एएफसीद्वारा प्रहरीद्वय खनाल र पाठक सम्मानित

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । नेपालमा भएको म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको भन्दै म्याच फिक्सिङ प्रकरणको नेतृत्व लिएर अनुसन्धान गरेका नेपाल पुलिसका सर्बेन्द्र खनाल र सुदीपराज पाठकलाई एशियाली फुटबल महासंघले सम्मान गरेको छ । सम्मानमा एएफसीका महासचिव डाटो विण्डरसन जोनले भने, ‘डिआइजी खनाल र डिएसपी पाठकलाई एएफसी हाउसमा सम्मानका साथ स्वागत छ, जसले सन् २०१५ मा नेपालमा महत्वपूर्ण म्याच फिक्सिङ प्रकरणको सफल अनुसन्धान गर्नुभयो ।’ ‘यो सुनेर म निक्कै प्रसन्न भएको छु कि नेपालको सरकारले म्याच फिक्सिङलाई अपराधको रुपमा परिभाषित गरेको छ । यसले म्याचको नतिजा हेरफेर गर्नेहरुलाई कारबाही गर्न सहज भएको छ । अन्य देशहरुले पनि यस उदाहरण कार्यान्वयन गरुन् ।’

२०१५ डिसेम्बर ४ मा एएफसीको इथिक्स कमिटीले चार जना नेपाली खेलाडी र एक अफिसियललाई फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो । अफिसियल अञ्जन केसी तथा चार खेलाडीहरु सागर थापा, सन्दिप राई, रितेश थापा र विकाशसिंह क्षेत्री एएफसीको अनुशासन तथा नैतिक संहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएका थिए ।

एएफसीले स्पोर्टराडार, नेपाल पुलिस र युईएफएको इन्टिग्रिटी कमिटीको सहयोगमा एक वर्ष लामो अनुसन्धान पछि खेलाडी तथा अफिसियललाई प्रतिबन्ध लगाएको थियो । नेपाल प्रहरीका तत्कालिन एसएसपी सर्बेन्द्र खनालले यस अनुसन्धानको नेतृत्व लिएका थिए भने तत्कालिन इन्स्पेक्टर सुदीपराज पाठकको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट