न्यू डायमण्डलाई उपाधि

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं, २० कात्तिक । न्यू डायमण्ड एकेडेमीले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा आइतबार भएको फाइनल खेलमा न्यू डायमण्डले बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

न्यू डायमण्डले एभरेष्ट विरुद्ध पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ को स्कोरमा जित निकाल्यो । प्रतियोगिताको विजेता न्यू डायमण्डले नगद एक लाख उपविजेता एभरेष्टले नगद ६० हजार तथा तेस्रो भएको टप्स माविले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।

तेस्रो स्थानको लागि भएको खेलमा टप्स मावि पोखराले कुलेश्वरको पारामाउन्टलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी खेलाडी घोषित भएकी न्यू डायमण्डकी प्रतिभा माली नगद ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

यता व्यक्तिगत विधातर्फ उत्कृष्ट डिफेन्डरमा न्यू डायमण्डकी रस्मिता दुरा, सेटरमा न्यू डायमण्डकै कृपा अधिकारी, स्पाइकरमा एभरेष्टकी पुनम चन्द, ब्लकरमा एभरेष्टकै कामना बिष्ट तथा सरभरमा टप्सकी ममता डगौरा घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट ठहरिएका खेलाडीले नगद ३-३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितन्द्रबहादुर चन्द, आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसी लगायतले पुरस्कृत गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट