दशैँ विशेष : नौरथाभरि नौ नारी

सेफ्टीपिनसँग शर्मिला गुरुङ (भिडियोसहित)

प्रकाशित मिति: १२ आश्विन २०७४, बिहीबार

प्रहरी निरिक्षक शर्मिला गुरुङ, हाल महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र रानीपोखरीमा इन्चार्जको रुपमा कार्यरत छिन् । पारिजातद्वारा लिखित चर्चित उपन्यास ‘शिरिषको फूल’मा सकम्बरीको भूमिका निर्वाह गरेकी प्र. नि. शर्मिला एक कलाकार पनि हुन् । एक सन्तानकी आमा शर्मिला पढाईमा अब्बल थिइन् । हाल अनुगमन एकाईको रुपमा रहेको महानगरीय प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाको विरुद्धमा ‘सेफ्टिपिन नामक’ अभियान संचालन गरेको छ । ‘सेफ्टीपिन ‘ अभियानमा व्यस्त उनै प्र.नि. शर्मिला गुरुङसँग बडा दशैँको आठौं दिन महाअष्टमीमा रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा रेनु कार्कीले गरेको कुराकानी  :

सेफ्टिपिनको बारेमा बताइदिनुस् न ?
सेफ्टीपिन अभियान भनेको महिला तथा बालबालिकालाई सवारीसाधनमा यौनजन्य हिंसा भएको धेरै गुनासो आयो । गुनासो आएपश्चात हामीले एउटा सानो सर्भे पनि गरेर हेर्यौ कि कत्तिको यो सम्बन्धमा प्रहरीले के किसिमको कार्य गरिराखेको छ भनेर । हाम्रो मातहतमा रहेको भक्तपुर, काठमाडौं र ललितपुरमा यस किसिमको कतिवटा घटनाहरु आइराखेको छ र त्यसलाई कसरी डिल गरिराखेको छ भनेर बुझ्दाखेरी निकै नै न्यून मात्रामा आएको पाइयो र आएको केशहरुलाई पनि केबल मिलापत्रमा मात्र सिमित राखेको पाइयो । यस किसिमको प्रवृत्तिले पीडकलाई मनोबल बढ्ने देखिएको कारणले गर्दा हामले चाहिँ होइन अब चाहिँ चुप लागेर बस्नु हुँदैन भन्ने हिसाबले ‘सेफ्टीपिन’ नाम दिएर एउटा अभियान संचालन गरेका हौं । पहिला र अझै पनि सार्वजनिक सवारीसाधनहरुमा महिलाहरुमाथि यौनजन्य हिंसा हुँदा लुगाहरुमा लगाएको सेफ्टीपिनलाई प्रतिकार गर्ने चलन थियो र अझै पनि छ । त्यसैलाई हामीले अभियानमार्फत कारवाहीमा ल्याउछौ है भनेर नाम दिएका हौं । जसअन्तर्गत जनचेतना, स्टिङ अप्रेशन, कानुनी कारवाही गरी तीनवटा पाटोहरु रहेका छन् । जनचेतनाको पाटोमा हामीले पीडक, पीडित र बसमा सवार अन्य यात्रुहरुलाई सचेत गर्नको लागि जनचेतनाको पाटो त छँदैछ, त्यसमा स्टिङ अप्रेशनको लागि उपत्यकामा चल्ने गुड्ने सार्वजनिक सवारीसाधनहरुमा सयजनाभन्दा बढी प्रहरी कर्मचारीहरुलाई साधा पोशाकमा पठाएका छौं, र उनीहरुलाई तत्कालै त्यस्तो हिंसा भएमा कानुनी कारवाहीमा ल्याउछौं ।

यो अभियानअन्तर्गत अहिलेसम्म कतिजनालाई कारवाही गर्नु भएको छ ?
हामीले यहि साउन १८ गतेबाट संचालनमा ल्याएको लगभग डेढ महिनाको अवधिमा अहिलेसम्म ७१ जनालाई नियन्त्रणमा लिइसकेका छौं भने २५ जनाविरुद्ध मुद्दा अगाडि पनि बढाइसकेका छौं ।

कस्तो कारवाही गर्नु हुन्छ ?
सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत रहेर कारवाही प्रक्रिया अगाडि बढाउछौं । यसको सुरुको कारवाही र यसको किनारा लगाउने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीमा निहित रहन्छ ।

उपत्यकामा धेरै सवारीसाधन छन्, सबैमा भ्याउनु भएको छ त ?
अहिले हामीले उपत्यकामा चल्ने कुनै पनि रुट नछुट्ने गरी प्रत्येक रुटमा अप्लाई गरेका छौं । तर, प्रत्येक रुटमा त्यसले सबै सवारीसाधनलाई इनक्लुड त गर्दैन, त्यस्तो अवस्थामा हाम्रो आफ्नै लैंगिक हिंसा नियन्त्रण गर्नको लागि मोबाइल भ्यान पनि रहेको छ, जुन २४सैं घण्टा संचालन भइराखेको हुन्छ । त्यहि भ्यानको एउटा मोबाइल नम्बर ९८५१२८९१११ पनि रहेको छ । त्यहि मोबाइल नम्बरमा उहाँहरुलाई कुनै घटना भयो भने फोन गरेर वा म्यासेज गरेर उजुरी दिन सक्नु हुन्छ । उजुरी पाउने बित्तिकै सकिन्छ भने त्यो भ्यान, यदि टाढा छ वा सकिदैन भने त्यो नजिकमा कुनै प्रहरी युनिट वा मोबाइल भ्यानहरु, सिआरबी टोलीहरु उहाँहरुलाई पठाएर कारवाही अगाडि बढाउछौं ।

बसमा देखिएका त्यस्ता घटनाहरुलाई प्रहरीले कसरी कारवाही गर्छ ?
जुन बसमा खटिनु भएको प्रहरी कर्मचारीले देख्नु भयो भने त्यो तत्कालै प्रहरी नियन्त्रणमा आउने नै भयो । त्यो बाहेक पीडित आफैले उजुरी नदिएसम्म हामीले केही नदेखिकन कसैलाई कारवाही अगाडि बढाउन सक्दैनौं । यहाँनेर प्रहरीलाई च्यालेन्ज त्यहि नै रहेको छ कि, पीडित आफै बोल्न नै चाहनु हुन्न । किनकि अहिलेसम्म खटिनु भएका प्रहरीका अनुसार त्यहाँ हिंसा भइराखेको पनि छ, त्यतिखेर पीडित कारवाही गर्न तयार पनि हुनुहुन्छ तर पछि गएर होइन हामी यो प्रहरीको झन्झटमा पर्न चाहदैनौं भन्ने किसिमका कुराहरु गर्नु हुन्छ । यो विरुद्धमा आवाज उठाउनु पर्छ है भनेर पीडितहरु आफै नै सचेत हुनुहुन्न । त्यसले गर्दा प्रहरीलाई एक किसिमको चुनौती पनि छ । किनभने मुद्दा चलाउनको लागि त प्रमाण जुटाउनु पर्ने हुन्छ । कतिपय पीडितहरुले तपाईंको नाम गोप्य राखिदिन्छौं भन्दा पनि उहाँहरुले समर्थन गरिदिनु हुन्न ।

अहिलेसम्म त्यस्ता पीडित महिलाहरु आउनु भएको छ ?
पीडित महिला अहिलेसम्म आउनु भएको छैन । बसमा भइरहेको हुन्छ, हाम्रो प्रहरी कर्मचारीले यसलाई नियन्त्रणमा लिनुपर्छ भनिराख्नु भएको हुन्छ तर त्यसको लागि त पीडितले पनि बोलिदिनु पर्ने हुन्छ । पीडितलाई तपाईं बोलिदिनुस न भन्दा हैन हामी प्रहरीको झन्झटमा पर्दैनौं भन्नु हुन्छ ।

यो अभियान त उनीहरुकै लागि चलाइएको हैन र अनि किन उनीहरुले यस्तो प्रतिक्रिया दिएका त ?
जहाँसम्म मैले अनुभव गरेअनुसार भन्नुपर्दा, एउटा चाहिँ श्रीमानको कारणले पनि हुनसक्छ, प्रतिष्ठासँग जोडिएको । जस्तो मैले यस किसिमको आवाज उठाए भनेदेखि म माथि नै कसैले शंका गर्ने हो कि भन्ने पनि हुन सक्छ । अर्को डरको कारणले गर्दा पनि हुन सक्छ, किनभने पीडिक मान्छे सधैंभरि त्यहि गाडीमा मात्र गुडिराख्न पनि सक्छ । अनि आज गएर त्यो मान्छेको विरुद्धमा केस हाले भने भोली गएर त्यसले मलाई कस्तो व्यवहार गर्ला भन्ने एउटा डरको कारण पनि हुनसक्छ । अर्को कुरा यात्रुहरुलाई आफ्नो गन्तव्यमा पुग्न हतार भइराखेको हुन्छ, पीडितले गाडीबाट झरेर उजुरी गर्न जान समय लाग्ने भएको कारणले पनि हुन सक्छ । यिनै कारणले गर्दा पीडितहरु आवाज उठाउन चाहनु हुन्न

त्यसो भए यो अभियान सफल हुन त गाह्रै पर्ला ?
सेफ्टीपिनअन्तर्गतका तीनवटा जनचेतना, स्टिङ अप्रेशन, कानुनी कारवाहीको पाटोमध्ये जनचेतनाको पाटो हामीले जुन हिसाबमा दिनुपर्ने हो त्यो हिसाबले दिन सकिराखेका छैनौं । जबसम्म मान्छे सचेत हुँदैन तबसम्म त्यहाँ परिवर्तन पक्कै पनि आउदैन । त्यो कारणले स्टिङ अप्रेशनमा हामी नियन्त्रणमा चाहिँ लिइराखेकाले यो अभियान प्रभावकारी नै भइराखेको छ । तर नियन्त्रणमा मान्छे पक्राउ गर्नु हाम्रो उद्देश्य होइन, हामीले त त्यो विरुद्धमा खुलेर आवाज उठाउन सकोस र पीडकले पनि त्यो किसिमको हिंसालाई रोकोस् भन्ने हाम्रो उद्देश्य हो । त्यो हिसाबले हेर्दा कुनै पाटोमा हामी सफल पनि भएका छौं भने सचेतना, जनचेतनाको पाटोमा चाहिँ अझै पनि उहाँहरु खुलेर लाग्नु भएको छैन । त्यसले गर्दा कही न कही पछाडि परिराखेको छ । तर यदि तपाईं परिवर्तन चाहनु हुन्छ भने परिवर्तनको सुरुवात त तपाईं आफैले नै गर्नुपर्छ । त्यसैले प्रत्येक समाज, एकाई नै आफै नै लागिपर्नु पर्छ ।

कसरी आउनु भयो प्रहरीमा ?
मेरो फौजी ब्यागग्राउण्ड हो । बुबा, दिदी आर्मीमा हुनुहुन्थ्यो । विशेष मेरो सानैदेखि आर्मीतिर बढी झुकाव थियो । आर्मी अफिसर हुन चाहन्थे तर दिदी आर्मीमा गइसक्नु भएकोले फरक बाटो रोजौं कि भन्ने लागेर प्रहरीमा आएको हुँ । आर्मी र पुलिसको स्वभाव लगभग समानान्तर नै छ । आखिरी दुवैले देश, समाजकै लागि सेवा गर्ने भएकाले पनि यो पेशा रोजेको हुँ ।
तपाईंले अभिनय पनि गर्नु भएको छ ?
हो गरेको छु । पारिजातद्वारा लिखित शिरिषको पूmलमा आधारित रहेर बनेको फिल्ममा मैले अभिनय गरेकी छु । पपुलर उपन्यासको आर्ट मूभी भएको कारणले गर्दा अभिनय गरेको हुँ । रहरले नै म चलचित्र क्षेत्रमा नायिका नै बनेर देखाउँछु भनेर अभिनय गरेकी चाहिँ पक्कै पनि होइन ।

फेरि पनि फिल्म खेल्न अफर आयो भने के गर्नुहुन्छ ?
एउटा दुईवटा म्युजिक भिडियोको अफर नआएको त होइन । तर पनि मेरो इच्छा आर्ट मूभी भएको कारणले गर्दा, समाजमा पनि केही दिन सकियोस भन्ने कारणले मात्र मूभीमा खेलेको हुँ । त्यस्तै विषयवस्तु भएकामा अफर आयो भने नाई त अवश्य भन्दिन । त्यसैले चलचित्र क्षेत्रमा जानै सक्दिन भन्ने पनि होइन । समाजमा सकारात्मक समाचार दिन सक्नु पर्यो, स्क्रिप्ट आफूलाई चित्त बुझ्दो हुनुपर्यो त्यो पछि त छँदैछ ।

दशैँ, तिहारको बेला चोरीलगायतका धेरै घटना हुन्छन्, के कस्ता सुरक्षा व्यवस्था गरिएको छ ?
दशैँको बेला अन्य समयमा भन्दा बढी घटनाहरु हुन्छन् । त्यसकारणले गर्दा महानगरीय प्रहरी कार्यालयले नै अन्य समयमा भन्दा बढी नै ड्यूटी गरेर बलियो सुरक्षा रणनीति अपनाइराखेको अवस्था छ अहिले ।

महिला भएर यो क्षेत्रमा काम गर्न कत्तिको सजिलो छ ?
महिलाले धेरै भूमिकाहरु निभाउनु पर्ने हुन्छ जस्तो लाग्छ । एउटा छोरी, बुहारी, प्रहरीमा आएर प्रहरी अधिकृतलगायतका विभिन्न भूमिका निर्वाह गर्नुपर्दा त्यहाँ गाह्रो त पक्कै पनि हुन्छ । तर आफूले म्यानेज गर्न सक्नुपर्छ । प्रहरीमा आउने बित्तिकै गाह्रो नै छ भन्ने पनि होइन । यस भित्र केही अप्ठ्याराहरु भित्र केही रमाइला पक्षहरु पनि छन् । घरमा सासु मम्मी, श्रीमान्, बाबु, दाई भाउजु हुनुहुन्छ । मम्मी, श्रीमान, बाबु, म सँगै बस्छौं । दाई भाउजु धनगढीमा हुनुहुन्छ ।

श्रीमान् पनि यही फिल्डमा काम गर्नु हुन्छ हो ?
श्रीमान र म एउटै ब्याचबाट आएका हौं, हामी दुवैजना प्रहरी निरिक्षक नै हौं । परिवारको साथ र सहयोग भएकाले यो मलाई क्षेत्रमा धेरै सजिलो भएको छ ।

इन्टरकास्ट बिहे गर्नु भएको हो ?
म गुरुङ र श्रीमान घिमिरे हुनुहुन्छ ।

बिहे गर्दा परिवारबाट कुनै अवरोध आएन ?
मेरो एजुकेटेड परिवार भएकोले हाम्रो इन्टरकास्ट म्यारिजमा अवरोध भएन । प्रमुख कुरा भनेको त बुझ्नु प¥यो, मन मिल्नु प¥यो, त्यो भन्दा बढी अरु के नै हुन सक्छ र ? परिवारको साथ र सहयोग नपाइकन कुनै पनि चिज सम्भव हुन सक्दैन । मेरो सासुमम्मीले म अफिस आएको बेला बाबुको हेरचाह गर्नुहुन्छ, श्रीमानले पनि बुझिदिनु हुन्छ । समय मिलाउन गाह्रो पनि हुन्छ तर गरेर नसकिने पनि होइन, हामीले समय मिलाइ नै राखेका छौं ।

दशैँ कसरी मनाउदै हुनुहुन्छ ?
यसपालीको दशैँ मेरो एकदमै रमाइलो हुँदैछ । विगत दुई तीन वर्षदेखि हामी परिवार अलग अलग थियौं । श्रीमान पनि ट्रेनिङको सिलसिलामा विदेशमा हुनुहुन्थ्यो । सबैजना उपत्यका भित्रै भएकाले विगतका दिनहरु भन्दा यसपालीको दशैँ एकदमै रमाइलो हुँदैछ । अहिले हामी सबै परिवार काठमाडौं उपत्यका भित्रै छौं, दशैँमा कुनै योजना बनाएका छैनौं तर सम्भवत उपत्यका बाहिर पनि जान सक्छौं ।

बाल्यकालको दशैँ र अहिलेको दशैँ कुन बढी रमाईलो ?
पहिलाको दशैँ र अहिलेको दशैँको तुलना गर्दा पहिलाको दशैँ भन्ने बित्तिकै त्यसै फुरुङ्ग बनिन्थ्यो । दशैँ आउनुभन्दा १०/१५ दिन अगाडि देखि नै दशैँ आयोभने जस्तो खालको माहोल नै छुट्टै हुन्थ्यो । तर अहिले आएर उमेर बढेको कारणले पनि हुन सक्छ, आफूले मन लागेको बेलामा खाइने, नयाँ लुगा लगाइने भएकाले होला पहिलाको जस्तो रमाइलो फिल चाहिँ हुँदैन ।

अन्त्यमा …
देश विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु । चाडलाई चाडको रुपमा, उत्सवको रुपमा नै मनाउनु होस, विसंगतिहरुबाट टाढै रहनुहोस् । आफ्नो योग्यता, दक्षताअनुसार मनाउनुहोस् । प्रहरी भनेको तपाईंहरुकै साथी हो, त्यसैले दुःख सुख कुनै पनि समयमा तपाईंहरुले हामीलाई सम्झन सक्नु हुन्छ । सेफ्टीपिन अभियान तपाईंहरुका लागि नै संचालनमा ल्याएका हौं, तसर्थ यस सम्बन्धमा खुलेर आवाज उठाउनुहोस् । परिवर्तन तपाईंले चाहने हो भने तपाईंबाट नै सुरु गर्नुहोस, त्यसको लागि हामी पनि साथ दिन तयार छौं । एउटा राम्रो समुदाय बनाउनको लागि एउटा पक्षको मात्र साथ र सहयोग आवश्यक भएर हुँदैन, सम्पूर्ण पक्षहरुको आवश्यकता पर्दछ । त्यसकारण आउँ सबै मिलेर समृद्ध समाजको निर्माण गरौ भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट