राष्ट्रिय फुटसल टिमको बिदाई

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

राजेश थापामगर

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय फुटसल टिमको बिदाई गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सहभागी हुन जाने २३ सदस्यीय नेपाली टिमलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले बिदाई गरेका थिए । एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले नेतृत्व गर्ने नेपाली टिममा १४ खेलाडी, १ मुख्य प्रशिक्षक, २ सहायक प्रशिक्षक, टिम म्यानेजर, फिजियोथेरापिष्ट तथा ४ अफिसियल रहेका छन् ।

पहिलो पटक औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टिमको कप्तानीको जिम्मा सुरज राउत तथा उपकप्तानको जिम्मा नविन लामालाई दिइएको छ । समूह ए मा रहेको नेपालले पहिलो खेल उज्बेकिस्तानसँग असोज २९, दोस्रो खेल किर्गिस्तानसँग ३० तथा तेस्रो खेल तुर्कमिनिस्तानसँग ३१ गते खेल्नेछ ।

समूहको शीर्ष दुई स्थानमा आउने टिम एएफसी फुटसलका लागि छनौट हुनेछ । असोज २७ देखि कार्तिक ५ गतेसम्म इरानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने नेपाली टिमले बिहीबार राति नै त्यसतर्फ प्रस्थान गरेका थिए ।

बिहीबार नै भएको बिदाई कार्यक्रमबीच एन्फा र जर्सी पसल नेपाल प्रा लि बीच राष्ट्रिय फुटसल टिमलाई व्यवस्थित गर्न तीन वर्षका लागि सहकार्य गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा एन्फा अध्यक्ष्ँ नरेन्द्र श्रेष्ठ तथा जर्सी पसल नेपालका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद गुप्ताले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार जर्सी पसल नेपालले राष्ट्रिय फुटसल टिमलाई वार्षिक रु ३० लाख बराबरको खेल सामाग्री प्रदान गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट