९२ करोडमा बहुउद्देश्यीय स्टेडियम बन्ने

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

राजेश थापामगर

काठमाडौं । कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बन्ने भएको छ । नेपाल जोरखाने खेलकुद संघले निर्माण गर्ने उक्त स्टेडियमका लागि बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जोरखाने संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

बहुउद्देश्यीय स्टेडियम निर्माणका लागि आवश्यक पर्ने कूल लागतको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघले व्यवस्था मिलाउने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी स्टेडियम निर्माणका लागि आवश्यक पर्ने १८ देखि २० रोपनी जग्गा कीर्तिपुर नगरपालिकास्थित वडा नम्बर १० मा संघलाई उपलब्ध गराउने गरी नगरपालिकाका मेयर रमेश महर्जन र संघका अध्यक्ष मानन्धरबीच सम्झौता भएको छ ।

अध्यक्ष मानन्धरले चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण कार्य थाल्ने बताउँदै ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । बहुउद्देश्यीय स्टेडियम हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्नेजियम रहनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट