अन्तर्राष्ट्रिय ‘याक अट्याक २०१७’ प्रतियोगिता शुरु

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

लमजुङ, १९ कात्तिक । आजदेखि विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११औँ संस्करण शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेेंसीशहरबाट शुरु भएको हो ।

बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताए । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको साथै प्रतियोगिताबाट नेपालको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने इभान्सले जनाए ।

अघिल्लो वर्ष काठमाडौंबाट शुरु भएको प्रतियोगिताको १०औँ र ११औँ संस्करण बेंसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार चारसय १६ मि. उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो । १० दिनसम्म संचालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् ।

पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार चारसय १६ मि. उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले १२ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले सातसय ५० डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट