जनताले साह्रै ठूलो माग नगरेर मठ मन्दिर, बिजुली, पानीलगायतका स–साना मागहरु राख्नुहुन्छ : गर्जबहादुर गुरुङ

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

बेलायती सेनाबाट २०५१ सालमा अवकाश प्राप्त भएपछि लगतै कांग्रेसमा आवद्ध लमजुङ क्षेत्र नं.१, प्रदेशसभा (क)का प्रत्यक्ष उम्मेदवार, गर्जबहादुर गुरुङ । वि.सं.२०४२ सालको कांग्रेसको सत्याग्रह आन्दोलनमा समेत सरिक थिए, उनी । आन्दोलनदेखि नै कांग्रेसबाट प्रेरित भएका गुरुङ कांग्रेसको १०/११/१२औँ अधिवेशनको महाधिवेशन प्रतिनिधि रहेको बताउने जिल्ला कार्यवाहक सभापति समेत भएका गुरुङसँग चुनावी सेरोफेरोमा रहेर रिपोर्टर नेपालले गरेको कुराकानी :

चुनावी प्रचारप्रसारमा कत्तिको व्यस्त हुनुहुन्छ ?
चुनावी प्रचारप्रसार, घरदैलो अभियान, प्रत्येक गाउँपालिकामा आमसभा, जिल्लाको आमसभालगायत प्राय सबै कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । केहि गाउँ, गाउँपालिकाहरुमा घरदैलो कार्यक्रमहरु चाहिँ निरन्तर जारी छ ।

चुनावमा विजयी हुन जनताको विश्वास कसरी जित्दै हुनुहुन्छ ?
अहिलेसम्म विकासका जे जति पूर्वाधारहरु भए त्यो सबै कांग्रेसको पालामा भयो । पछि जनयुद्ध सुरु भएपछि विकासका कामहरु ठप्प भए । विकासका सामग्रीहरु बिगार्ने, भत्काउने बाहेक त्यतिबेला अरु केहि विकास भएन । त्यसकारण ठप्प भएको विकासलाई कांग्रेसको जितसँगै द्रुत गतिमा विकासको मूल फुटाउने अभिभाराका साथ अगाडि बढ्ने छु । लमजुङ क्षेत्र नं.१ का जनताहरुलाई म एउटा इमानदारी, समाजसेवी, भूपू सैनिकको वरिष्ठ केन्द्रीय सदस्यको नाताले भन्न चाहन्छु कि, मैले भूपू नेपाली सेना, भारतीय सेना र ब्रिटिस सेनालाई हेर्नैपर्छ । भारतीय सेनाबाट प्राप्त भएका अनुदानलाई नेपालको विकास निर्माणमा जस्तोः बाटोघाटो, पुल, स्कुल, भवन, कलेजलगायतका निर्माणका काममा खर्च गर्ने छु । मैले पहिले देखि नै ब्रिटिस सेनाबाट प्राप्त अनुदानहरुलाई पनि धारा, पानी, बिजुली, स्कुल बनाउने ठाउँमा धेरै सहयोग गरेको छु । गाउँमा सेनाबाट अवकाश प्राप्त ७०/८० वर्ष पुगेकाहरुले पेन्सन नपाएर अप्ठ्यारो परिराखेको अवस्थामा त्यो सुविधाको लागि पहल गरेर उहाँहरुको हक अधिकार दिलाइदिएको छु । पार्टीले पनि विश्वास गरेर उम्मेदवार बनाएको हुनाले जनताले रुख चिन्हमा मतदान गरेर कांग्रेसले जितिसकेपछि यसले केहि गर्छ भन्ने कौतुहलता जनताबाट पाएको महसुस मैले गरेको छु ।

तपाईंका विशेष एजेण्डाहरु के के छन् ?
लमजुङ भौगोलिक, सांस्कृतिक हिसाबले अत्यन्तै सुगम र धनी छ । त्यस्तै, कृषि, जलविद्युत, पर्यटनमा लमजुङ धनी भएर पनि लमजुङ क्षेत्र नं.१ मा अहिलेसम्म बाटो पीच कतै भएको छैन । त्यसैले मैले जित्नासाथ मूल बाटाहरु पिच गर्ने प्रतिबद्धता जाहेर गरेको छु । अहिलेसम्म एउटा स्नातक स्तरको क्याम्पस पनि छैन, त्यो बनाइदिने छु । नगरपालिका घोषणा गरेको छ तर एउटा टेलिफोन लाइन पनि छैन, त्यसको पनि व्यवस्था गर्नेछु । समाचार, स्वास्थ्य, खुलकुदको क्षेत्रमा स्तरोन्नती गर्नेछु । शाखा बाटोहरु बाह्रै महिना सुचारु हुने व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको छु । हाइड्रोपावरलाई वृद्धि गरेर राजस्व वृद्धि गर्ने काम गराएर बाह्य र आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्नेछु । आधुनिक कृषिलाई प्राथमिकता दिनेछु, जस्तो चिया, कपि, जडिबुटी प्रशोधनलगायतका विकासका काम गर्ने छु । यो जिल्ला धेरै कुरामा सुगम भएर पनि भौतिक र आर्थिक हिसाबमा अत्यन्तै गरिब भएको हुनाले जनताको मुहार फेर्न यि सबै काम गरेरै छाड्छु र जनता पनि मप्रति एकदमै उत्साहित हुनुहुन्छ ।

यो प्राविधिक युगमा पनि लमजुङमा भने टेलिफोन, कलेज, स्कुल, बाटोघाटोको अहिलेसम्म किन विकास नगरेर चुनावपछि नै गर्ने भनेर पर्खिएको त ?
कांग्रेसको सरकार जुन २०५६ सालसम्म भयो, त्यो बेलासम्म जे जति विकासका पूर्वाधारहरु भए तीनै अहिलेसम्म यथावत छन् । ०५६ पछि पूर्वाधारहरु ठप्प भयो । जनयुद्धले गर्दा विकास मात्र रोकिएन कि केहि मात्रामा भएका विकासका कामहरु २० वर्ष पछाडि पर्यो । तीनै तहको चुनाव सम्पन्न पछि कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानलाई कार्यान्वयन गर्ने जिम्मा कांग्रेसकै भएको हुनाले, त्यो कार्यान्वयन भइसकेपछि देशमा दिगो शान्ति हुन्छ । दिगो शान्ति भएपछि हामी सबै आर्थिक क्रान्तिमा लाग्छौ । जसले गर्दा विकास अगाडि बढ्छ र देशमा गरिबी निर्मूल हुन्छ । यिनै विविध कारणले यो जिल्लाको विकास पछाडि परेको हो अब कांग्रेसको जित पछि विकास द्रुत गतिमा अगाडि बढ्छ ।

तपाईंले जित्नु भयो भने रोकिएका कामहरुका साथै विकासको गति अगाडि बढ्ने निश्चित हुन्छ त ?
नेपालको राजनीतिमा दिनको लागि राजनीति भन्दा पनि लिनको लागि राजनीति गर्छन् । भ्रष्टचारतन्त्र, लुटतन्त्रको लागि धेरै राजनीति भइराखेको छ । म चाहिँ यस्ता कुराहरु भन्दा पृथक अर्थात जनतालाई केहि दिनको लागि राजनीति गरिराखेको छु र लमजुङका जनताले मप्रतिका यस्ता कुराहरु सबै बुझ्नु भएको छ । मलाई भोट दिँदा यो ठाउँमा केहि परिवर्तन हुन्छ भन्ने यहाँका जनताहरुको आशा र अपेक्षा भएको मैले महसुस गरेको छु ।

 

अहिले भोट माग्न जाँदा तपाईंलाई गाउँलेले कस्ता मागहरु राख्छन् त ? 
मैले माथि भनेका कुराहरु त लमजुङ जिल्लालाई नै भयो । तर म गाउँगाउँमा जाँदाखेरी त्यहाँका जनताले सानासाना कुराहरु राख्नु हुन्छ । एउटा आमा समुदायको भवन राम्रो खालको बनाइदिनुस, त्यहाँ पूजापाठ, भेला गर्न सकियोस भन्नु हुन्छ । मठ मन्दिर, वृक्षा रोपणलगायतका स–साना मागहरु राख्नुहुन्छ, साह्रै ठूलो माग इच्छा छैन, उहाँहरुको । प्रत्येक घरमा धारा होस, बिजुलीहरु नभएको ठाउँमा बिजुली होस, बाटो रेखांकन मात्र गरेकोले मुख्य त बाटो बनाइदिनु पर्यो भन्नुहुन्छ । बाटोमा ट्याक्टर पनि गुड्न नसक्ने परिस्थिति छ, त्यसलाई सूचारु गर्न पाए हुन्थ्यो भन्नु हुन्छ । यस्तै सानासाना अपेक्षा छ, जुन अहिलेसम्म भएको छैन, त्यसैले मैले जितेपछि यिनै कुराहरु गराइदिने बाचा गरेको छु ।

तपाईंका प्रतिस्पर्धीले पनि गाउँलेलाई ठूलै आश्वासन दिएका होलान नि त ? 
आश्वासन दिएकै छन् र अहिलेसम्म जितेकै पनि छन् । तर काम नभएर यहाँका जनता आजित छन् । सैद्धान्तिक नाराहरु लगाएर आकाशका ताराहरु झार्छौ झै गरेका छन् तर काम भने गरेका छैनन्, जुन यहाँका जनता प्रत्यक्षदर्शी हुन र भोगिराखेका पनि छन् । त्यसैले धेरै भाषण गरेर हुनेवाला केहि हुने रहेनछ, मान्छे इमानदारी हुनुपर्दो रहेछ भन्ने यहाँका जनताले महसुस गरिसकेका छन् । भाषण गर्ने भन्दा पनि केन्द्रदेखि जिल्लासम्म काम गर्न सक्ने पहुँच भएको र गर्न सक्ने क्षमता भएको मान्छे हुनुपर्छ ।

तपाईंको प्रतिस्पर्धीसँगको टक्कर कस्तो छ ?
अहिले जताततै मेरो माहोल एकदमै राम्रो छ । मलाई यहाँका जनताले एकचोटी जिताएर हेरौं न भनिराख्नु भएको छ । जस्तो विद्युत प्राधिकरणमा कुलमान घिसिङ जस्तो मान्छे आउदाखेरी आ…कति आए कति गए पहिला कसैले पनि लोडसेडिङ गर्न सकेको थिएन, यो मान्छेले के नै गर्ला र ?, भन्ने गर्थे । आखिरी त्यहि व्यक्तिले लोडसेडिङ अन्त्य गर्यो । त्यसरी नै पूर्वी लमजुङ प्रदेशसभा (क) मा अहिले सम्म केहि भएको छैन । १० फिट बाटो पनि पीच भएको छैन, एउटा स्नातक स्तरको कलेज पनि छैन, नगरपालिकाको घोषणा गरेको छ एउटा मेन लाइनको टेलिफोन पनि छैन । अहिलेसम्म केहि भएको छैन अब विकास निर्माणको काम चाहिँ मलाई यसले गर्छ है भन्ने लमजुङका मतदातामा परेको छ । त्यसकारण प्रतिस्पर्धीको जित भन्दा पनि मेरो जित धेरै नजिक देखेको छु ।

जित्नको लागि चुनाव प्रचारप्रसारमा कति खर्च गर्नु भयो त ?
म सामान्य भूपू सैनिक तैपनि अवकास प्राप्त भएको २३/२४ वर्ष भइसक्यो । मलाई सामान्य कालो चिया, दालभात खान पुग्छ त्यसकारण मलाई कुनै भ्रष्टचारी गर्नु छैन । लमजुङ सदरमुकाम, पोखरा, काठमाडौंमा घर बनाउनु छैन, बेलायतको त भिषै त्यागेर बसेको छु । बरु ७०/८० वर्ष पुगेकाहरुलाई नेपाल सरकार र बेलायत सरकारसँग पहल गरेर बेलायत पठाइदिने काम गरेको छु । त्यसकारणले म कुनै व्यवसायी पनि होइन र मेरो व्यापार केहि छैन । म एउटा सामान्य समाजसेवी र कांग्रेसको इमानदार कार्यकर्ता हुँ ।

मतदातालाई केहि भन्नु छ ?
एकचोटी रुख चिन्हमा मतदान गरेर कांग्रेसको तर्फबाट यो चुनावमा भोट हालेर मलाई विजयी बनाइदिनुस् । म सधैं तपाईंहरुको सेवामा समर्पित भएर काम गर्ने छु र एउटा उदाहरणीय पात्रको रुपमा प्रस्तुत हुनेछु । विशेष गरेर पूर्वी लमजुङ प्रदेशसभा(क) को मुहार फेरिदिने छु भन्ने प्रतिबद्धता जाहेर गर्दछु ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट