भोट माग्न नगएर पीडित महिलालाई समय दिइराखेको छु : उम्मेदवार साह

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

शाहिदा बानो ‘साह’ (तमन्ना)
समानुपातिक उम्मेदवार
नेपाल संघीय समाजवादी पार्टी

राजनीतिमा कहिले देखि लाग्नु भएको हो ?
मेरो पारिवारिक वातावरण नै राजनीतिसँग जोडिएको थियो । मेरो हजुरबुवा, बाबा कांग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो । म चाहिँ कांग्रेसमा नगएर फरक पार्टीमा आस्था राखेर राजनीतिमा अगाडि बढिराखेको छु ।

किन त फरक पार्टीमा जानुभएको ?
खासमा कांग्रेसमा पारिवारिक वर्चश्व बढी छ । तर मैले कांग्रेसमा मेरो भविष्य देखिन । स्थानीयस्तरमा काम गरिराखेको म जस्तो महिला र अर्को मुस्लिम महिलालाई ठूलो दलले स्पेश दिन्छ कि दिदैँन अर्थात दियो भने पनि कस्तो खालको दिन्छ भन्ने मलाई विश्वासै हुन सकेन । त्यसैले मैले आफ्नो आस्था कांग्रेस पार्टीमा राखिन् ।

तपाईंलाई फरक पार्टीमा लाग्दा परिवारबाट अप्ठ्यारो भएन ?
मेरो परिवारमा बाजे बाबुले जे भन्नुहुन्छ त्यहि गर्नुपर्छ भन्ने छैन । यदि त्यस्तो भएको भए म सामाजिक क्षेत्रमा विगत १३ वर्षदेखि निरन्तर लाग्न सक्दिन थिए होला । हुनत मेरो परिवारका अरु महिला दिदी बहिनीहरु पनि छन् । मेरो फुपु नै म भन्दा छ महिना कान्छी हुनुहुन्छ, उनको विवाह भएर तीनवटा छोराछोरी भइसकेका छन् । तर म अविवाहित भएर सामाजिक क्षेत्रमा अहिलेसम्म व्यस्त छु । मैले मेरो परिवारसँग आग्रह गर्दा उनीहरुले नकार्न सकेनन् र मलाई पूरै समर्थन गरे । तिमी जे चाहन्छौ त्यहि गर, तिमीमा क्षमता छ, गर्न सक्छौ भनेर उहाँहरुले पनि मनन गर्नुभयो र मेरो लागि माहोल बनाइदिनु भएको छ । अहिले म मैत्री, महिलामैत्री भएर सबैको सपोट पाएर काम गरिराखेको छु ।

समाजमा के कस्ता कार्य, योगदान गर्नुभएको छ त ?
विगत १३ वर्षदेखि महिला अधिकारको क्षेत्रमा, सामाजिक न्याय र मानवअधिकारको लागि वकालत गर्दै आएको छु । महिला अधिकारको लागि र महिला हिंसाविरुद्ध सक्रिय भएर निरन्तर रुपमा न्याय दिलाउन पहल गरिराखेको छु । पीडितलाई सम्बन्धित निकायसम्म पुर्याउने, सानातिना कार्य छन भने आफै पनि मिलाउनेलगायतका काम गरिराखेको छु र अहिलेसम्म गर्दै आएको छु ।

आफ्नो पार्टीप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
पार्टीले पनि आश्वासन दिएकै हो । भन्नाले मैले गरेको यो समुदायप्रतिको लगानी, कार्य, योगदानहरुलाई कदर गरी तपाईंलाई हामी ठाउँ दिन्छौं भनेर पार्टीले विश्वस्त गरेर नै मेरो उम्मेदवारीमा नाम आएको हो ।

चुनाव जित्छु जस्तो लाग्छ ?
जित्नकै लागि उठेका हुन्छन् सबैजना, म पनि जितकै लागि उठेको हुँ । विजयी हुन्छु भन्ने विश्वस्त छु ।

अहिले भोट माग्न कत्तिको व्यस्त हुनुहुन्छ ?
म भोट पनि माग्दैछु । कतिपय नेताहरुले भोट माग्नको लागि खेतमै गएर धान पनि काट्दैछन् रे । मैले भोटै माग्नको लागि खेतमा गएर काम चाहिँ गरेको छैन । तर मैले जुन कामले गर्दा व्यक्तिको जिवन नै सफल, साकार हुनसक्छ त्यस्तो काममा अग्रसरता देखाएको छु । अहिले भोट माग्न मेरो पार्टीका अन्य सदस्यहरु गए पनि पार्टीलाई भोट आइहाल्छ । तर भोट माग्ने समयमा म आज पनि सामाजिक कामहरु गरिराखेको छु । भर्खरै मात्र एक पीडित महिलाले बहुविवाहको लागि कसरी न्याय पाउन सकिन्छ भनेर मलाई फोन गर्नुभएको छ । उहाँले मलाई सिकाई दिनुस्, बाटो देखाइदिनुस् भन्नु भएको छ । त्यसकारण मैले पार्टी कार्यकर्तासँग फिल्डमा नगएर पीडित महिलालाई समय दिएको छु । मैले यसरी सामाजिक काम गरिराखेको छु, भोटै मागेर मात्रै समुदायमा मेरो पहिचान हुन्छ र जित्छु भन्ने पनि छैन । मलाई विश्वास छ, मैले गरिराखेको कामले सफलता पाउँछ, सफल भइराखेको छु र मैले गरेकै कामले गर्दा चुनाव जित्छु भन्ने पनि लाग्छ ।

चुनावको बेला पनि भोट नमाग्दा हारिने डर हुँदैन त ?
जनताले भोट दिने भनेको, उहाँहरुकै काम सजिलो गराइदिनको लागि हो । त्यसैले जनताले पनि मनन गर्नुपर्छ कि, जितेपछि मेरो काम अझ सहज हुन्छ भनेर । महिला हिंसा न्यूनिकरण गर्नको लागि जुन कार्यहरु गर्नुपर्ने हुन्छ, त्यो गरिराखेको मान्छेलाई प्राथमिकता दिने कि अथवा हामीसँग आएर धान काट्ने, ओसार्ने मान्छे मात्रैलाई ग्राह्यता दिने भन्ने कुरा अहिलेको अवस्थामा सबैले मनन् गनुपर्छ ।

मुस्लिम महिलालाई खुल्ला रुपले काम गर्न गाह्रै होला, के छ तपाईंको अवस्था ?
जब मैले समाजमा काम गर्न सुरु गरे, त्यो बेला अलिअलि गाह्रो थियो । सामाजिक क्षेत्रमा काम गरिसकेपछि कहिले अबेला घर पुगिने, कहिले बिहानै घरबाट निस्किनु पर्ने, कहिले कोसँग हुने, कहिले कोसँग हुने भएकाले केही आरोप प्रतिआरोपहरु नआएका होइनन् । तर अहिले आएर उहाँहरुले मेरो काम गर्ने तरिका, शैली बुझ्ने, हेर्ने गर्नुभएको छ । सबैले मेरो काम गरेको उपलब्धिहरु हेर्नुभएकोले पहिलेको तुलनामा अहिले मलाई काम गर्न सजिलो भएको छ ।

जितेपछि आफ्नो क्षेत्रमा के गर्नु हुन्छ त ?
महिला अधिकार, मानव अधिकार, सामाजिक न्याय, हिंसा न्यूनिकरणको लागि जुन काम गर्दै आएको छु त्यसलाई निरन्तरता दिनेछु र पार्टीको घोषणा पत्रमा लेखिएका कुराहरुलाई कार्यान्वयन गराउनको लागि मेरो तर्फबाट जतिसक्दो पहल गर्नेछु ।

अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मतदाताहरु के सन्देश दिन चाहन्छु भने, तपाईंहरुले धेरै ठूलाठूला दलका नेताहरुलाई हेर्नु भयो, कत्तिको हित भएको छ ती कुराहरुलाई मनन गर्नुहोस् र नेपाल संघीय समाजवादी पार्टीको चुनाव चिन्ह बसमा भोट दिनुहोस् । बसमा दिएर भोटको महत्व बुझ्नुहोस । यदि मलाई जिताउनु भयो भने अहिलेसम्म मेरो स्तरबाट गरेको काम मेरो जितपछि यो भन्दा माथिको स्तरबाट ती कामहरुलाई अझ राम्ररी गर्न सक्छु र बढाउन सक्नेछु भन्ने विश्वास दिलाउँछु । म तपाईंहरुको भोटको कदर गर्दै आउने दिनमा तपाईंहरुले चाहेको, खोजेको, सोचेको नेपाल त्यसमा पनि प्रदेश नं.५ कै बनाउने प्रयास गर्नेछु भन्ने विश्वास दिलाउँछु ।

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट