नेपाल पहिलो खेलमा पराजित

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं । एसीसी यू-१९ युथ एसिया कपको तयारीका लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । बिहिबार बंगलादेशविरुद्ध बंगलादेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । नेपालको लागि मोहम्मद आसिफ शेखले सर्वाधिक ३२, भिम सार्कीले २८, पवन सराफले १९, अनिलकुमार शाहले १८, कमलसिंह ऐरीले १७ र दिपेन्द्रसिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेका थिएनन् ।

बंगलादेशका हसन महम्मद र काजी अनिक इस्लामले ३-३, नाईम हसनले २ तथा शाखओत हुसेनले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको बंगलादेशी युवा टिमले ७ विकेटको क्षतिमा निर्धारित १ सय ५४ रनको लक्ष्य ३९औँ ओभरमा पूरा गरेको थियो ।

बंगलादेशको जितमा नाईम शेखको ५३ र टाउहिड रेडलीको ४८ रनको योगदान महत्वपूर्ण रह्यो । नेपालका सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै १ मेडनका साथ मात्र २५ रन दिएर ४ विकेट लिए पनि नेपालको हारलाई टार्न सकेनन् । नेपालले शनिबार बंगलादेशविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट