मेरो जित सुनिश्चित देखेर नै पार्टीले मलाई दोहोर्याएर टिकट दिएको हो : राजाराम स्याङ्तान

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । आ-आफ्नो पार्टीको घोषणापत्र र आश्वासनहरुका साथ राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जनताको घरदैलो, गाउँ, टोल, वडामा मत माग्न पुगिरहेका छन् । यसैबीच मकवानपुर क्षेत्र नम्बर-२ (ख)बाट प्रत्यक्षतर्फका वामगठबन्धनका उम्मेदवार तथा निवर्तमान सांसद् राजाराम स्याङ्तान सँग रिपोर्टर नेपालका लागि रेनु कार्कीले गरेको कुराकानी ।

चुनावको प्रचारप्रसारमा कत्तिको व्यस्त हुनुहुन्छ ?
हामीले पहिलो र दोस्रो चरणको प्रचारप्रसार कार्यक्रमहरु भ्याइसक्यौं । पहिलो चरणको प्रदेशसभाको निर्वाचन क्षेत्रीयस्तरीय कार्यकर्ता भेला थियो । त्योपछि गाउँपालिका अन्तर्गत मेरो क्षेत्रमा तीनवटा गाउँपालिका, नगरका दुईवटा वडाहरु पर्छन्, जसमा कार्यकर्ता भेला भेटघाट सम्पन्न गरिसक्यौं । अब वडास्तरीय, टोलस्तरीय कार्यक्रमहरु बनाएर व्यापक आन्तरिक रुपमा प्रचारप्रसारको लागि जुटिराखेका छौं । त्यस्तै, हरेक वडातहसम्म कार्यालय खोल्नेमा अगाडि जुटिसकेको अवस्था छ ।

तपाईंलाई जनताले भोट किन दिने ?
हाम्रा राजनीतिक मुद्दाहरु सफल भइसक्यो, जस्तो २०७२ को संविधान भइहाल्यो । अब त्यहि संविधान अनुसार जनसमुदायलाई आर्थिक समृद्धि, विकास, पूर्वाधार निर्माणको कामहरु चाहिराखेको छ । यि सबै गर्नको लागि अहिलेको वामपन्थी उम्मेदवारहरुलाई जिताउनु पर्छ । स्थानीय निकायको तहको कार्यक्रमलाई अर्थात् स्थानीय सरकारलाई जनताकै घरदैलोमा सरकारको अनुभूति दिनको लागि यो प्रदेश सरकार र केन्द्रीय सरकार चाहिँ वामपन्थीहरुको सरकार बनिसकेपछि सिंहदरबारको अधिकार जनताको घरदैलोमा भने झै जनताको घरदैलोमामा सिंहदरबारको अधिकार पुग्छ । स्रोत साधन जनताको घरमा पुग्छन् र समृद्धिका आधारहरु बन्न सक्छन् । नेपाल स्वाधिनता र स्वाभिमान भएर बाच्नको निम्ति अहिलेको आवश्यकता, वाम सरकारको आवश्यकता भएको हुनाले नेपाली जनताले हामीलाई यिनै कारणबाट भोट दिनुपर्ने हुन्छन् र त्यहि कारणले हामीलाई भोट दिन्छन् ।

तपाईंका मुख्या एजेण्डाहरु के के हुन् ?
वि.सं.२०७२ सालको संविधान कार्यान्वयनको लागि, स्थानीय सरकार मजबुत बनाउन, केन्द्र र प्रदेश सरकार बनाउन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन, समृद्धिका आधारहरुलाई निर्माण गराउन, गरिबी न्यूनिकरण गराउन, जनता आवास कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा पछि परेका मानिसहरुलाई आवास निर्माण गराउन, भूस्वामित्वको अन्त्य गराउन, कृषि प्रणाली देशमा कृषिलाई उन्नत गरी प्रविधिहरुलाई उन्नत बनाउँदै कृषिमा आत्मनिर्भर बनाएर बहुआयामिक बालीहरुलाई स्थापना गरी कृषिमा क्रान्ति गराउन, पर्ती जमिनहरुको नापीनक्सा गरी सुकुम्बासीहरुको समस्या समाधान गराउन, विभिन्न देशका ठूला साना योजना आयोजनाहरुलाई एकदेखि १० वर्षभित्र शिक्षा, स्वास्थ्य, बाटोघाटोलगायतका मानवीय समस्याहरुलाई मुक्त गराउनलगायतका एजेण्डाहरु हामी जनताबीच बोकेर गइराखेका छौं । त्यसले गर्दा जनताले आफ्नो ठाउँबाट जुन सहयोग गर्नुपर्छ, त्यो हामीले सोचेको भन्दा बढी गरिराख्नु भएको छ । नेपालमा कम्न्यूष्ट पार्टीहरु एक हौं, अब नेपालको समृद्धि हुन्छ, आर्थिक निर्भर हुन्छ भन्ने कुरामा दिन दुःखीहरुको समय आयो भन्नेमा जनताहरु क्रियाशिल, सक्रिय छन् । त्यसैले यो निर्वाचनमा वामपन्थीहरुको सरकार बन्नेमा जनताहरु असाध्यै खुसी छन् ।

गाउँमा नेता भोट माग्न मात्र देखापर्छन् भन्ने जनाताको गुनासो हुन्छ, तपाईंप्रति त्यहाँका जनताको नजर कस्तो छ ?
अन्त त्यस्तो कुरा होला तर मेरो ठाउँमा त्यस्तो छैन । मेरो ठाउँमा सबभन्दा बढी आउने माननीय भनेको उहाँ नै हो भन्छन् । जनताको हरेक किसिमको कामहरुमा सेवा सुविधा दिने अर्थात मर्दा, पर्दा वा विवाहलगायत भ्याइन्जेलसम्मका समुदायका कामहरुको लागि हामीसँग दैनिक भेटघाट हुने माननीय भनेको चक्रवती मकवानपुर जिल्लाको क्षेत्र नं. २ (ख) बाट उठेको उम्मेदवार नै हो भनेर जनताले बहुत प्रशंसा गर्छन् मलाई ।

भनेपछि आफ्नो ठाउँका जनताको मन जित्नु भएको छ ?
आफ्नो ठाउँको जनताको मन मैले सय प्रतिशत जितेको छु । त्यहि जनताको मन जितेर त दोहर्याएर टिकट दिएका हो, वामपन्थीहरुले । पार्टीले नभए किन दोहर्याएर टिकट दिन्थ्यो र मलाई ?

तपाईका कांग्रेसी प्रतिस्पर्धी पनि जनताका प्रिय नै होलान, तपाईंलाई असर पर्ला नि त ?
हैन, मलाई त्यसले केहि फरक पर्दैन । इन्द्रबहादुर बानियाँले १ नं. क्षेत्रमा मसँगै प्रतिनिधिसभामा उम्मेदवार भएका हुन् । तर उहाँको सबै कुरा जनतालाई थाहा छ, मैले भनिराख्नु पर्दैन । उ कस्तो खालको मान्छे हो भन्ने कुरा यहाँको जनतालाई झुक्याउनु पर्दैन । उ मकवानपुर जिल्लामै जन्मेका मान्छे हुन्, यहि भूमिमा बसेर राजनीति गरेका हुनाले उ आफ्नै वडामा पराजित भएर आएको मान्छे यो क्षेत्रमा कसले पत्याउछन र ? स्थानीय निर्वाचनमा आफ्नो वडामा हार व्यहोर्नु परेपछि, निर्वाचनमा बोलेको बचनहरु पूरा गर्न नसकेपछि उनी अलिकति गरिबी र विपन्न वर्ग या चेपाङ समुदायको एरियामा भोट किन्न सकिन्छ कि भनेर आसय लिएर आएका हुन् । यहाँका मान्छेले हामी आलु प्याज होइनौं, बजारका कुनै साधन होइनौं हामी आफ्नो मत कहिले पनि बेच्दैनौं भन्दै आएका छन् । त्यसकारणले इन्द्र बानियाँले मलाई कुनै असर पार्दैन । उहाँ ठेकेदार पनि हो, उहाँ आफैले म सय प्रतिशत ठेकेदार हुँ भन्नुहुन्छ । उहाँले गर्नुपर्ने निर्माणका कामहरु पनि धेरै गर्न सकिराख्नु भएको छैन । उहाँले भूकम्पका बेला दिएको विद्यालयलाई चार करोड ८० लाखको टेण्डर हाल्नु भयो । अहिले त्यो विद्यालयहरु अलपत्र परेका छन् । यहाँका जनताले पढ्न पाइराखेका छैनन् । सातवटा विद्यालयको टेण्डर हाल्नु भयो उहाँले त्यो सातवटा सम्पन्न नभएपछि यहाँ अहिले २६ वटा विद्यालयको टेण्डर हुनेवाला छैन । उहाँले पहिलो काम नै सम्पन्न नगरेको हुनाले मकवानपुर जिल्लाका अरु विद्यालयले सुविधा पाइराखेको अवस्था छैन ।

अन्त्यमा आफ्ना मतदाताहरुलाई के भन्न चाहनु हुन्छ ?
मतदाताहरुलाई यो २०७४ साल मंसिर २१ गतेको निर्वाचनमा उत्साहपूर्वक वामपन्थीहरुको उम्मेदवारहरुको पक्षमा मतदान गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु । नेपाली आमाको छातीमा आज जुन ढंगले वामपन्थी एकता भएको छ, यो एकतालाई विजयी गराउन तपाईंहरुको क्रियाशिलता रहोस भन्ने म हार्दिक अनुरोध गर्दछु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट