दशैँ विशेष : नौरथाभरि नौ नारी

दशैँ हाम्रो चाड संस्कार हो, यसलाई बचाउनु पर्छ : बिमला केसी (भिडियोसहित)

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

विगत १८ वर्षदेखि चलचित्र क्षेत्रमा लागिराखेकी छिन् बिमला केसी । देवयानी चलचित्रमा बोल्ड अभिनय गरेकी बिमला अहिले चलचित्र कलाकार संघ र केहि समयदेखि सेन्सर बोर्डमा आवद्ध छिन् । बडा दशैँको दोस्रो दिन रिपोर्टर नेपालको नौरथाभरि नौ नारी विशेषमा आजको कुराकानी बिमला केसीसँग : 

अभिनय चटक्कै छोड्नु भयो त ?

छोडेको त भन्न मिल्दैन, कति कामहरु चाहिँ चाहेर पनि समय अवस्थालाई मिलाउन नसकेको हो । छोडेको छैन । छिट्टै आउँदैछु ।

अहिले कस्ता चलचित्रहरु बनिराखेका छन् ?

सबैखाले चलचित्रहरु आइराखेका छन् । विदेशी चलचित्रहरु पनि आउँछन् । नेपाली चलचित्रको हकमा भन्नुपर्दा कमर्सियल, आर्ट मूभीहरु आइराखेको छ । विभिन्न भाषाभाषी, जनजातीहरुलाई प्रतिनिधित्व गर्ने वा नेपाललाई चिनाउने खालको चलचित्रहरु पनि आइराखेको छ । यसरी सबैखालका चलचित्र आइराखेका छन् ।

एउटा राम्रो चलचित्र बन्न के आवश्यक छ ?

हामी सबैले बुझेको कुरा हो, फिल्म भनेको एउटा व्यक्ति वा संस्थाले गर्ने कुरा होइन । समूहगत(टिमवर्क) भएर गर्ने नै हो । एउटाको कमजोरी हुने बित्तिकै त्यो चिज बिग्रिन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर यति हुँदाहुँदै पनि सबभन्दा पहिला एउटा स्क्रिप्ट नै राम्रो हुनुपर्छ । कथा नै राम्रो भयो भने त्यसले सबैलाई समेट्न सक्छ ।

अन्य मुलुकको तुलनामा नेपाली चलचित्रको अवस्था कस्तो छ ?

यसरी तुलना गरेर हेर्ने हो भने चाहिँ कसैले कसैसँग तुलना गर्दा कोही कम कोही ज्यादा हुन्छ नै । जो जहाँ छ त्यसरी नै स्वीकार्नु पर्छ । अब बाहिरको चिजहरुलाई प्रतिस्पर्धा गरेर हेर्ने हो भने हामी धेरै तल छौं । तर हिजोको हामी र आजको हामी हेर्ने हो भने चाहिँ गर्न बाँकी धेरै चिजहरु छन् । तैपनि जति भइराखेको छ, त्यो पनि कम भइराखेको छैन ।

तपाईंको विचारमा कस्तो कथावस्तुलाई समेटियो भने राम्रो चलचित्र बन्छ जस्तो लाग्छ ?

चलचित्र भन्ने त अब हरेक विषयवस्तुमा मान्छेहरुको आफ्नो प्रस्तुतीमा भर पर्ने कुरा हो । कसले कसलाई कुन दृष्टिकोणबाट हेर्छ भन्ने कुरा हो । सबभन्दा पहिला त हामीले कुन वर्गलाई चलचित्र बनाइराखेका छौं भन्ने कुरा हो । ओभरल हामीले जस्तोसुकै तरिकाले प्रस्तुत गरे पनि वाह ! नेपाली मूभी, यो मेरो मूभी हो, यो हाम्रो मूभी हो भन्न लायकको हुनको लागि हाम्रै परिवेशको चलचित्रलाई लिएर हाम्रै जीवन सुहाउँदो चलचित्र उता¥यो भने त्यो हाम्रो र राम्रो चलचित्र हुन्छ ।

तपाईंको अनुभव, विचारमा सेन्सर बोर्डले चलचित्रलाई किन कैँची लगाउँछ ?

अधिकांश मूभीहरुलाई लाइदैन । तर कतिपय मूभीहरुलाई लाउनु पर्ने अवस्था पनि आउँछ । त्यहाँ सेन्सर बोर्ड छ भनेपछि त्यो त्यतिकै त छैन, राज्यले आवश्यक सम्झेर बनाएको एउटा टिम, कमिटि, बोर्ड हो । त्यो सिन, शब्दले समाज, राष्ट्र वा कसैको पनि व्यक्तिगत जीवनमा प्रत्यक्ष असर पार्छ भने त्यो चिजहरुलाई बन्देज गर्ने, हटाउने गरिन्छ । तर, चलचित्रको कथा नै मर्ने गरी गरिदैन । कतिपय चलचित्रको सिन सर्ट नकाटेर त्यो फिल्म कुन क्याटगोरीमा जान्छ भन्ने कन्टेनहरु पनि हेरिन्छ । फिल्मको अलग अलग कन्टेनहरु हुन्छन्, हाम्रा क्याटगोरी पनि अलग अलग छ । एउटा दुईवटा शब्द, सिनहरुले गर्दा अर्कै लेबलको फिल्म एउटा लेबलमा झर्छ भने कतिपय अवस्थामा प्रोडुसर, डाइरेक्टरहरु आफैले पनि भन्नु हुन्छ कि यो चिज छ मलाई सर्टिफिकेट ओके भन्ने प्रकारका कुरा पनि हुन्छ । कुनैकुनै फिल्ममा अप्ठ्यारो पर्ने खालको कुरा भयो भने उहाँहरुसँग सल्लाह पनि गरिन्छ कहिले काही । तर जुन चिज हामी सहज तरिकाले लिन सक्दैनौं, त्यसले विकृति ल्याउँछ, कसैको जीवनमा प्रत्यक्ष असर पार्छ भने त्यो चिज त भएको भन्दा नभएको नै राम्रो हो नि ।

सेन्सर बोर्डमा सेन्सर गर्दा भोगेका कुनै तीता अथवा मीठा अनुभवहरु छन् ?

त्यो हरेक दिन नै त्यस्तो हुन्छ । हरेक फिल्मका कन्टेन अलग हुन्छ । हरेक फिल्मका प्रस्तुतकर्ताहरु अलग हुनुहुन्छ । कसैले त्यहि चिजलाई सामान्य लिनुहुन्छ भने कसैले त्यहि चिजलाई ठूला रुपमा पनि लिनुहुन्छ । हरेक दिनको अनुभव फरक नै हुन्छ, एक्ज्याक्ट यहि नै भन्ने खालकै हुँदैन ।

त्यो बेला देवयानी चलचित्रमा बोल्ड भूमिका निभाउनु भएको थियो, कस्तो कमेन्ट आयो त ?

देवयानी मूभी धेरैले मन पराउनु भएको थियो । विशेष गरी महिलाहरुले धेरै मन पराउनु भएको थियो । त्यो एक किसिमले महिलाहरु कै लागि भन्ने चलचित्र पनि थियो । महिलाको नाम मात्रै नभएर, त्यो पूरै महिलाकै लागि भनेर बनाइएको मूभी थियो । त्यतिखेर मात्रै होइन यतिखेर पनि मलाई म बिमला केसी भन्दा पनि चलचित्रकर्मी समेतले देवयानी भनेर चिनिदिनु हुन्छ ।

दशैँ कसरी मनाउँदै हुुनुहुन्छ ?

दशैँ साधारणतया अरुले जसरी मनाउनु हुन्छ म पनि त्यसैगरी मनाउँछु । त्यस्तो कुनै खास प्लान छैन । काठमाडौं मै घर, परिवार भएकाले सबैजनालाई फुर्सद हुन्छ । सबै जनासँगै बस्छौ, रमाइलो गर्दै सुख दुःख साटासाट गर्दै दशैँ मनाइन्छ ।

यो फिल्डमा हुनुहुन्छ, महिलालाई यो फिल्डमा जम्नलाई कत्तिको गाह्रो छ ?

महिलालाई जुन फिल्डमा पनि गाह्रै छ । समाज, घर, परिवार, साथीभाई सबैजनाको साथ र सहयोग नभएको भए सायद म यहाँ हुन्न थिए । उहाँ सबैको साथ र सहयोग मलाई त्यत्तिकै मात्रामा छ ।

अन्त्यमा आफ्ना घरपरिवार साथीभाईलाई के भन्न चाहनुहुन्छ ?

म महिला भएको कारणले कति कुराहरु मैले पनि भोगि राखेको हुन सक्छु, कति मैले नदेखाएर अरुअरुले भोगिराख्नु भएको हुन्छ । हामी सहि के हो भन्न सक्दैनौं । तर अहिलेको अवस्थामा महिलाहरुलाई दोहोरो ड्यूटी छ भन्ने लाग्छ । पहिला महिलाले घर सम्हाल्नुु हुन्थ्यो, उहाँ बिस्तारै समाजमा आउनु भयो । त्यसो गर्दागर्दा समाजदेखि राष्ट्रसम्म महिला पुग्नु भएको छ । तर, महिलाको जिम्मेवारी पहिला जे थियो अहिले पनि उहाँको कर्तव्य त्यति नै छ । भनेपछि महिलामाथि दोब्बर बोझ छ । त्यसैले समाज, घर र राष्ट्रले पनि महिलामैत्री समाज, राष्ट्र, परिवार सिर्जना गरौं, जहाँ हामी सबैले एकले अर्कोको अस्तित्व स्वीकार्नै पर्छ, कोहि कमी कोहि ज्यादा छैन, सबैको जिम्मेवारी बराबर छ । त्यसरी नै अगाडि बढौं ।

दशैँ हाम्रो चाड, संस्कार हो । यसलाई बचाउनु पर्छ, भुल्नु हुँदैन र नयाँ युवापीढिहरुलाई त्यो संस्कार सिकाउनु पर्छ । तर, आफ्नो हैसियत भन्दा माथि गएर त्यसलाई विकृतिको रुप दिएर नमनाऔं । एउटा संस्कार हो, संस्कृति जोगाइराख्नको लागि सामाजिक पारिवारिक रुपबाट पनि सकारात्मक हिसाबले अगाडि लाने हेतुले मनाऔं भन्न चाहन्छु । दशैँ मनाउनु हुने महानुभावहरु सबैलाई दशैँको शुभकामना र जो दशैँ मनाउनु हुन्न उहाँहरुले पनि त्यो समयको सहि सदुपयोग गर्नुस्, राम्रो कामको लागि त्यो समय बिताउनुस् भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट