दशैँ विशेष : नौरथाभरि नौ नारी

चिताएको पूरा गराउँछिन् सरस्वती माताले (भिडियोसहित)

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

स्थायी घर विराटनगर घर भई हाल काठमाडौंमा बस्दै आएकी सरस्वती रेग्मी माताका रुपमा परिचित छिन् । कतिले माता भनेर विश्वास नगरे पनि कतिपयले आफूले चाहेको पूरा भएको भन्दै उनलाई भेट्न आउने, भेटी चढाउने गर्दछन् । सानो छदा बिरामी भइराख्ने उनलाई औषधि उपचारले केही सन्चो नभएपछि धाँमी कहाँ लग्दा काम्ने आएको र शरीरमा माता चढेको थाहा भयो । २० वर्षदेखि काम्न थालेकी उनीमा विगत ७ वर्षदेखि सतीदेवीको अंग, दन्तकालीको अंग भन्दै माता चढेकी छन् । उनी कहाँ थुप्रै मानिसहरु आउने गर्छन आफ्ना जिज्ञासाहरु लिएर । उनै सरस्वती माता, बडा दशैँको सातौं दिन फूलपातीमा रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा

कसरी माता हुनु भयो ?
मलाई पहिला देखि नै धेरै गाह्रो हुन्थ्यो । डाक्टरको औषधी गर्दा पनि लागेन । अनि पछि काम्ने आयो, घरको देउता भएर आयो । २० वर्ष भयो मलाई छोपेको, काम्नेहरु आएको । घरको देउता भनेर आएपछि हामीले कुल देउताहरुलाई पनि मान्न थाल्यौ । फेरि पछिबाट देवी चढिन, देवी चढेको सात वर्ष भयो ।

कसरी थाहा भयो देवी आएको ?
देवी आएपछि यस्तै माताहरुकोमा गए । आफ्नै घरमा बुबापछि दाई धामी हुनुहुन्थ्यो । दाईको मा पनि गए । अनि आफ्नो जिउबाट बक्छ नि त, म यो हो, यस्तो ठाउँबाट उत्पत्ति भएको सबै आउँछ । कामेको बेला भित्रबाट आफै बोल्न आउँछ । म सतीदेवीको अंग हो, दन्तकालीको अंग हो भनेर आएको हो । अनि दाई र विराटनगरमा एकजना सरस्वती माता मेरो गुरु हुनुहुन्छ ।

यहाँ कस्ता प्रकारका मान्छे, के हेराउन आउँछन् ?
कोही काम्ने आउँछन्, कोही बोक्सी लागेको भनेर पनि आउँछन् । मेरो काम हुन्छ कि हुँदैन भनेर पनि आउँछन् । बाधा व्यवधानहरु धेरै भयो भनेर पनि आउँछन् । ग्रहहरु पनि के छ कसो छ भनेर देखाउन आउँछन् । के पेशा गर्दा राम्रो हुन्छ भनेर देखाउन आउँछन् ।

एकचोटी देखाएर गएका मान्छेहरु फेरिफेरि पनि आउँछन् ?
कोही आउँछन, कोही आउँदैनन् । कसैले भाकल गरेका हुन्छन, भाकल बुझाउनलाई पनि फर्केर आउछन् ।

बोक्सी लागेकालाई के गरिदिनु हुन्छ ?
यसो पन्छाई दिन्छु । उनीहरुलाई लागेको मात्रै भनिन्छ । यस्तो उस्तो यो बोक्सी चाहिँ भनिदैन । मलाई भित्री आत्माबाट नै माताले खटाउनु हुन्छ, बोक्सी यो भनेर नभन्नु नै भनेको हुन्छ ।

कत्तिको विश्वास गर्छन् ?
फुकफाक गरेपछि मैले चामल र जल खान दिन्छु । त्यो खाइसकेपछि निको भयो माता भन्छन् । फेरि आउनु पर्ने छ भने आउनु भन्यो भने फेरि आउछन् । यहाँ आउने भनेको विश्वास भएर नै होला नि जस्तो लाग्छ ।

दिनमा कतिजना हेराउन आउछन् ?
पसल भएकोले म त्यति समय दिन पनि पाउदिन, त्यसले गर्दा चार/पाँच जना आउनु हुन्छ ।

माताको र पसलको काम कसरी भ्याउनु भएको छ ?
माताकै कृपाले भ्याएको छु । पसलमा श्रीमान, छोरा पनि बस्नु हुन्छ र म पनि जानै पर्छ । बिहान पूजा पाठ गरेर पसल जान्छु । कोही मान्छे आउनु छ भने फोन गरेर आउनु हुन्छ, अनि समय दिन्छु एकछिन ।

कुन दिन हेराउनु हुन्छ ?
म आइतबार, बुधबार र औँसीमा हेर्दिन । अरु बेला हेर्ने गर्छु ।

कति बजेदेखि कति बजेसम्म हेर्नु हुन्छ ?
बिहान नभ्याएको कारणले गर्दा बिहान ११ बजेदेखि हेर्छु । १२ बजे मध्यान्ह भएकोले हेरिदैन, त्यसपछि दुई बजेपछि हेर्छु ।

हेराउन आउनेले कति पैसा दिन्छन् ?
जति सक्यो त्यति दिने हो । मैले माग्ने गरेको छैन ।

आएको दक्षिणा भेटीहरु के गर्नु हुन्छ ?
मन्दिरकै सामानहरु किन्छु, अनि मन्दिरहरु जाँदा चढाउने गर्छु । अहिले घर खर्चमा चलाइ हाल्नु परेको छैन ।

माताहरुबाट विकृतिहरु भएको छ भन्ने पनि छ, यस बारेमा के भन्नु हुन्छ ?
आ–आफ्नो अनुसारले हुन्छ । त्यस्तो त मलाई थाहा छैन । अरुको त म केही भन्न सक्दिन । कतिपयले पैसा तोक्छन् नै । म त ठिक्क गर्ने हो ।

थानमा बसेपछि माता कसरी आउछ ?
कोही आएर हेर्नु पर्यो भने भित्रबाट नै कम्पन दिएर आउँछ । भित्र आत्माबाट आफै बोली आउछ ।

दशैँ कसरी मनाउनु हुन्छ ?
माताको थानमा पूजापाठ गर्छु । नौ दिनको ब्रत पनि छ । भगवानलाई फूल प्रसाद चढाएपछि आफू पनि टिका लायो, अरु सबैलाई टिका लगाइदिने गर्छु । जमरा थाप्न चाहिँ हजुरआमा बित्नु भएकोले पाइन । नवरात्री भरीको ब्रतमा फलफूल, दुध, तरकारी खाने गर्छु । अन्न चाहिँ मलाई खान दिनुहुन्न माताले ।

माता बन्दा दुःख भयो भन्ने लाग्दैन ?
पहिला मैले दियो कलश नलिइकन बस्दाखेरी मलाई त्यस्ता लाग्थ्यो । अहिले दियो कलश लिएर बसिसकेपछि आनन्द नै छ । माताले मलाई जति दिनु भयो त्यतिमै म खुसी छु

तपाईंको आफ्नै परिवारमा चाहिँ समस्या आउँछ कि आउदैन ?
आउँछ नि । मलाई नै आउछ, कत्तिले उनीहरुको मन्त्रले हान्न खोज्छन् । त्यसले गर्दा आफूले आफैलाई पनि गर्न सकिन्छ नभए पनि आफूले जसलाई विश्वास गरिएको हुन्छ अर्थात गुरुकोमा जानु पर्छ ।

दशैँको बारेमा के भन्न चाहनु हुन्छ ?
दशैँको सबैलाई शुभकामना छ । माताको कृपाले सबैलाई राम्रो होस, देशमा सुख शान्ति होस भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट