बैतडी क्रिकेट संघमा नयाँ कार्यसमिति चयन

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

बैतडी, ९ कात्तिक । बैतडी जिल्ला क्रिकेट संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री, कोषाध्यक्षमा खेमराज भट्ट र सदस्यहरुमा चतुरबहादुर चन्द, तेजप्रकाश भट्ट, जयदेव जोशी, बसन्तप्रकाश विष्ट, राजेश खत्री, गणेशबहादुर चन्द, गणेशसिंह भण्डारी, वीरसिंह बोहरा, टेकबहादुर चन्द, सुरज पार्की रहेका छन् ।

जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष रमेश बोहराको अध्यक्षतामा सम्पन्न सातौँ अधिवेशनको प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द रहेका थिए । नेपाल क्रिकेट संघको संशोधित विधानअनुसार जिल्ला अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिको कार्यकाल अगामी चार वर्षको लागि हुनेछ । वि.सं.२०५५ मा स्थापना भएको बैतडी जिल्ला क्रिकेट संघको संस्थापक अध्यक्ष क्यान अध्यक्ष चतुरबहादुर चन्द थिए । उनले दुई कार्यकाल र जयदेव जोशी, विनोदबहादुर चन्दले जिल्ला क्रिकेट संघको नेतृत्व गरिसकेका छन् । यस्तै रमेश बोहराले दुई कार्यकाल सम्हालेका थिए ।

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनका लागि सर्वसम्मतरुपमा केन्द्रीय प्रतिनिधिमा क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई चयन गरेको छ । बैठकले प्रान्तीय क्षेत्रीय अधिवेशन प्रतिनिधिमा क्यानका पूर्व केन्द्रीय सदस्य जयदेव जोशी, पूर्व क्षेत्रीय सचिव तेजप्रकाश भट्ट, वसन्तप्रकाश विष्ट र तेजबहादुर चन्दलाई चयन गरेको छ । प्रदेश नं.७ का ८ जिल्लासहित नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएका देशका ३९ सबै जिल्लामा बुधबारसम्म अधिवेशन सम्पन्न भइसकेको बताइएको छ । प्रदेश नं.७ को दार्चुलामा देवेन्द्र भट्ट, बझाङमा प्रविन्द्र धामी, डोटीमा दिनेश सिंह, कैलालीमा रतन कठायत र कञ्चनपुरमा वीरेन्द्र चन्द अध्यक्षमा चयन भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट