सिनियरमा आर्मी र जुनियरमा मध्यमाञ्चल च्याम्पियन

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, १९ कात्तिक । १७औँ सिनियर तथा १०औँ जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आर्मी र मध्यमाञ्चल च्याम्पियन भएका छन् । सिनियरतर्फ आर्मीले ८ स्वर्ण, ५ रजत र १ कास्य तथा जुनियरमा मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेका हुन् ।

सिनियरमा ६ स्वर्ण, ६ रजत र ३ कास्य पदकका साथ एपीएफ दोश्रो तथा २ स्वर्ण, ७ रजत र ३ कास्य पदकका साथ पश्चिमाञ्चल तेश्रो भए । त्यस्तै जुनियरतर्फ भने एपीएफले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ दोश्रो स्थान प्राप्त गरे । नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा सिनियरतर्फ पुरुष र महिलामा मध्यमाञ्चलका सागर कुँवर र रञ्जु पुलामी मगर उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै जुनियरतर्फ पुरुष र महिलामा पनि मध्यमाञ्चलका युनिश गौतम र बिपना मगर उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट भएका चारै जना खेलाडीले प्रतियोगिताअन्तर्गत स्पाइरिङ र प्याटर्न स्पर्धामा स्वर्र्ण पदक जितेका थिए । विजेतालाई नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधान, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ)का अध्यक्ष अञ्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।

दुर्इ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट