बेफुर्सदिला मानिसका लागि ताजा तरकारी सस्तो मूल्यमा घरमै निःशूल्क पुर्याइदिन्छौं : हेमन्ता बस्नेत

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

‘पहिला अफिसलाई व्यवस्थित बनाउनु पर्छ र उपभोक्तालाई खुसी पारेर काम गर्न सकियो भने मात्र कन्सेप्टहरु अगाडि बढ्छन्’, भन्छिन् एनजीओमा १५ वर्ष जागिर खाएर केहि समय अगाडिदेखि मेट्रो तरकारीमा काम गर्न थालेको बताउने मेट्रो तरकारी डट कमकी प्रबन्ध निर्देशक हेमन्ता बस्नेत । स्नातक म्यानेजमेन्टबाट र मास्टर सोसीओलोजीबाट गरेकी बस्नेत अहिले गरेको कामसँग पढाई पनि मिल्ने र कामप्रति रुची भएकाले नै यस क्षेत्रमा लागेको बताउँछिन् । काठमाडौंको ट्राफिक जाम, धुलो धुवा, समयको अभावलगायत धेरै समस्याहरुले गर्दा घरको ढोकामै बजारकै मूल्यमा तरकारी, फलफूलदेखिका खाद्यन्य आउँछ भनेदेखि त्यहि नै उपभोक्ताहरुको लागि सबभन्दा राम्रो र सजिलो उपाय हो भन्ने हिसाबले मेट्रो तरकारी अगाडि बढ्दै गएको बताउने उनै बस्नेतसँग मेट्रो तरकारीको सेरोफेरोमा रहेर गरिएको कुराकानीः

मेट्रो तरकारी के हो र कहिले स्थापना भएको हो ?
मेट्रो तरकारी डट कमले बजारकै सामान किनेर उपभोक्ताहरुलाई सेवा दिने हो । बजारमा गएर तरकारी किन्न समय नहुनेहरुलाई हामीले तरकारी घरमै पुर्याइदिन्छौं । दुर्गम जिल्लाबाट अर्गानिक सामानहरु लिएर आयौं भने पनि यसरी हामीसँग अर्गानिक छ भनेर अनलाइनमा राख्छौं र ग्राहकहरुको मागअनुसार घरमा पुर्याइदिन्छौं । कृषकबाट लिएर व्यापारीले, व्यापारीबाट होलसेललाई र होलसेलबाट खुद्रा पसलेलाई दिने र त्यहि खुद्रा पसलबाट उपभोक्ताहरुले पाउने भएकाले ती सामान उपभोक्ताहरुले बजारमा किन्दा लागत बढी पर्छ । तर, हामी भने सिधैं कृषकबाट उपभोक्तामा पुर्याउने भएकोले हाम्रो सामान खुद्रा पसलेको भन्दा केहि सस्तो र ताजा हुन्छ अर्थात् बजारीकरणको चलखेल हाम्रोमा हुँदैन । अहिले हामीले १५/१६ जना कृषकहरुसँग काम गरिराखेका छौं, लोकल कृषकहरुसँग सामानहरु ल्याउँछौं र अर्डरअनुसारका खाद्यन्य सामान उपभोक्ताको घरदैलोमा पुर्याइदिन्छौं ।

यो सन् २०१२ डिसेम्बरबाट सुरु गरिएको हो । धेरैजनाले भर्खरै थाहा पाउनु भएकोले यो सुरु भएको पाँच वर्ष भयो भन्दा अचम्म मान्नुहुन्छ । मिडियाहरुमा पनि भर्खरै कभर भइराखेको छ । अनलाइनबाट ग्रोसरीको काम गर्ने मेट्रो तरकारी नेपालमा पहिलो हो । अरुअरु त अनलाइनमा काम गर्ने धेरै छन्, तर ग्रोसरी, भेजिटेबल्सहरुमा चाहिँ हामी पहिलो हो र अहिलेसम्म अन्तिम नै हो भन्दा पनि हुन्छ, किनकि अहिलेसम्म अरुले सुरु गरेका छैनन् । यो दर्ता गरेपछि सुरुका तीन वर्षजति प्राक्टिसको रुपमा मात्रै काम गरेका थियौं, यसको प्रगति के कस्तो हुन्छ थाहा थिएन । दुई वर्षपछि लगानी बढाएर मार्केट गर्न थालेका हौं । अहिले एउटा पूरै भवन भाडामा लिएर काम गरिराखेका छौं । तरकारीहरु छान्ने, प्याकिङ्ग गर्नेलगायतका कामहरु सबै यहि भवनबाट गरिराखेका छौं । ग्राहकले हाम्रो अफिसको ठेगाना, मान्छे केहि थाहा पाइराख्नु परेन, वेबसाइट हेरे पुग्यो ।

कसरी यो क्षेत्रमा आउनु भयो ?
मेट्रो तरकारी नेपालमै पहिलो अनलाइन व्यापार भएको भएर मलाई पनि यसप्रति काम गर्ने चाहाना, इच्छा थियो । म मेट्रो तरकारी स्थापनादेखि नै भोलिन्टियरको रुपमा काम गरिराखेको थिएँ । कम्पनीले बोलाएको ठाउँ, मिटिङ्ग, कार्यक्रमहरुमा पनि सहभागी हुने गर्थे । म पहिला एनजीओमा काम गर्ने भएकाले त्यहाँ मेरा साथीभाई आफन्तहरुलाई मेट्रो तरकारीमा यस्ता उत्पादनका सामानहरु छन भनेर थाहा दिने, अर्डर गर्नेलगायतका एक्सटर्नल अथवा एड्भाइजरको रुपमा काम गरिराखेको थिएँ । यो मेरो चाहनाको विषय भएकोले र मेट्रो तरकारीले पनि आउनु सँगै काम गरौं भन्नुभएकोले गर्दा केहि समय अगाडिदेखि यहाँ काम सुरु गर्न थालेको छु ।

तपाईं एनजीओमा डलर कमाउन छोडेर किन मेट्रो तरकारीमा लाग्नु भयो त ?
यो मेरो मनपरेको विषय परेकाले र पढाइ पनि मिल्ने भएकोले यसमा काम गरेको हुँ । मलाई मन परेर यहाँ काम गर्न सक्छु भनेरै आएको हुँ । अहिले म यसैमा मात्र काम गरिराखेको छु । फेरि यसमा भविष्य पनि राम्रो छ । मान्छेले ढिलो बुझ्लान तर अब अनलाइन, कम्प्युटर त सबैले बुझ्नै पर्छ । अहिले कतिपय पाका मान्छेहरुले पनि फेसबुकको एकाउन्ट खोलेकै छन् भनेपछि इन्टरनेट मान्छेलाई आवश्यक भइसक्यो । व्यस्त मानिसहरुलाई भनेको समयमा सामान पुर्याई दिने हो, त्यसैलाई फोकस गरिराखेका छौं र अर्गानिक भेटेसम्म सर्भिस गर्छौ । यसको भविष्य एकदम राम्रो छ, ढिलोचाँडो समय त लागि नै हाल्छ । धेरै मान्छेले नबुझेर पनि हाम्रो सर्भिस लिइराख्नु भएको छैन । काठमाडौंको जाम, धुलो धुवा, समय आदिका बावजुद पनि त्यहि मूल्यमा सामान घरमै आउने भन्ने बुझे भने धेरैले हामीबाट सामान लानु हुन्छ ।

हुनत धेरै सर्वसाधारणलाई अझै थाहा दिनु पर्छ मेट्रो तरकारीका बारमो । म आफै पनि पहिला मेट्रो तरकारीबाट जुम्लाको स्याउ, अरु दुर्गम ठाउँ, गाउँका गेडागुडी, फलफूललगायतका अर्गानिक सामान अर्डर गरिराख्थे । हाम्रा विदेशमा पनि धेरै उपभोक्ताहरु हुनुहुन्छ, उहाँहरुले यहाँ आफन्त, साथीभाईहरुलाई केहि जन्मदिन लगायतका केहि सेलिब्रेसन, अर्डर गर्नु पर्यो भने मेट्रो तरकारीमा अर्डर गरेपछि भनेको ठाउँमा सरप्राइजको रुपमा पठाउँछौं । मैले पनि यहाँ आउनु भन्दा पहिला एकपटक भुटानमा हुँदा मेरो श्रीमानलाई सामान पठाउन अनलाइनबाट अर्डर गरेको थिए । त्यही अनुसार मेट्रो तरकारीबाट बिहान उज्यालो हुँदा उहाँलाई एउटा डाइरी, रातो गुलाब, चकलेट पुर्याईदिनु भएको थियो । त्यस्तै, कसैको जन्मदिन छ भने १२ बजे राति केक पुर्याईदिने पनि गर्छौ तर त्यसको लागि अलि चाँडै अर्डर आइसक्नुपर्छ । यसरी मेट्रो तरकारीले सर्भिस रमाइलो, राम्रो, सुलभ तरिकाले दिइराखेको छ ।

यहाँबाट के के सामानहरुको सेवा दिइराख्नु भएको छ ?
तरकारी, फलफूल, गेडागुडी, माछा, मासुलगायतका खाद्यान्यका सबै सामान छन् । घरछेउमा तरकारी किन्दा तपाईंले पाँच÷छ आइटमभन्दा बढी तरकारी पाउनु हुन्न भने हामीसँग तरकारीकै ७०/८० वटा आइटमहरु छन् । फलफूलमा किबी, एभोगाडोदेखि लिएर ३०/३५ वटा आइटमहरु छन् । हामीसँग बिहानको खाजादेखि लिएर बेलुकासम्म भान्सामा पाइने सबै चिज छ । हामीले जुम्लाको कृषकहरुसँग पनि काम गरिराखेका छौं । उहाँहरुले फलफूल, गेडागुडी पठाउनु हुन्छ ।

बजारको र तपाईंहरुको सामानको मूल्यमा कत्तिको फरक छ ?
बजारमा पसलैपिच्छे फरक मूल्यमा हामीले सामान किनिराखेका हुन्छौं । एउटा पसलमा एउटा तरकारी ८० रुपैयाँमा किनिराखेका हुन्छौं भने अर्को पसलमा त्यसैलाई सय रुपैयाँ पर्छ, भने साइकल व्यापारीसँग लियो भने त्यहि सामान ७०/७५ मा लिइराखेका हुन्छौं । तर हामी चाहिँ बजारलाई हेरेर मूल्य राख्छौं । हाम्रो तरकारी एरियाले गर्दा सस्तो र महंगो पर्न आउँछ तर जुनसुकै ग्राहकलाई पनि र जतिसुकै टाढा भएपनि एउटै मूल्यमा तरकारी दिन्छौं ।

एकजना उपभोक्ताले घरमा सामान मगाउँदा कति मूल्यसम्मको मगाउनु पर्छ ?
फलफूल, तरकारी जे पनि अर्डर गर्न पाइयो तर कम्तिमा पनि पाँच सय रुपैयाँको मगाउनु पर्छ । हामीले बजारबाट सस्तोमा छानेर किनेजस्तो फ्रेस सागसब्जी त्यहि मूल्य वा त्यो भन्दा कम्ती मूल्यमा घरमै निःशूल्क डेलिभेरी गर्छौ । यो कुरा बुझ्दा प्रायलाई सजिलो छ तर धेरैले चाहिँ बुझ्नु भएको छैन, अझै बुझाउन समय लाग्छ । फेरि उहाँहरु आफै जाने, मोलमोलाई गर्ने बानी परिसकेको छ । तर, मान्छेहरुले हाम्रो सर्भिस बुझ्नु भयो भने समयको बचतसँगै उहाँहरुले सस्तो, राम्रो, फ्रेस वेबसाइट हेरे अनुसारको घरको ढोकामै सामान पाउनु हुन्छ ।

अर्डर कुन कुन तरिकाले गर्न सकिन्छ ?
वेबसाइट, मोबाइल एप्स, फोनबाट हाम्रा सामानहरु मगाउन सक्नुहुन्छ । सामानको सधैंको मूल्य वेबसाइटमा अपडेट भइसकेको हुन्छ । मेट्रो तरकारी डट कम गरेपछि त्यहाँ विभिन्न प्रकारका सामान, मूल्य सबै डिटेलमा छ । मोबाइलमा एप्स डाउनलोड गरेर पनि गर्न सकिन्छ र अफिसको नम्बरमा फोन गरेर पनि सर्भिस लिन सकिन्छ । साइकल व्यापारीले ढोकाढोकामा तरकारी लगेजस्तो नगरेर हामी अनलाइन कम्पनी भएको भएर अनलाइन मार्केटिङ बढी गर्छौ । ठूलठूलो कम्पनीहरुमा भिजिट गरेर हाम्रो कन्सेप्टको बारेमा बताउने र उहाँहरुले चाहेअनुसारको सामान पुर्याउने गर्छौ । सुरुसुरुमा त हामीले आ–आफ्नै साथीभाई, चिनजानलगायतबाट सर्भिस गयौं, अहिले त धेरैले थाहा पाइसक्नु भएको छ ।

यहाँ कति कर्मचारी हुनुहुन्छ, यो व्यवसायले भएका कर्मचारीलाई त पालेको होला नी ?
यसमा दैनिक २१ जना खट्छौं । पाल्नै पर्यो नि । सबैजना तलबमै काम गरिराख्नु भएको छ । आठ/नौ जना डेलिभरीमा हुनुहुन्छ, मार्केटिङलगायत सबै डिपार्डमेन्टमा हुनुहुन्छ । हामी एउटा सिस्टम मै गइराखेका छौं । हाम्रोमा पार्टटाइम काम गर्नेहरु पनि हुनुहुन्छ । बिहान कलेज पढ्ने बेलुकाको समयमा बाइक चलाउने पनि हुनुहुन्छ । दिनमा कम्तिमा पनि एक लाखको बिक्री गर्छौ, जसले कभर गरिहाल्छ । अझ यसलाई बढाउने योजना गरिराखेका छौं र बढ्दै पनि छ । अहिले हामीले एउटा भ्यान र चारवटा बाइकबाट सर्भिस दिइराखेका छौं ।

कहाँ कहाँ तपाईंको सामान पुग्ने गरेको छ ?
अहिले हामीले धेरैजसो रिङरोड भित्र सर्भिस दिइराखेका छौं । भक्तपुर, ललितपुर, बिशालबजार, महाजगञ्ज, बौद्ध, स्वयम्भू, भैसीपाटीलगायत धेरै ठाउँमा गइराखेका छौं । उपभोक्ताको मागअनुसार ठाउँहरु विस्तार हुँदै पनि गइराखेको छ । पछि हामी यसलाई विस्तार गर्छौ, अरु जिल्लाहरुमा पनि जाने सोच गरिराखेका छौं । चितवनबाट भने सुुरु गरिराखेका छौं, त्यहाँ फलफूलदेखि लिएर अलिअलि ग्रोसरी आइटमहरु गरिराखेका छौं । हाम्रो व्यापार व्यवसाय सहरी एरिया जहाँ मान्छेहरु बेफुर्सदिला भइराखेका हुन्छन्, त्यहाँ गर्ने हो ।

मेट्रो तरकारीका ग्राहक कति छन् ?
पाँच वर्षदेखि सधैं हाम्रो सामान लाने उपभोक्ताहरु हुनुहुन्छ र नयाँले पनि लानु हुन्छ । वेबसाइटमा गेडागुडी सामान लाने १० जना उपभोक्ता रजिष्टर हुनुहुन्छ । दिनमा २५÷३० केजी गेडागुडी सधैं गइराखेको छ । स्कुल, कलेज, अफिस, रेष्टुरेन्ट, आइएनजीओ, एनजीओ गरी ३० वटा जति कम्पनीलाई सामान दिइराखेका छौं । हामी घर मात्र नभएर व्यवसायीहरुलाई पनि सर्भिस दिन्छौं । कसै कसैले सधैं अर्डर नगरेर नयाँ चिजहरुको अर्डर गर्ने पनि हुनुहुन्छ । जस्तो जुम्लाबाट अर्गानिक स्याउ आएको छ भने त्यो मात्रै अर्डर गर्ने पनि हुनुहुन्छ । सिजनअनुसारका फलफूल निश्चित समयमा अर्डर गर्ने मात्रै उपभोक्ताहरु पनि हुनुहुन्छ ।

सस्तोमा निःशूल्क सामान घरघरमा पुर्याउने गर्दा तपाईंहरुलाई कसरी फाइदा हुन्छ त ?
हामीले काम गर्ने भनेको १५ देखि २० प्रतिशतको मार्जिनमा हो । नजिककालाई पुर्याउन डेलीभरी कम लाग्छ । हामी टाढा–टाढाका उपभोक्तालाई जुन मूल्यमा सामान दिन्छौ त्यहि मूल्यमा हाम्रा छेउछाउका उपभोक्ताहरुलाई पनि दिन्छौं, त्यस्तो कुराले सवारीलगायतका घाटालाई पूर्ति गर्छ ।

मेट्रोको सामान प्रयोग गर्ने कस्ता उपभोक्ताहरु छन् ?
प्रोफेसनल व्यक्तिहरु हुनुहुन्छ, जसले टेक्नोलोजी बुझेको छ । जस्तो भारतमा पनि सबै अनलाइनबाट अर्डर गरेर घरमा पुर्याउने सिस्टम छ, हाम्रो नेपालमा भर्खरै हामी गर्दैछौं । हाम्रोमा सामान अर्डर गर्ने निम्न स्तरदेखि माथिल्लो स्तरसम्मका हुनुहुन्छ । हाम्रो वेबसाइट दिनमै ४०/५० जनाले भिजिट गरिराखेका हुन्छन् । कत्तिले त मूल्य प्रतिस्पर्धा गर्नलाई पनि हेरिराखेका हुन्छन् । कत्तिलाई आफूले नपाइराखेको सामानहरु छ कि भनेर पनि हेरिराख्नु भएको हुन्छ ।

उपभोक्ताको कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
मेट्रो तरकारीको प्रोडक्टहरुमा त्यस्तो कम्प्लेन छैन, हाम्रो वेबसाइटमा जे जस्तो तस्बिर राखेका छौं त्यस्तै नै सामान डेलिभेरी गर्छौ । कहिले काहिँ चाहिँ थोरै सामान भन्ने बित्तिकै हामीले पनि नपाएर पुर्याउन नसकेर ढिलो भएको छ, नभए हामीबाट त्यस्तो समस्या हुँदैन । सुरुमा हामीले तरकारी र फलफूलबाट सुुरु गरेको हो । त्यसपछि उपभोक्ताहरुले माछा, मासु भन्न थाल्नु भयो, माछा, मासु पनि राख्न थाल्यौ । अनि बेकरी, दालचामल भने अनुसार राख्दै जाँदा अहिले हामीसँग लगभग पाँच/छ हजार प्रोडक्टहरु छन् । कतिपयले किचनका भाडाकुडा पनि डिमाण्ड गर्नु हुन्छ, त्यो पनि उपलब्ध गराउँछौं । उपभोक्ताको ढोकासम्म उहाँहरुले मगाएको सामान लिएर हामी पुगिराखेका हुन्छौं ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट