५०औँ राष्ट्रिय करातेको उपाधि पुलिसलाई 

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं, २५ कात्तिक । ५०औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपाल प्रहरीले ८ स्वर्ण र २ रजत पदक जित्दै उपाधि जितेको हो । पहिलो दिन ४ स्वर्ण जितेको प्रहरीले दोस्रो दिन पनि ४ स्वर्ण जित्न सफल भयो ।

दोस्रो दिनको खेलमा प्रहरीको लागि पुरुष ५५ केजीमा सोनाम लामाले, ७५ केजीमा गंगाराम कुसुवारले र ८४ केजीमा दिवश श्रेष्ठले तथा महिला ६१ केजीमा सुनिता महर्जनले स्वर्ण दिलाए । त्यस्तै पुलिसका लागि पुरुष ८४ केजीमुनि बिप्लव श्रेष्ठ तथा महिला ४० केजीमा एन्जिला धिमालले रजत पदक दिलाए । शुक्रबार सम्पन्न प्रतियोगितामा आर्मीले ६ स्वर्ण तथा २ रजत पदक जित्दै दोस्रो स्थान हासिल गर्यो ।

पहिलो दिन ४ स्वर्ण जितेको आर्मीका लागि दोस्रो दिन महिला ४५ केजीमा कुसुम खड्का तथा ६८ केजीमा थिमा रिता कार्कीले स्वर्ण दिलाए । आर्मीका लागि महिला ६१ केजीमा सनी लामा र ६८ केजीमुनिमा बिभुषा थापाले रजत पदक जिते । प्रतियोगितामा एपिएफले ४ स्वर्ण तथा ४ रजत पदक जित्दै तेस्रो भयो । १९ स्पर्धामा १८ स्वर्ण विभागिय टिमले जित्दा एक स्वर्ण भने मध्यमाञ्चलका लागि महिला ४० केजीमा जिया खड्गीले जितिन् ।

प्रतियोगितामा पुरुषतर्फ ६० केजीमा स्वर्ण जितेका प्रहरीका रविन्द्र कार्की र महिलामा ४५ केजीमा स्वर्ण जितेकी आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट भएबापत दुवैले समान १०–१० प्राप्त गरे । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, मुख्यप्रायोजक सम्झनाका उर्दिप जोशी, कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसीले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट