चन्द्रागिरी गोल्डकपको सेमिफाईनलमा आर्मी क्लब

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर
काठमाडौं, ३० कात्तिक । राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली नेपाली आर्मी क्लब प्रवेश गरेको छ । नैकापस्थित खेल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली आर्मीले पेनाल्टी सुटआउटमा जावलाखेल यूथ क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने मौकाको सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा आर्मीका दोस्रो रोजाईका गोलरक्षक गान्दिप खड्काले जावलाखेलको एउटा पेनाल्टी बचाएका थिए ।

आर्मीका लागि पेनाल्टीमा कप्तान हिरण्य मगर, राजीव गुरुङ, एरिक विष्ट, दिनेश कार्की र रुपेश क्षेत्रीले गोल गरेका थिए । जावलाखेलका लागि राम थापामगर, सिदिवे र असिम थापाले गोल गर्दा सुरज ठकुरीले भने गोल गर्न चुके । यू–१९ टिमका ४ खेलाडी समेटेर खेलेको आर्मीले निर्धारित समयमा पाएको केही मौकाहरु खेर फाल्दा तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको जावलाखेलले पनि केही सुन्दर मौकाहरु गुमाएको थियो ।

खेलमा आर्मीका गान्दिप खड्का म्यानअफ द म्याच हुँदै नगद रु ३ हजार प्राप्त गरे । बिहीबार हुने खेलमा नेपाल पुलिसले सिएमजी संकटासँग प्रतिस्पर्धा गर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट