तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

तेह्रथुम, १५ कात्तिक ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तेह्रथुममा चुनावी चहलपहल बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी चहलपहल देखिएको हो ।

नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ । वाम गठबन्धनले एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् । महिलानेत्री गुरुङ नेपाली काँग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुन् । २०६४ र २०७० सालको संविधानसभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् भइसकेकी छिन् । एमालेका खापुङ २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ । ढुंगाना नेपाली काँग्रेस तेह्रथुमको दुई पटक नेतृत्व लिएका सभापति समेत हुन् । तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुन् । ढुंगाना अहिले पनि नेपाली काँग्रेस तेह्रथुमको जिल्ला सभापति हुन् । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा पनि निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली काँग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले निर्वाचन क्षेत्र २ बाट प्रदेशसभाका लागि तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसका प्रखर नेता सम्बाहाम्फे र एमालेका पूर्व जिल्ला सभापति कन्दङवाबीचको प्रतिस्पर्धा पनि रोचक हुने बताइएको छ । वाम गठबन्धनबाट जिल्लामा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार पाएको छैन । तेह्रथुममा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट