अमेरिकाद्वारा नेपाली युवाको लघु जलविद्युत कार्यपत्र उत्कृष्ट ठहर

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । छठौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा विभिन्न ५० मुलुकका करिब पाँच सयभन्दा बढी अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुबाट प्रस्तुत गरिएका अनुसन्धानमध्ये नेपालका एक युवाले प्रस्तुत गरेको लघु जलविद्युत्सम्बन्धी अनुसन्धानको कार्यपत्र उत्कृष्ट ठहरिएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा सम्पन्न भएको सो सम्मेलनमा नेपालका युवा रविन ढकालद्वारा प्रस्तुत कम उचाईबाट विद्युत् निकाल्न सकिने लघु जलविद्युत्सम्बन्धी अनुसन्धानलाई उत्कृष्ट कार्यपत्र अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यपत्रमा नेपालमा कम उचाईमा पनि विद्युत् निकाल्न सकिने प्रविधिको सम्भावना र चुनौतिका विषयमा गरिएको अनुसन्धान प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुतकर्ता ढकालका अनुसार यो प्रविधि संसारकै लागि एकदमै नयाँ प्रविधि रहेको र यसको शुरुआत सन् २००७ मा अष्ट्रियाबाट भएको हो । नेपालमा भने यस प्रविधिको अनुसन्धान सन् २०१२ बाट शुरुवात गरिएको र सन् २०१४ देखि नै यस प्रविधिको विकासमा बढी महत्व दिइएको ढकालको भनाइ रहेको छ ।

रविन ढकालद्वारा सन् २०१२ देखि नै इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनका क्रममा गर्दै आएको ‘भर्टेक्स टर्वाइन–पीएस माइक्रो हाइड्रो’ प्रविधिसम्बन्धी अनुसन्धान सर्वोत्कृष्ट घोषित भएको हो । उक्त अनुसन्धानबाट प्राप्त परिमाणले प्रविधिको नेपालमा विकास गरी ग्रामीण विद्युतीकरण गर्न अझै सरल, सहज र सुलभ हुने विश्वास लिइएको छ ।

ढकालका अनुसार स्थानीय निकाय, ऊर्जा मन्त्रालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा अन्य गैरसरकारी संस्थाको सहयोगमा यस्तो खालको प्रविधिलाई विकास गर्न सहकार्य गरी ग्रामीण भेगलाई विद्युतीकरण गर्न सहयोग पुग्ने छ । यस प्रविधिबाट नेपालको कम उचाई भएको तराईंको क्षेत्रलगायत विद्युत् प्रसारणलाइन नपुगेको ग्रामीण भेगमा छोटो समय र लागतमा विद्युतीकरण गर्न सकिने ठानिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट