दलहरुबीच विचित्रको चुनावी गठबन्धन, कम्युनिष्टदेखि राजावादीसम्मको तालमेल

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

जसरी पनि निर्वाचन जित्न यति बेला दलहरु जोसँग जस्तोसुकै सहकार्य गर्न पनि पछि हटेका छैनन् । सहकार्यमा राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस र एमाले–माओवादीको वामगठबन्धनदेखि कांग्रेसको लोकतान्त्रिक गठबन्धनलगायत परेका छन् । राप्रपाले औपचारिक रुपमा कांग्रेससँग चुनावी एकता कार्य गरे पनि केही नेताहरुले वामगठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । चुनावी स्वार्थको चङगुलमा राप्रपासँग कांग्रेस मात्र होइन एमाले पनि परेको छ । वामगठबन्धनका कारण अत्तालिदै जो कोहीसँग पनि समिकरण गर्न पुगेको कांग्रेसको सिको गर्दै वामगठबन्धनले पनि देशैभरी विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन बनाउन अग्रसर भएको स्पष्ट छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वामगठबन्धनको समर्थन पाएका राप्रपाका नेता राजेन्द्र लिङ्देलसँग भिड्दै छन् । सुरुका दिनमा लोकतान्त्रिक गठबन्धनको समर्थनमा लिङ्देलले प्रतिस्पर्धा गर्ने भनिएको भए पनि सिटौलाले उनलाई स्वीकार गर्न सकेनन् । पछि उनै लिङ्देल वामगठबन्धनको आर्शिवादबाट उम्मेदवार बनेका छन् । लोकतान्त्रिक गठबन्धनबाट बाहिरने खतरामा पुगेको लिङ्देल पछि वामगठबन्धको सहयोगमा उम्मेदवारी हुत्याउँदा झापाका एमालेजन चकित परे । झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको वामगठबन्धनको विजयी सुनिश्चित बनाउन राप्रपासँग समिकरण गर्नु कति आवश्यक थियो, त्यो झापाका एमालेलाई नै थाहा होला । तर पार्टीको निर्देशन मान्दै झापाका एमालेसहितका वामगठबन्धनले राप्रपाका लिङ्देलको पक्षमा प्रचारप्रसार र मत माग्न बाध्य बनाइयो ।

उता राष्ट्रिय राजनीतिमा सधैं दक्षिणी कित्तामा उभिएका नवलपरासीका हृदेयस त्रिपाठी, कपिलवस्तुका बृजेशकुमार गुप्ता र बाँकेका पशुपतिदयाल मिश्रलाई सूर्य चिन्ह प्रदान गरेसँगै वामगठबन्धनका हजारौं कार्यकर्ता उनीहरुको पक्षमा निर्वाचनमा लाग्न बाध्य भएका छन् । त्रिपाठी मधेश आन्दोलनदेखि नै मधेशमा प्रभाव जमाउने मध्येका वैचारिक र निडर नेतृत्व हुन् । पछिल्लो समय त्रिपाठी राष्ट्रिय जनता पार्टीको विचार, कार्यशैली र व्यवहारप्रति असन्तुष्टि भई बाहिरीएका थिए । गुप्ता पनि मधेशमा प्रभावशाली नेतृत्व गरे मध्येका एक नेता हुन् । उनले राजपाको कार्यशैलीप्रति असहमति जनाउँदै बामसँग सहकार्य गर्न बाध्य भएका छन् ।

यी नेता अहिले एमालेको सूर्य चुनाव चिन्ह् लिएर वामगठबन्धको साझा उम्मेदवारबाट प्रतिस्पर्धामा छन् । मिश्र भने राप्रपाका प्रभावशाली नेता हुन अहिले बामसँगको सहकार्यमा छन् । एमाले–माओवादीले वामगठबन्धन सार्वजनिक गरेकै दिन वाम गठबन्धन राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता रक्षा, परिवर्तनको संस्थागत विकास, आर्थिक समृद्धिको लाइनमा लिँदै समाजवादतर्फ मुलुकलाई डो¥याउने प्रतिबद्धता सार्वजनिक गरेको थियो । बामपन्थीहरुको गठबन्धनलाई बलियो बनाउँदै दीर्घकालीन रुपमा बाम ध्रुविकरणको वातावरण निर्माण गर्ने गरी अघि बढेको शक्ति हो ।

तर, निर्वाचनपछि झापाका लिङ्देल, नवलपरासीका त्रिपाठी, कपिलवस्तुका गुप्ता र बाँकेका मिश्रसँगको चुनावी साठगाठले कसरी बाम ध्रुविकरण सम्भव होला त ? नेपालमा बाम आन्दोलनले सात दशक पार गर्न लाग्दा पहिलोपटक वामगठबन्धन केन्द्रीकृत हुन थालेका हुन् । एउटै कम्यु्निष्टको झण्डा फहराएर दर्जनौं पार्टीहरु व्यक्तिगत स्वार्थमा सञ्चालित हुँदै आएका छन् ।

मुलुकका जारी निर्वाचनमा धेरैपटक कम्युनिष्ट पार्टी र सिद्धान्त बोक्ने दलका नेतालाई मतदान गरेका मतदाता अहिले भने पार्टीको निर्देशन पालना भएमा परिवर्तनका विरोधीदेखि राजावादीसम्मलाई चुनावी गठबन्धनकै नाममा मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कम्युनिष्ट पार्टी विचारधारका आम मतदातालाई भने ठूला वामशक्ति एक हुँदा निकै उर्जा थपिदिएको छ । सक्कली बामपन्थीहरु अहिलेको सहकार्य मात्र क्षणिक निर्वाचनमा स्वार्थ पूरा गर्न नलागि मुलुकको निकास र स्थिर शासन व्यवस्थाको रुपान्तरणमा लाग्नु पर्ने पक्षमा उभिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट