथमिकताको आधारमा हेर्ने हो भने बाटो, खानेपानी, संस्कृत सम्पदाको संरक्षण, खुल्ला चौरहरु, खेल्ने मैदानहरुको अभाव छ र मतदाताले यिनै समस्याहरुको माग गर्नु हुन्छ ।

तपाईंको क्षेत्रका मतदाताले विवेकशील साझा पार्टीले के गर्छ र, तपाईंलाई भोट हालौं भन्नु हुन्न ?
भन्नु हुन्छ । मेरो प्रमुख एजेण्डा भनेको बाटोहरु निर्माण र खानेपानीमा नै तिब्रता दिने हो । अहिले मेट्रो रेलसेल त म जान्दिन तर भएको बाटोको खाल्टो पुर्ने र पीच गर्नेसम्मको काम गर्छु । त्यसको लागि यो ठाउँमा बजेट पनि आएको छ । करिब साढे पाँच अर्ब बजेट आएको कुरा त गगन थापाजीले पनि अन्तरवार्ताहरुमा भनिराख्नु भएको छ । तर भनेको तीन वर्ष भइसक्यो काम हुँदैछ अर्थात नतिजा आइराखेको छैन । मैले के भनिराखेको छु भने यो बाटो बन्न तीन वर्ष कहिँ पनि लाग्दैन र लाग्नुपर्ने प्राकृतिक समय हुँदै होइन । भ्रष्टाचार विरोधी मेरो प्रमुख एजेण्डा हो त्यसैले भ्रष्टाचारको नियन्त्रण गर्नेछु र जस–जसले यो कामलाई अड्काइराखेका छन् ती कुराहरु प्रष्ट पारेर जनता समक्ष सम्बन्धित मान्छे वा व्यक्तिहरुको बारेमा जानकारी गराउँछु । यसरी कारवाहीको प्रक्रियामा ल्याएर बाटोघाटोको तिब्रता दिनको लागि प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर म पहिलो काम त्यहि नै गर्नेछु । अर्को कुरा धेरैलाई थाहा भएकै हो र मतदाताहरुले पनि पत्याइराख्नु भएको छैन किनकि तपाईंले हेर्नु भयो होला दुई दिनमा गोपीकृष्ण हलदेखि चावहिलसम्मको बाटो रातारात पीच भइसक्यो । पाँच वर्षदेखि धुलो खाइएर बसिराखेको बाटो आज रातारात पीच भइराख्दा देशमा विधिको शासन कमजोर छ, भ्रष्टाचार भइराखेको छ, चुनावमा भोट बजाउनको लागि मात्र यो सब गरिएको हो भन्ने कुरा प्रष्टै छ । यस विषयमा केहि मतदाताले मात्र जे भए पनि पीच त भयो भन्ने कुरा गर्नुहुन्छ तर धेरैजनाले चाहिँ ललीपप देखाएर बच्चालाई फुस्ल्याए जस्तो भयो भोट माग्ने बेलामा भनिराख्नु भएको छ । अहिले पीच गर्नेलाई धन्यवाद दिनु पर्छ तर भविष्यमा भोट कसलाई गर्ने भन्ने कुरा पनि हामीलाई थाहा छ भन्नेखालको कुरा मतदाताको छ ।

भोट माग्न जाँदा कुन उमेरका मतदाताहरुबाट बढी प्रोत्साहन पाइराख्नु भएको छ ?
सबै उमेरका व्यक्तिहरुबाट प्रोत्साहन पाइराखेको छु । बुढापाकासँग भेट्दा उहाँहरुले तिम्रै उमेरकी मेरी छोरी विदेशमा छे भनेर घरमा नभएकोमा दुःख व्यक्त गर्दै मलाई आर्शिवाद दिइराख्नु भएको छ । युवाहरुले मिडियामा, फेसबुकमा मैले तपाईंलाई देखेको थिए । हाम्रो युवा जनताको लागि तपाईंले राम्रो प्रतिनिधित्व गर्नु भएको छ भन्नु हुन्छ । काठमाडौं महानगरपालिकामा बढिजसो घरका छोराछोरीहरु विदेश गएकै हुनुहुन्छ, घरमा हाम्रो उमेरको मान्छे नै हुनुहुन्न । तर बुढानिलकण्ठ नगरपालिकामा भने हाम्रो उमेरका प्रतिनिधित्व धेरै हुनुहुन्छ । त्यसैले बुनपाको युवाहरुले मलाई एकदमै साथ दिइराख्नु भएको छ भने महानगरपालिकातिर बुबाआमाहरुले साथ दिइराख्नु भएको छ ।

मतदातालाई के आग्रह गर्न चाहनु हुन्छ ? 
हामी सधैं परिवर्तन चाहियो मात्र भन्छौं र मलाई पनि परिवर्तन चाहिएकै हो तर परिवर्तनको सुरुवात आफैबाट हुन्छ भन्ने कुरा बिर्सन्छौं । ७० वर्षदेखि एउटै चुनाव चिन्हमा भोट हालिराख्छौं तर चुनाव चिन्ह परिवर्तन नभइकन परिवर्तन आउदैन भन्नेमा म आग्रह गर्न चाहन्छु । विवेकशील साझा पार्टीले शान्तिपूर्ण ढंगबाटै देशमा परिवर्तन लिएर आउँछ भनेर कटिबद्ध, प्रतिबद्ध छौं । चुनाव आएको छ, मूल्यांकन गर्ने बेला यहि हो, मैले तराजु लिएर आइदिएको छु, सबैलाई राखेर एकचोटी जोख्नुस् साथै मूल्यांकन गरेर आफ्नो मतदान गर्नुस् र विवेक पुर्याउनुहोस् भन्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट