दशैँ विशेष : नौरथाभरि नौ नारी

फिनीबाट लाखौं कमाउँछिन् सबिता (भिडियोसहित)

प्रकाशित मिति: १२ आश्विन २०७४, बिहीबार

तनहुँ स्थायी घर भई २०४० सालदेखि काठमाडौं बालुवाटरमा बस्दै आएकी सबिता श्रेष्ठ । २६ वर्ष जागिरे जीवन बिताएकी सबिताका दुई छोरा एक छोरी छन् । छोराछोरीको पालनपोषण गर्न जागिरे कमाईबाट नपुगेपछि उनले आफ्नै व्यवसाय गर्ने मनसाय बनाईन् र त्यो बेला एक किलो मैदाबाट फिनी बनाएर सबिता फिनी रोटी संचालन गरिन् । आफूले आटे के गर्न सकिन्न र भन्ने जिउँदो उदाहरण बनेकी छन् सबिता श्रेष्ठ । वैदेशिक रोजगारीमा गएका उनका छोराहरु पनि अहिले स्वदेश फर्केर आमालाई काममा सघाइ रहेका छन् । छोराछोरी, बुहारीसँगै उनले थुप्रै महिलाहरुलाई पनि रोजगार दिएकी छन् । उनै फिनी रोटीकी संचालिका सबिता श्रेष्ठ, बडा दशैँको छैटौ दिन रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा :

कसरी सुरुवात गर्नुभयो रोटी बनाउने कामको ?
पहिला म श्रीडिस्लरीमा जागिर खान्थे । त्यसमा मैले कार्यालय सहायकमा २६ वर्ष काम गरे । त्यहाँ काम गर्दै जाँदा छोराछोरीलाई पालनपोषन गर्न गाह्रो भयो । त्यसपछ मैले त्यसमै काम गर्दागर्दै यो रोटीको लाइनमा लागे । श्रीडिस्लरीका एक जना डाइरेक्टर अशोक श्रेष्ठले भन्नु भयो, भाटभटेनीमा हाम्रो शुभश्री तेल, माउन्ट एभरेष्ट पानी जान्छ । तिमीले रोटी पकाउन जानेकी छौं नि, भाटभटेनीमा तिमी पनि रोटीको स्याम्पलहरु लिएर जाऊ, खाली हात नजाऊ, त्यहाँ गएर मिनबहादुर गुरुङलाई भेट्नु र पछि त्यहाँ रोटी सप्लाई गर्नु भन्नुभयो । त्यसपछि मैले एक केजी मैदा, एक लिटर सन फ्लावर तेल, एक लिटर मट्टितेल गरी स्टोभमा पकाएर लिएर गए । अफिस नक्सालमा थियो तर म त्यो बेला गैरीधारामा बस्थे ।

त्यो दिनको एककिलो मैदाबाट सुुरु गरेको व्यापार, मिनबहादुरसँगको कुराकानी कस्तो भयो त ?
एक किलो मैदाबाट ४५ पिस फिनी निस्केको थियो । तर मैले भाटभटेनीलाई मैले सुुरुमा २५ पिस दिए । त्यसरी गर्दै जाँदा २५ बाट ३०, ४० पिस गर्दैगर्दै मेरो प्रोडक्ट बढ्दै गयो । सुुरुमा मैले लगेको फिनी म राख्छु तर सेलरोटी राख्दिन भन्नुभयो, यसबाट दुई रुपैयाँ म राख्छु, दुई रुपैयाँ आफू राख्नु भन्नुभयो उहाँले(मिनबहादुर गुरुङ) ।

त्यो बेला मैले लगेको रोटी, फिनीले राम्रो व्यापार गर्ला वा नगर्ला भनेर मनमा दोधार लागेन ?
त्यस्तो लागेन । जान्छ नै जस्तो लाग्यो र अगाडि बढ्छु नै जस्तो लाग्यो । सुुरुमा २५ पिस लगे, त्यो सकिएपछि उनीहरुले फेरि माग गर्थे । त्यसरी मेरो व्यापार बढ्दै गयो, बढ्दै गएपछि मलाई आट आयो । सुुरुमा छोरी र म मात्र भएर एक वर्षसम्म सामानहरु पठाइराख्यौं । यो सुुरु गरेको २०६५ सालदेखि राति १२ बजेसम्म आमा छोरी नसुती फिनी पकाउथ्यौं । आमा छोरीले पकाउदा सय पिस पनि पाक्दैन थियो ।

बढी पकाउन नसकिरहेको बेला धेरै माग आउने गथ्र्यो होला नि ?
त्यसपछि कलेज पढ्ने दुई जना केटीहरु राखे । म अफिस पनि जान्थे, उनीहरु बिहानको कलेज पढेर आएर ढोका खोल्ने अनि पिठो मुछ्ने गर्थे । पछि जागीर छोडेर यसैमा लागे ।

पहिले र अहिलेको तुलनामा कस्तो छ तपाईंको व्यापार ?
पहिला र अहिलेको भन्नु पर्दा आकाश जमिनकै फरक छ । पहिला मलाई पैसाको दुःख थियो । श्रीमान र मेरो कमाई कम भएकाले छोराछोरी पालनपोषन, पठाउनलाई गाह्रो थियो । घरभाडा पनि तिर्नै पर्यो । श्रीमान सेक्युरिटी हुनुहुन्थ्यो । मेरो पाँच हजार मात्रै तलब थियो । सुरुमा त जागीर खाँदाको तलब तीनसय थियो, १० प्रतिशतले बढाउँदै बढाउँदै जाँदाखेरी पाँच हजार पुगेको हो ।

अहिले कतिजना कामदारहरु राख्नु भएको छ ?
अहिले हाम्रै परिवारका पाँच जना छौ अरु काम गर्ने बहिनीहरु छ जना छन् । मेरो दुईजना छोरा, एक छोरी, बुहारी सबैजना यसैमा छौं । अहिले आम्दानी राम्रै छ, दालभात खान पुगिराखेको छ ।

अहिले तपाईंका यि सामानहरु कुन कुन ठाउँमा जान्छ त ?
काठमाडौंका नौ वटा भाटभटेनीमा, काठमाडौं बाहिर धरान, पोखरा, चितवन, बुटबल चारवटामा त्यस्तैगरी २९ वटा बिगमार्टमा जान्छ । दुई चारवटा सेल्वेजमा पनि दिन्छौं । सानो पसलदेखि ठूलो पसल सबै ठाउँमा जान्छ ।

पसलहरुमा तपाईंका के के सामान जान्छन् त ?
माग आउने त सेलरोटी नै हो । भूकम्पले गर्दा पकाउने दिदीहरु लाखापाखा भएकाले सेल बन्द गरे । फेरि सेलमा खासै फाइदा पनि छैन । सधैं पकाउन त पकाउछु, घरको लागि भए पनि । सेलले गर्दा अरुअरु आइटमहरु पनि जान्छ । मेराबाट घरहरु र डिपार्टमेन्ट स्टोरमा फिनी, निम्की, फुर्ना, फुरन दाना, सेलरोटी जान्छ । यिनै आइटमहरु पनि हुन् ।

तपाईंले सेलरोटी कि फिनीबाट व्यापार सुुरु गर्नु भयो त ?
फिनीबाट हो ।

तपाईंका सामानहरुको डिपार्टमेन्ट स्टोरहरुले माग गर्छन् कि मार्केटिङ्ग गर्नुहुन्छ ?
हामी आफैले मार्केटिङ्ग गर्छौ । भाटभटेनीमा मेरो निम्की, फिनी, फुर्ना,खुर्मा जान्छ ।

सामानहरुमा कुनै नराम्रो कम्प्लेन आउने जस्ता घटनाहरु पनि हुन्छन होला नि ?
त्यस्तो छैन । हामीले राम्रो क्वालिटीका सामान पठाउने भएको भएर त्यस्तो कुनै नराम्रो घटना भएका छैनन् । अझै यो व्यवसायलाई बढाउने योजना छ ।

दशैँ कसरी मनाउनु हुन्छ ?
दशैँ राम्रैसँग मनाउनु पर्ला खान लाउन भइहाल्छ क्यारे । यसपाली हाम्रो वर्षदिनको जुठो छ । टिकाटाला गर्नु हुँदैन । दशैँ मान्न हुनेहरुले रमाइलो तरिकाले राम्रोसँग मान्नुहोस् ।

तपाईंलाई पहिलाका दिनहरुलाई पछाडि फर्केर हेर्दा कस्तो लाग्छ ?
मैले धेरै जनालाई रोजगार दिएको छु । मैले यहाँ काम गर्नेहरु मात्र नभएर मेरा दिदी बहिनी भाई बुहारीहरु सबैलाई काम दिएको, सिकाएको छु । पहिला म खुसी थिए, पहिला मलाई दुःख थियो र सबैलाई गरी खाऔ भनेर बाटो देखाइ दिए । मैले धेरैलाई सिप सिकाएर गरी खाऔं भनेर आफ्नै सामानहरु दिएर पनि सहयोग गरे । तर, अहिले तिनीहरुले नै मलाई पेल्ने भएको भएर असन्तुष्ट छु म । हुनत सबैले गरिखानु पर्छ, सबैको होस् त्यसमा सन्तुष्ट छु तर अर्काको खुट्टा तान्ने प्रवृत्ति चाहिँ कसैले कसैको नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । उहाँले गर्दा आज हामीले पनि व्यवसाय गरेका छौं, उहाँलाई हामीले नराम्रो गर्नु हुन्न, खुट्टा तान्नु हुन्न भन्ने सोच्दैनन् । मलाई आ–आफ्नो ठाउँमा आ–आफ्नो तरिकाले गरी खाने हो भने सबैको भलो हुन्छ भन्ने कुरा सबैले सोच्नुपर्छ जस्तो लाग्छ मलाई, तर त्यस्तो नहुँदो रैछ, हाम्रो समाजमा ।

विशेष कुन कुन समयमा तपाईंको व्यापार बढी हुन्छ ?
आमा खुवाउने औँसीमा र तिहारमा बढी व्यापार हुन्छ । अरु बेला ठिकै हुन्छ ।

अन्त्यमा दिदी बहिनी महिलाहरुलाई के सल्लाह दिन चाहनु हुन्छ ?
दिदीबहिनी महिलाहरुलाई यि बेकरी आइटमहरु हामी महिलाहरुको सिप हो । हामी दिदीबहिनीहरु अल्छी हुनु भएन । जागीरिलो भएर जागर चलाएर गरी खानुपर्यो । जागर चलाएर गर्यो भने बिहान के खाउ, बेलुका के खाउ भन्नु पर्दैन । अहिले त मार्केटहरु धेरै छन्, त्यसले गर्दा गरेर खान सकिन्छ । अहिले एकल महिलाहरुले पनि श्रीमान छैन भनेर के गर्ने के खाने भनेर निराश भएर बस्नु पर्दैन । उहाँहरुले पनि जागर, सिप, बुद्धि, दिमागले काम गर्नु भयो भने राम्रो तरिकाले जीवन निर्वाह गर्न सक्नु हुन्छ । हुनत मैले सुरुमा यो व्यवसाय श्रीमान र म भएरै गरेको हो । उहाँ भइकन पछि त छोराछोरीले पनि हेर्न थाले । अहिले मेरो श्रीमान् नभए पनि कसरी गरी खाऔं भन्नु चाहिँ मैले परेन ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट