आईसिसी विश्व क्रिकेट लिगका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार

राजेश थापामगर
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि प्रारम्भिक २८ सदस्यी नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

आईसिसीका प्रतिनिधि अमिनुल ईस्लाम, प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काको छनौट समितिले छनौट गरेको टिमको कप्तानमा पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, बिनोद भण्डारी, सागर पुन, करण केसी, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, मोहम्मद आरिफ शेख, ललित भण्डारी, शुसन भारी, शुशिल कंडेल, नरेश बुढाएर, शक्ति गौचन, जितेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, दिलिप नाथ, बिक्रम सोेब, सुनिल धमला, अनिल मण्डल तथा कुशल भुर्तेल रहेका छन् ।

प्रारम्भिक टिममा दुई जना खेलाडी भने मलेसियामा हुने यू-१९ युथ एसिया कपमा गरेको प्रदर्शनका आधारमा छानिने छन् । नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुुरु हुँदैछ । नेपालले विश्व क्रिकेट लिग छनौटअन्तर्गत सातौ चरणको खेलमा यूएईविरुद्ध शेख जायद मैदानमा मंसिर २० र २२ गते प्रतिस्पर्धा गर्दैछ ।

छैटौं चरणमा हङकङविरुद्धको खेलमा पराजित भएसँगै नेपाल डिभिजन २ मा घटुवा भइसकेको छ । नेपालसँगै यूएई र नामिबिया पनि डिभिजन २ मा घटुवा भइसकेको छ । अंक तालिकामा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ भने यूएई ६ अंकका साथ लिगको पुछारमा रहेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट