अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदै

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

स्याङ्जा, ६ कात्तिक । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता भिरकोट नगरपालिका–५ स्वरेक मैदानमा हुने भएको छ । बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीका अनुसार बाबु एडभेञ्चर क्लबको आयोजनामा यही कात्तिक १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै तीनसय खेलाडीको सहभागिता रहने छ ।

स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेकोले यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ । यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताए ।

प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहौंसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेशलगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।

आयोजक बाबु एडभेञ्चर क्लबले छ दिनसम्म संचालन हुने प्रतियोगितामा ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट