जिल्लामा आएका अतिथिलाई गाउँका जनताले भोट हाल्दैनन् : देवेन्द्रराज कँडेल

प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

आसन्न चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीले आ–आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यसै सिलसिलामा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसँग चुनावी चहलपहलका विषयमा गरिएको कुराकानी :

अहिलेको बाम गठबन्धनसँग चुनावी मैदानमा आउँदा कांग्रेसलाई कस्ता चुनौतीहरु देख्नु भएको छ ?
मेरो विचारमा एमाले र माओवादी केन्द्रले गरेको यो चुनाव केन्द्रीत गठबन्धन जसलाई बाम गठबन्धन भनिएको छ । यो केवल मतदातालाई झुक्याउने खेल मात्र हो, चुनाव पछि यी दुई पार्टीबीच एकिकरणको कुनै सम्भावना छैन् । त्यसले गर्दा जनताले पनि बाम गठबन्धन एक पार्टी हुन्छ भनेर उनीहरुलाई भोट पनि खसाल्दैनन् । जसले गर्दा कुनै चुनौतीबिना नै कांग्रेसको जित सुनिश्चित छ । मेरो उम्मेदवारी जितको लागि नै भएकाले यहाँका जनताले मलाई जिताउने छन् भन्नेमा पूर्ण विश्वस्त छु ।

अहिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको व्यापक चर्चा चलिरहेको बेला तपाईंले भने कुन आधारले एकिकरणको सम्भावना नै छैन भन्नु भएको ?
राजनीति सिद्धान्तमा आधारित रहेर गरिने कुरा हो । त्यसैले एमाले र माओवादी केन्द्र पार्टीबीच पार्टीगत रुपले हेर्दा कुनै पनि सिद्धान्तहरु मिल्दैनन् । जबकी सिद्धान्त नै मिल्दैन भने कसरी पार्टी एकीकरण हुन सक्छ ? माओवादी केन्द्र यदि एमालेमा विलय भयो भने माओवादी केन्द्र पार्टीले आफ्ना कार्यकर्ता र आफ््नो सिद्धान्त नै छाड्नु पर्छ । त्यसले गर्दा माओवादी केन्द्रले आफ्नो सिद्धान्त नै छाडेर एमालेमा कुनै हालतमा पनि विलय हुन सक्दैन ।

तपाईंको क्षेत्रमा बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ भन्ने सुनिन्छ, तपाईंले चुनाव जित्नु होला त ?
तपाईंले भनेको कुरा बाहिरी विश्लेषणको आधारमा निकै सही हो तर चुनावमा आन्तरिक विश्लेषण गर्न जरुरी छ । आन्तरिक र बाह्य विश्लेषण गरेर हेर्दा मैले त मेरो क्षेत्रमा म सँग चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखेको छैन । त्यसैले बाम गठबन्धनसँग चुनाव जित्न गाह्रो होइन कि बरु बाम गठबन्धनलाई मेरो क्षेत्रमा चुनाव जित्न गाह्रो हुन्छ ।

तपाईंसँग बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य घनश्याम यादव प्रतिस्पर्धी हुनुहुन्छ, उहाँलाई हराउनु होला र ?
हो मसँग चुनावी मैदानमा अहिले बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादव हुनुहुन्छ र उहाँसँग मेरो चुनावी प्रतिस्पर्धा नै हुँदैन किनकि उहाँ नवलपरासी जिल्ला निवासी नै होइन । नवलपरासी जिल्लामा पनि एमाले र माओवादी केन्द्रका धेरै साथीहरु हुँदा हुँदै रुपन्देहीबाट आएर नवलपरासीमा चुनावी मैदानमा आउनु भएकालाई त पक्कै पनि जनताले जिताउनु हुन्न । त्यही भएर उहाँ त हाम्रो जिल्लाको अतिथि हो र अतिथिसँग मेरो प्रतिस्पर्धा हुँदैन र छैन पनि ।

गाउँमा भोट माग्न जाँदा मतदाताबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
म अहिले सुनवल, परासी, सरावल, पाल्हीनन्दनलगायतका ठाउँहरुमा दैनिक नै घरदैलौमा हिडिरहेको छु । म प्रति जनताको ठूलो आशा र अभिलाशा रहेको छ । जनताका ति आशा र अभिलाषा परिपूर्तीका लागि विगतदेखि हालसम्म पनि निकै तल्लिन रहेको छु र रहने छु । चुनावी परिणामपछि जनताका आशा र अभिलाषाहरु परिपूर्तीका लागि निरन्तर काम गर्नेछु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट