दशैँ विशेष : नौरथाभरि नौ नारी

२१ जना बालबालिकाकी आमा उमादेवी (भिडियोसहित)

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

विदेश गएर धेरै पैसा कमाउने सोचले काठमाडौंमा हिब्रु भाषा सिक्न आएकी उमादेवी बस्नेत अहिले काठमाडौंको पेप्सीकोला खहरेमा बाल आश्रम चलाएर बसी रहेकी छन् । इलाम घर भए हाल आश्रममै २१ जना बालबालिकासँग जीवन बिताइरहेकी उमादेवी विवाहित हुनुहुन्छ र एक छोरा, एक छोरीकी आमा पनि हुनुहुन्छ । विगत १८ वर्षदेखि श्रीमानसँग टाढिएकी उनको श्रीमानसँग सम्बन्धविच्छेद पनि भएको छैन । छोरीको विवाह गरिदिएकी उमादेवीका छोरा अहिले पढाई गर्नुका साथै आमालाई आश्रममा सहयोग गर्दै आएका छन् । आफ्ना दुई सन्तान हुँदा हुँदै २१ जना अनाथ बालबालिकालाई लिएर उनले विगत ९ वर्षदेखि हेरचाह गर्दै आएकी छन् । आफ्नो कामप्रति सन्तुष्ट रहेको बताउँने उमादेवीसँग बडा दशैँको नवौं दिन नवमीमा रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा रेनु कार्कीले गरेको कुराकानी  :

बाल आश्रम चलाइराख्नु भएको छ, यसको बारेमा बताइदिनुस् न ?
सिर्जनशील बाल परिवार भनेर वि.सं.२०६६/६/१ मा दर्ता गरेको हो । तर, मैले बच्चाहरु राख्न २०६५ सालदेखि नै सुुरु गरेको हुँ । सात जनाबाट सुरु गरेको नानीहरु अहिले २१ जना पुगेका छन् । विभिन्न ठाउँका नानीहरु छन्, बढीमा पश्चिमतिरका छन् । आजसम्म पनि यो संस्था सहयोगी हातहरुले नै चलिराखेको छ । सबैजनाले सहयोग गरिदिनु भएको छ, त्यसैले आजसम्म टिकी पनि राखेका छौं ।

कसरी सोच आयो बालबच्चाहरुलाई पालेर बस्ने ?
यो खोल्नुभन्दा अगाडि म हङकङ बस्थे । त्यहाँ डोमेस्टिकमा काम गर्न भनेर गएको थिए । धेरै आफन्तहरु इजरायल भएकाले म पनि उतै जानु पर्यो अलि बढी पैसा हुन्छ भनेर नेपाल आए । हिब्रो भाषा सिक्ने भन्दाभन्दै इजरायल जान बन्द भइदियो । काठमाडौं बस्दाबस्दै एकजना स्याङ्जाको दाईले सातजना बच्चाहरु ल्याउनु भएको थियो र मलाई बहिनी राम्रो काम गरौं भन्नु भएकोले हुन्छ भने र पछि दुई तीन महिना भएपछि उहाँहरुले यो संस्था, बच्चा सबै छोडिदिनु भयो । अनि ति बच्चाहरुसँग बसिसकेपछि माया मोह भयो र विदेशको चक्कर सबै छोडेर मेरो जिन्दगी यसैमा लाग्छु भन्नेतिर लागे । यिनीहरुसँग बस्दा मलाई विदेशको मोह पनि भएन यिनीहरुसँग बस्दा बस्दै आज नौ वर्ष बितिसक्यो ।

आफ्नो छोराछोरी हुँदाहुँदै अरुको बच्चाहरु पाल्न गाह्रो होला भन्ने लागेन ?
मैले सानैमा विवाह गरे । सानैमा दुईवटा बच्चा भए । मेरो बच्चाहरुलाई उनीहरुको बाबाले १७/१८ वर्ष भयो छोडिदिएको । मैले मेरा बच्चाहरु पनि दुःख गरी नै हुर्काएको थिए । अप्ठ्याराहरु त परि नै हाल्छन् तर यि बच्चाहरुलाई पनि गर्छु भन्ने एउटा हिम्मत थियो । सुरुसुरुमा त गाह्रो भइहाल्छ, फेरि एकैचोटी सबैले विश्वास पनि त गर्दैनन् यस्तो कामहरुलाई । सबैलाई भनसुन गर्दैगर्दै सबै मिडियाहरुले पनि सहयोग गरिदिनु भएकोले सबैबाट सहयोग भयो । आजसम्म हामी यसरी नै चलिराखेका छौं ।

अहिले २१ जना बालबच्चाहरुलाई कसरी खर्च जुटाइराख्नु भएको छ ?
सुरुसुुरुमा त गाह्रो भइहाल्छ । मेरो एकजना बच्चा रिमा पुरी अपाङ्ग छिन् । यिनकै कारणले एकजनाले एफएममा सहयोगी हातहरुमा कार्यक्रम बजाइदिनु भयो । त्यहि कार्यक्रम सुनेर एकजना रोजी दिदी र हरि सर यहि घरमै आएर १४ जना बच्चा रहेछन्, नाजुक अवस्था रहेछ, खान बस्न अभाव रहेछ भन्ने कुराहरु फेसबुकमा हालिदिनु भएपछि अनि मलाई सहयोगहरु जुट्दै गयो । यति नै सहयोग भनेर तोकिदिएर दिने त कोही हुनुहुन्न तर कोही न कोही भगवान बनेर आइदिनु हुन्छ मेरो लागि । त्यसरी नै चलेको छ, मेरो कुनै निश्चित डोनेशन पनि छैन र खाँचो पनि छैन । भोलीको दिनलाई साह्रो गाह्रो पर्छ कि भन्ने त लाग्छ । चिन्ता त लागिहाल्छ नि, कहिले जग्गा भाडा तिर्न हुँदैन ।

यो बसीराखेको टहराहरु कसले बनाइदिएको हो ?
हामी बसिराखेको टहराको लागि सयौं नेपाली हातहरु जुटिदिनु भयो । एकजना नेपाली भाईले एकजना जापानीज ल्याएर स्टडी रुम बनाइदिनु भयो । अफिस रुम नेवारी समुदायले बनाइदिनु भयो । किचन लायन्स क्लबले बनाइदिनु भएको हो । अहिले बस्न त राम्रो छ, खानेकुराहरुलाई मात्रै अलिकति कहिले कहिले साह्रो गाह्रो पर्छ । दशैँ आयो उनीहरुलाई प्रशस्तै त हुँदैन त्यहि पनि पुगिनै राखेको छ । प्रायजसोले यहाँ जन्मदिनहरु मनाउनु हुन्छ, कसैले आफ्ना बुबा आमा नभएको तिथी मितिमा पनि दिनुहुन्छ । उहाँहरुले नै यस्तो रहेछ भनेर अरुलाई सुनाउनु हुन्छ अनि अरुहरु पनि आइदिनु हुन्छ । मलाई कस्तो लाग्छ भने, सुनेको भरमा भन्दा यहाँ आएर आफै हेरेर, बच्चाहरुलाई सोधेर, यहाँको अवस्था हेरेर गरिदिनु भयो भने उहाँहरुलाई पनि खुसी लाग्छ र मलाई पनि खुसी लाग्छ ।

सुुरुको अवस्था कस्तो थियो ?
सुुरुमा म कोठा लिएर काठमाडौंमा हिब्रो भाषा पढ्नलाई बसेको थिए । दाईले यि बच्चाहरुको लागि फ्लाट भाडामा लेउ भनेकोले सिनामंगलमा १० हजारकै भाडा लिए । त्यहाँ तीन महिना बस्दा घरबेटीले पानी नदिने, बच्चाहरुले फोहोर गरे भनेपछि फेरि अलि पर्तिर सरे । त्यहाँ माओवादीले कब्जा गरेको एउटा घर रहेछ, त्यहाँ सरे, बत्ती पानी भने थिएन । सात महिना त्यहाँ बसे । त्यहाँ बस्दा मेनपावरलगायत मिलेर भाडा तिरिदिनु हुन्थ्यो । त्यहाँबाट फेरि काडाघारी सरेर छ वर्ष बसे । त्यहाँ हुँदाहुँदै १६/१७ जना बच्चाहरु पुगेकोले ठाउँ अभाव भयो । त्यहाँबाट एकजना भाईको घरमा सर्यौ र भूकम्प पनि आइदियो । भूकम्पले गर्दा बच्चा हामी सबैजना बस्नै डरायौं । भूकम्प आएपछि बाहिर दुई महिना पालमा बस्यौं । पालमा बस्दा पनि बच्चाहरु डराउने, चिच्याउने गर्थे । त्यसपछि मैले जग्गा भाडामा लिएर टहरा बनाउँछु भन्ने सोचे, त्यतिबेला हामीलाई नबिल बैंकले दिएको तीन लाख पैसा पनि थियो । अनि अहिले बसेको जग्गा भाडामा लियौं । टहरा बनाउन नपुग्ने भएपछि फेरि यस्तो यस्तो छ भनेर हाम्रो अवस्था फेसबुकमा हालिसकेपछि हामी गर्छौ भनेर कसैले गिट्टी, कसैले सिमेन्ट, टिन, प्लाई, बल्क गर्दागर्दै यो टहरो बन्यो । यहाँ वैशाखमा भूकम्प गयो भदौमा सरेको हो । अहिले फेरि केटाहरुलाई त्यहाँ सुत्न साँघुरो भयो भनेर फेरि एउटा कोठा निकाल्न सुरु गर्दैछु, सहयोग जुटेको छैन, अस्ति चार गाडि माटो जुटेर त्यहाँ थुपारिराखेको छु । सहयोग भयो भने दशैँ पछिदेखि बनाउने भन्ने सुर छ ।

यहाँ कस्ता खालका बच्चाहरु राख्ने गर्नु भएको छ ?
मैले जुन ठाउँबाट बच्चाहरु ल्याएको छु त्यहि ठाउँमा पुग्न सकेको छैन् । कतिजना पत्रपत्रिका हेरेर त्यहाँ यस्तो बच्चा छ भनिदिनु हुन्छ, कतिजना चिनजान भएकाले ल्याइदिनु भएको छ । सबैलाई त समेट्न सकिएको छैन, अनि ठाउँ पनि प्रशस्तै छैन । आउन त धेरैजना दुःख पाएकाहरु आउनु हुन्छ तर राख्न सकेको छैन । राख्न त धेरै मन लाग्छ तर ठाउँ छैन अनि सहयोग पनि मेरो निश्चित(फिक्स) छैन । सहयोग फिक्स भएदेखि गरिब दुःखी र कोही नभएको बच्चाहरु राख्नै पर्छ जस्तो लाग्छ, आश्रम खोलिसकेपछि । राखौला तर सुताउने ठाउँ पनि पुग्दैन, खुवाउनलाई अभाव हुन्छ, त्यो कारणले यो भन्दा धेरै राख्न सकेको छैन । यहाँ गरिब, असहाय, आमाबुबा नभएका सबैखालका बच्चाहरु छन् ।

अहिले भएका बच्चाहरुको पहिचानबारे केही थाहा छ ?
सबैको थाहा हुन्छ । ल्याउनु भएको व्यक्तिहरुको नागरिकता, फोटो साथै बच्चाहरुको गाविसको सिफारिस, प्रहरीबाट भेटिएको बच्चाहरु सबैको सिफारिस हुन्छ । यहाँका सबै बच्चाहरुको पहिचान छ । एक दुईजनाको छैन, उनीहरुको खोजी हुँदैछ । कसैको आमा हुनुहुन्छ तर उहाँले पढाउन, खुवाउनै नसक्ने भएका बच्चाहरु पनि छन् । कोही कोही बाजुरा, मुगुतिर स्कुल नै नभएको ठाउँहरुको पनि छन् । सुरुसुरुमा यो क्षेत्रमा मलाई पनि त्यति ज्ञान भएन, कस्तो बच्चा राख्ने भनेर । अनि अर्कैले ल्याइदिएको भरमा मैले राखे । राखिसकेपछि बच्चाहरुसँग मायामोह बढी हुन्छ । अब यिनीहरु हुर्कियोस, भोली यिनीहरुबाट आशा के नै हुन्छ र, हामीलाई आफ्नै छोराछोरीको त आशा छैन । त्यसैले यिनीहरु पढुन, ज्ञानी होउन, केही गरुन भन्ने छ । कत्तिको आमा या बुबा आउनु हुन्छ तर उहाँहरुको बच्चा लाने अवस्था हुँदैन भनेपछि के गर्ने त्यस्तो अवस्थामा ? त्यसरी यहाँ कहिले काही कसैकसैको अभिभावक आउनु हुन्छ ।

भेट्न आउने कसै कसैले यो बच्चा मन पर्यो मलाई दिनुस् भन्दैनन् ?
भन्छन्, तर म दिदिन । मलाई यहाँ आइसकेको बच्चाहरुको माया लाग्छ । एक त बच्चाहरु जान पनि मान्दैनन् । सन्तान नभएकालाई धर्मपुत्र दिनु राम्रो पनि हो तर मैले त्यस्तो प्रोसेसमा आजसम्म बच्चाहरु कसैलाई दिएको छैन । मैले यहाँको बच्चाहरुलाई त्यस्तो गर्छु भन्ने सोच पनि छैन । कत्तिले पैसा दिन्छु, दिनुस् पनि भन्नु हुन्छ तर मलाई पछि त्यो बच्चाले दुःख पायो भने जस्तो लागेर होस त्यस्तो गर्दिन भनेर गरेको छैन र गर्दा पनि गर्दिन ।

यि बच्चाहरुले तपाईंलाई के भनेर बोलाउँछन् ?
सानाले आमा भन्छन्, ठूलाले मम्मी भन्छन् । कहिले काही जिस्केर ए आमै पनि भन्छन् । यो आश्रममा एउटा आमाले बच्चालाई गर्ने जस्तो व्यवहार छ । कुनै कडा नियम कानुन छैन । हामी परिवार भएर बसेका छौं । हामी आफै बनाउने, खाने गर्छौ । झै–झगडा पनि त्यति गर्दैनन्, आमाको प्रेसर बढ्छ हल्ला नगरौं भन्छन्, त्यस्तो साह्रै पीर दिनेखालका छैनन्, सबै बच्चाहरु बुझ्ने छन् ।

स्कुल पनि पठाउँनु भएको छ हो ?
गान्धी स्कुलमा पढ्छन् । नर्सरीदेखि कक्षा १० सम्म पढ्ने नानीहरु छन् । तीनजना स्कुलकै मिस, सरहरुले आफ्नै बोर्डिङ्गमा पढाइदिनु भएको छ । सबैलाई नै कसैले जुत्ता, ब्याग, ड्रेस, कापी, कलम किनिदिनु हुन्छ, कसैको भर्ना गरिदिनु हुन्छ, स्कुललगायत सबैले सहयोग गर्नु भएको छ ।

खानेकुरा कसरी पुर्याइराख्नु भएको छ ?
विभिन्न क्लब, व्यक्ति, कसैले आफ्नो छोराछोरीको जन्मदिनमा जुटाइदिनु हुन्छ । हामीलाई छ बोरा चामलले एक महिनासम्म पुग्छ, कसैकसैले २÷४ बोरा चामल किनिदिनु हुन्छ । कसैले ग्यास पनि ल्याइदिनु हुन्छ । प्रायले संस्थालाई पैसा दिने नभएकाले पनि अलि अभाव भनेको दैनिक तरकारी किन्नु पर्ने भएकोले त्यसमा र नानीहरु झट्ट बिरामी हुँदा अलि अप्ठ्यारो पर्छ । तर जुन दिन मलाई अप्ठ्यारो छ, भगवानको कृपाले त्यहि दिन भगवान बनेर मान्छे आइदिनु हुन्छ, त्यहि ठूलो कुरो भयो मेरो लागि । मसँग ऋण, धन छैन तर पनि म सन्तुष्टि छु, पछुतो भन्ने नै छैन । विदेशमा गएर मेरा साथीभाईले पैसा कमाए मैले मान्छे कमाएको छु जस्तो लाग्छ । सम्पत्ति भनेको आज छ भोली छैन तर राम्रो काम गर्यौ भने मरेर जाँदा पनि हामीलाई राम्रै हुन्छ ।

यहाँको भाडा कति तिर्नु हुन्छ, भविष्यको योजना के छ ?
यो जग्गाको भाडा वर्षको ४० हजार तिर्नु पर्छ । १० वर्षको एग्रिमेन्ट छ, दुई वर्ष बितायौं । सरकारी जग्गा थियो भने टहराहरु हुन्थ्यो र धेरैजना राख्न सकिन्थ्यो तर पनि सहयोगी हातहरु त हुने रहेछ । सहयोगी हातहरुले जग्गै दिन त गाह्रै हुन्छ, बरु घर बनाउनलाई ५० बोरै सिमेन्ट किनिदिन्छु भन्ने आउनु हुन्छ । त्यसैले आफ्नो जग्गा भइदिएको थियो भने चाहिँ धेरै गरिबहरुको उद्धार गर्न सकिन्थ्यो । यहि काममा लागिसकेपछि अरु ठाउँमा गर्नुभन्दा यसैलाई राम्रो गरौं, यिनीहरुलाई राम्रो होस, राम्रो बनाऔं भन्ने सोच हुँदो रहेछ ।

तपाईंको संस्थालाई सहयोग गर्ने विदेशी दाताहरु हुनुहुन्न ?
विदेशी भोलेन्टियरहरु आउनु हुन्छ तर विदेशी आएर फ्याट्ट सहयोग गर्नु भएको छैन । एकचोटी यहि नै आएर नानीहरुलाई सहयोग गर्नुभएको थियो । तर हामीलाई नेपालीहरुले नै सहयोग गरिराख्नु भएको छ । दह्रो खालको प्रपोजल बनाएर पेश गर्यो भने त आउछन होला । प्रपोजल लेखाउन पनि धेरै पैसा लाग्छ, जुन पैसा मसँग हुँदैन पनि । राम्रो प्रपोजल लेख्यो भने ४०/५० हजार लाग्छ रे यदि भोली त्यो परिदिएन भने ५० हजार पैसा जान्छ, सबभन्दा समस्या मेरो यहि नेर छ । फेरि म आ होस है हाम्रो चलिराखेको छ, धेरै किन चाहियो भन्ने हिसाबमा गए । तर पनि राम्रो डोनर भेटेर एउटा घर दिए हुन्थ्यो नि भन्ने त लाग्छ नि । ठिकै छ भगवानको कृपा, नेपालीहरुले चलाइदिएको झन राम्रो भइराखेको छ । म यहाँ आमा भएर बसेको छु तर म भन्दा पनि यहाँ आउनेहरु धेरै समाजसेवी हुनुहुन्छ ।

बच्चाबच्चीले दशैँमा घरको याद आयो भन्दैनन् ?
त्यस्तो सुनेको छैन । गुनासो गरेका छैनन् । उनीहरुको मनमा होला कि, नहोला भन्न सक्दिन । जस्तैः मेरै छोराछोरीले पनि मेरो बाबा भएको भए, हाम्रो बाबाले हेरिदिएको भए भन्थे । त्यस्तै सोच त होला नानीहरुमा पनि ।

दशैँ कसरी मनाउने गर्नुभएको छ, के भन्न चाहनु हुन्छ ?
एकजनाले खसी दिएकाले पोहोर हामीले दशैंमा खसी काट्यौ । परार एकजना दाईले म खसी दिन्छु भन्नु भयो, पछि अष्टमीका दिनदेखि फोन नै अफ गरिदिनु भयो । हामीसँग पैसा पनि प्रशस्तै नभएकाले त्यसबेला १० किलो कुखुरा ल्याएर दशैँ मनायौं । सुुरुसुुरुमा पैसा नभएको बेला यत्तिनै खाऊ है भनेर, थोरैथोरै खाएर पनि मनाएका छौं । यो वर्ष पनि मेरो साथीले खसी किन्नु भनेर १५ हजार सहयोग गरिदिनु भएको छ, दशैँ राम्रै हुन्छ । दशैँ आफ्नो क्षमताअनुसार मनाऔ र सबै देश विदेशमा रहनु हुने नेपालीहरुलाई दशैँको शुभकामना दिन चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट