दशैँ विशेष : नौरथाभरि नौ नारी

मेरो हातको पानी नै खाइदिनु भएन : कमला श्रेष्ठ (भिडियोसिहत)

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार

वरिष्ठ ब्यूटिसियन कमला श्रेष्ठ, विगत ४० वर्षदेखि ब्यूटिसियन क्षेत्रमा सक्रिय भएर काम गरिराखेकी छन् । सौन्दर्य कला व्यवसायी संघको केन्द्रीय अध्यक्ष, एसिया प्यासिफिकको लाइफ मेम्बर, उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा उद्यमी महिलाको केन्द्रीय सभापति रहेर बेफुर्सदिलो समय बिताइरहेकी श्रेष्ठ हालसम्म पनि इन्स्टिच्यूट, सैलुन, विभिन्न संघसंस्थामा आवद्ध भएर महिला उत्थानसम्बन्धी कामहरु गर्दै आएकी छन् । अहिले आफू र श्रीमान् बस्दै आएको कुपण्डोलस्थित आफ्नै निवासमा ‘सायाम हेयर डिजाइन एण्ड ब्यूटिकेयर’ गत २५ वर्षदेखि संचालन गर्दै आएकी श्रेष्ठ एक छोरा, बुहारी र तीन नाती नातीनाको धनी भएको बताउँछिन् । उनै सायामकी संस्थापक प्रिन्सिपल श्रेष्ठ रिपोर्टर नेपालको नौरथाभरि नौ नारी विशेष मा :

नेपालमा कहिलेदेखि ब्यूटिपार्लर सुरु गर्नु भयो ?

मैले नेपालमा ब्यूटिपार्लर वि.सं.२०३६ सालमा सुरु गरेको हो । चार वर्ष थाइल्याण्ड बस्दा मैले ब्यूटिपार्लरको ट्रेनिङ्ग त्यहि लिएको हो । त्यसबेला श्रीमान यूएनको जागिरमा जानु भएको थियो । ब्यूटिपार्लरलाई नै प्रयोगमा ल्याउनु पर्छ होला भन्ने आफ्नो इच्छाशक्तिलाई सदुपयोग गरेर नेपाल फर्केपछि सुरुवात पाटनमा गरे, जहाँ त्यसबेला ब्यूटिपार्लर एउटा पनि थिएन । काठमाडौंमा त्यो बेला तीन वटा मात्रै पार्लर थिए । मैले त्यो समयमा एउटा सानो कोठामा काठको कुर्सी र ड्रेसिङ्ग टेबल राखेर सुरुवात गरेको इतिहास छ ।

त्यसबेला ब्यूटिपार्लरको अवस्था कस्तो थियो ?

धेरै नै नाजुक, दयनीय अवस्था थियो । त्यो बेला सम्झिदा अहिले पनि काँडा उम्रिन्छ । त्यसबेला न कुनै सैलुन, न कुनै प्रोडक्ट थिए । मानिसहरुले जानेका, बुझेका पनि थिएनन् र न त कुनै आकर्षण नै थियो । यो व्यवसाय पूरै अन्धकार थियो । म कहाँ, कसरी सुुरुवात गर्ने भन्ने परिस्थितिबाट आएको हुँ । शैलुन खोलिसकेपछि दिनभरि कुर्नु पर्ने, बल्लबल्ल १५ दिनमा एउटा कटिङ्ग आउने, महिना दिनमा बल्लबल्ल एउटा फेसियल आउने, थ्रेडिङ्ग जेनतेन हप्तामा एउटा आउने गथ्र्यो । भनेपछि त्यो अवस्थामा मलाई कस्तो भयो होला ? भगवान के गरौं, कसो गरौं भन्ने अवस्था थियो । ग्राहकहरुबाट एक कान दुई कान गर्दै व्यवसाय बढ्यो । कुपण्डोलमा खोलेको बेलामा राणा, शाह परिवारका सदस्यहरु आउनु हुन्थ्यो । त्यसबेला रोयल परिवारहरु मात्र बनिन्थे, अरु त यसप्रति दायाँ बायाँ फर्किदैन थिए । त्यसबेला मिडियालगायतका प्रचारप्रसारका प्रविधिहरु पनि थिएनन्, माउथ टृु माउथ प्रचार भयो । कमला श्रेष्ठले थाइल्याण्डबाट सिकेर आएको छ, यो नयाँ विधा हो, हामीले पनि यसबाट नयाँ कुराहरु सिक्न पाउँछौ, केहि गर्न पाउँछौ भन्ने भयो । यसको लागि उहाँहरु इण्डियासम्म जानु हुन्थ्यो, अब जानु पर्दैन यहि ठाउँमा सबै सुविधाहरु छ ल जाऔं भनेर एकजना दुईजना गर्दै मेरोमा आउनुभयो । यसरी मेरो कामलाई उहाँहरुले रुचाई दिनुभएकोले मेरो दिनानुदिन उन्नती हुँदै गएको हो ।

पहिला त ब्यूटिपार्लरलाई राम्रो नजरले हेरिदैन थियो, तपाईंलाई चाहिँ के कुराले प्रभावित पारेर ब्यूटिपार्लर नै खोल्ने सोच बनाउनु भयो ?

त्यतिबेला यो व्यवसायप्रति उत्साहित हुने कोहि हुँदैन थिए । त्यो बेला न यसमा उदाहरणीय व्यक्ति नै थिए, न कुनै रोल मोडल नै थिए । तर, मेरो आफ्नो इच्छाशक्ति, चाहना भएकाले र म चुनौतीहरुलाई सामना गर्ने व्यक्ति परेको हुनाले पनि यो खोल्नु मेरो लागि धेरै ठूलो चुनौती भयो । मेरो कामलाई मेरो माइती, घर कसैले पनि स्वीकार गरेका थिएनन् । ग्राजुएट गरेको कुल घरनाको छोरी यो के गरेको, किन यस्तो व्यवसाय सिकेर आयौं भनेर ससुराज्यूले वास्तै गर्नु भएन, दुई महिनासम्म मेरो हातको पानी नै खाइदिनु भएन । सबैजनाले स्वीकार नगरेको बेलामा पनि उत्साहित त कुरै छोड्नुस त्यहाँ फ्रस्टेसन बाहेक केहि थिएन । तर, पनि प्रण लिएर एक दिन यहि व्यवसायबाट पहिचान बनाउँछु, देशमा केहि गरेर देखाउँछु भन्ने संकल्प लिएँ । मेरो सपोटमा कोहि हुनुहुन्न थियो, म आफू एक्लो थिए । तर, मेरो आफ्नो आत्मविश्वास, आफैमा लगन, मेहनत, कठिन परिश्रमलगायतले गर्दा यो व्यवसायलाई अहिलेको अवस्थासम्म पु¥याउन सफल भए । ईश्वरको बरदार र आफ्नो मेहनतले गर्दा नै अगाडि बढेको हुँ ।

घर परिवारको साथ नपाएपछि आफ्नो व्यवसाय छोडिदिऊ जस्तो लागेन ?

त्यस्तो कहिले सोच्दै सोचिन । त्यसबेला एउटा सपोट चाहिँ मेरो श्रीमानको पाएको थिएँ । त्यसले गर्दा दुखी भएर बेचैन, बेहाल, लथालिङ्ग हुने स्थिति कहिले पनि आएन । मैले कामलाई थालनी गरे पनि त्यसलाई रोक्दै रोकिन, निरन्तरता दिइराखे । व्यवसायलाई निरन्तरता दिइराखेकाले कामहरु एकपछि अर्को सफलता हासिल गर्दै गएपछि मलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आखिरमा आएर एक दिन परिवारलाई स्वीकार्ने बनाए । चुनौतीलाई इख लिएर काम गरेकोले मलाई कहिले पनि पछुतो भएन बरु जे गरे सहि गरे भनेर आफूलाई यो व्यवसायमा ढाल्न सफल भएँ ।

अहिले त ब्यूटिपार्लरहरु छ्यापछ्याप्ती खुलिराखेका छन्, कुनै प्रावधानअनुसार खुलेका छन् कि, त्यत्तिकै खुलेका हुन् ?

खुसीको कुरा त, हामीले थालनी गरेको यो व्यवसाय अहिले नेपालमा दुई/तीन लाख छन् । यो हुनु भनेको जननी, जन्माउने व्यक्तिलाई त यसले गर्व गर्छ । हजारौं पलायन हुने युवा युवतिलाई आफ्नै देशमा केहि गरेर खान सक्छौं भनेर यो व्यवसायले रोक्न सकेकाले धेरै राम्रो भएको छ । तर पनि सरकारीस्तरबाट कुनै निश्चित नियम, कानुन, प्रावधान नभएकोले यो व्यवसाय जथाभावी तरिकाले खोलिएको छ । अहिले संख्यामा बढी भयो तर गुणस्तरमा राम्रो भएन । गुणस्तरमा कमी आएको कारणले अहिले म सबैलाई सचेत हुन आग्रह गर्छु, यदि सिकेर आउनेहरुले पनि गुणस्तरिय तरिकाले गर्नुस्, तालिम लिनुस् साथै दर्ता गरेर कानुनी प्रक्रियालाई पूरा गर्नुस्, राम्रो अनुभव गर्नुस्, जसले गर्दा आपूmमा व्यक्तिगत कन्फिडेन्स बढ्छ । यस्ता सुझाव दिनुका साथै सरकारलाई पनि म अहिले उद्योग वाणिज्य महासंघमा गएको हिसाबले घचघच्याइ राखेको छु । नेपाल सरकारले यसलाई उद्योग सरह भनेर मान्यता दिएको छ । यो व्यवसायमा हामीले ट्रेनिङ्ग पनि दिन्छौ, जसले गर्दा यो शिक्षासँग पनि सम्बन्धित भयो, हरेक एक्स्पेरियन्स ब्यूटिसियनहरुले एकेडेमि खोलिराखेका छन् भनेपछि यो पेशा शिक्षामा जाने भयो । अहिले ब्यूटिसँग स्वास्थ्य पनि सम्बन्धित छ, यसलाई पाठ्यक्रममा पनि लगिराखेको अवस्था छ । नौ र दश कक्षाको पाठ्क्रममा यसलाई हामी राख्दैछौं । भनेपछि चार/पाँच वटा मन्त्रालयसँग यो सम्बन्धित भएकोले यसलाई वर्कआउट गर्दैछौं, कि को सँग सम्बन्धित भएर आचारसंहिता, नियम कानुन बनाएर दरिलो तरिकाले यसलाई कसरी कन्ट्रोल गर्न र गुणस्तरीयता दिन सकिन्छ भन्नेमा लागिराखेका छौं ।

यो व्यवसायबाट विकृति भयो भन्ने पनि छ, खास कुरा के रहेछ ?

विकृति भनेको ब्यूटिपार्लर मात्र होइन, हरेक क्षेत्रमा छ । राजनीति, समाजसेवी, सन्यासी रुपधारण गरेकालगायत हरेक क्षेत्रमा विकृति छ । जो कोहिलाई बोल्नलाई सहज छ तर प्रमाणित गरेर देखाउनु प¥यो कि यो ठाउँमा यस्तो नराम्रो काम भइराखेको छ भनेर । आजसम्म हामीले यो व्यवसायमा त्यो त भेट्टाएका छैनौं । हावाको भरमा यसै बोलेर चाहिँ हुँदैन । के पनि भन्ने सुनिन्छ भने र बारम्बार मिडियाका साथीहरु मार्फत निवेदन पनि गरिराखेको छु कि ठमेलमा मसाज पार्लर एरिया नै छ । ब्यूटिपार्लर र मसाज पार्लर यि दुवै फरक हुन् । ब्यूटिपार्लर मा स्पा, मसाजलगायत एउटा सेक्सन नै राखिएको हुन्छ । ब्यूटिपार्लर कुनै होटल होइन, त्यहाँ जो कोहीलाई स्वागत हुन्छ भनेपछि कसरी विकृति हुन्छ त्यहाँ ? सबैलाई दिइराखेको सेवामा मानिसहरु आउने जाने गरिराख्नु भएको हुन्छ भने त्यो ठाउँलाई विकृति भन्ने शब्दहरु म यसलाई सहि, उचित मान्दिन । यो लान्छाना हाम्रो लागि विल्कुलै स्वीकार्य छैन । रुचीअनुसारको आफ्नो सिपलाई प्रदर्शन गरेर त्यसको पारिश्रमिक लिन्छौं । हामीले त्यस्ता विकृति व्यवसाय गर्न भनेर यो खोलेको पनि होइन र त्यो खोल्न आवश्यकता पनि छैन । हाम्रो आफ्नै मजदुर, परिश्रम, मेहनत, सिपले गर्दा आयआर्जन पनि गरेका छौं, आफ्नो नेम फेम पनि दिएका छौं भने हामीले नराम्रो काम गर्नतिर सोच्नु पनि पर्दैन ।

एउटा महिला सुन्दर बन्न के गर्नुपर्छ ?

महिला मात्रै सुन्दर बन्नु पर्छ र ? पुरुष पनि बन्नु पर्छ नि । पुरुषलाई पनि यो ट्रेनिङ दिनुपर्छ है भनेर नेपालमा पहिलो पटक पुरुषलाई यो व्यवसायको तालिम कमला श्रेष्ठले नै सुरु गरेको हो । मैले ३० वर्ष अगाडि धेरै काम गरे, पुरुषहरुलाई नै भनेर शैलुन पनि खोले । ब्यूटिको परिभाषा सामान्य छैन । सुन्दर भन्ने बित्तिकै त्यहाँ महिला, पुरुष, बच्चा, वृद्धवृद्धा सबैलाई ब्यूटि, हेल्दी बन्ने इच्छा हुन्छ । सुन्दर बन्न के के गर्नुपर्छ भन्ने होइन कि स्वस्थ बन्न के गर्नुपर्छ भन्ने तिर लाग्नु पर्छ । स्वस्थ भएपछि सुन्दर त त्यतिकै देखिन्छ, यसरी यो व्यवसायलाई हेर्छौ र सर्भिस पनि त्यहि तरिकाले दिन्छौं । एक्सरसाइज, योग, समयमा सुन्ने, खानेलगायतका धेरै कुराहरुलाई मानिसले ध्यान दिनु प¥यो र यस्ता धेरै कुराहरुसँग हामी सम्बन्धित छौं । हामीले बाहिर देखिने कुरालाई तुरुन्तै लिपपोत गरी स्किनका समस्याहरुलाई कभर गर्छौ र ब्यूटि बन्नको लागि धेरै सल्लाह दिन्छौं । आफ्नो अनुहार, केशलाई कुन म्याच हुन्छ भन्ने कुरा विशेषज्ञअनुसार उहाँहरुले प्रयोग गर्नु भयो भने ब्यूटि त त्यहि नेर देखिन्छ नि । हामी ब्यूटि बन्न सल्लाह त दिन्छौं तर नेपालमा अहिले डुब्लिकेट मार्केट छिरेको छ । अहिले ब्यूटिसियनहरुलाई कुन प्रोडक्टमा विश्वास गरौं भन्ने अन्योल छ । सस्तोको पछि सबै लाग्छौं हामी, त्यहाँ डुब्लिकेट, एक्स्पायर के हो भन्ने केहि आइडिया छैन भने त्यसले पनि धेरै असर गरिराखेको हुन्छ । त्यसैले डुब्लिकेट मार्केटलाई सरकारले मापदण्डअनुसार राख्नु प¥यो, भित्र्याउन दिनु भएन । एक्स्पायर सामानहरुलाई समयसमयमा अनुगमन गर्नुप¥यो । त्यसैले ब्यूटिलाई राम्रो गर भन्दाभन्दै पनि अलमलिने बाटो त्यही नेर छ । यस्ता कुराहरुले पनि हाम्रो व्यवसाय, स्वास्थ्यसँग खेलवाड भएको छ ।

एकचोटी ब्यूटिपार्लर गइसकेपछि फेरिफेरि गइराख्नु पर्छ नत्र भने समस्या हुन्छ भन्ने पनि सुनिन्छ नि ?

डाइरेक्ट असर गर्ने कुरा भएकोले डराउनु पनि पर्छ । तर यो मानेमा डराउनु पर्छ कि, हरेकको आ–आफ्नै समस्या, विचार हुन्छ र हामी धेरै नै समस्या भइसकेपछि ब्यूटिपार्लर जाने गर्दछौ, त्यो गर्नु हुँदैन । समस्या हुनुभन्दा अगाडि नै सधैं स्किन केयर कसरी गर्ने भन्ने कुरामा एक्स्पर्टिजहरुको सल्लाहअनुसार प्रोडक्टहरु प्रयोग गर्नु भयो भने कहिले पनि समस्या हुँदैन । गुणस्तर प्रोडक्ट, एक्स्पर्टिज ब्यूटिसियनहरु र स्किनसम्बन्धी जानकार व्यक्तिहरुसँग सम्पर्क गरेर प्रयोग गर्नु भयो भने फाइदै हुन्छ । छोडेपछि यो त्यो हुन्छ भन्ने हुँदैन । जस्तो औषधी खाँदाखेरी छोडेपछि ज्वरो आइहाल्छ भन्ने त भएन नि, तर ज्वरो अब आउँदै आउँदैन भन्न पनि त मिल्दैन । त्यस्तै गरी यसलाई एउटा रुटिङ बनाएर लैजानु भयो भने त्यसको साइड इफेक्ट केहि पनि हुँदैन ।

यो व्यवसायमा कस्ता समस्याहरु छन् ?

समस्या हरेक ठाउँमा हुन्छन् । बिना समस्याको कुनै व्यवसाय नै छैन । यो व्यवसायको पनि आफ्नै कथाव्यथाहरु छन् । पहिलो कुरा त यो व्यवसायलाई गुणस्तरीय बनाउन सकिराखेको अवस्था छैन । यसलाई सरकारले दिनुपर्ने सहुलियत, सुविधाहरु दिन सकिराखेको छैन । हामी सबै ब्यूटिसियनहरु मार खाइराखेका छौं । सबै विदेशबाट ल्याउनु पर्ने प्रोडक्टहरु हुन्छन्, नेपालमा केहि पाइदैन । तर दुई/चार जना नेपाली दाजुभाईहरुले नेपाली हर्बलका सामानहरु उत्पादन गरिराख्नु भएको छ । तर उहाँहरुले भने जतिको सामानहरु उत्पादन गर्न सक्नु भएको छैन । त्यसलाई गुणस्तरमा ल्याउन खोजिराख्नु भएको छ तर सकिराख्नु भएको छैन । फेरि यहाँ तेस्रो विश्वको प्रोडक्टहरु हाबी भएको छ । त्यसले गर्दा हामी आफै अलमलिएका छौं, कुन लिउ, कुन नलिउ भन्नेमा । यो किसिमको बाधा अड्चनहरु धेरै छन् । यसमा सहुलित रुपमा ऋण उपलब्ध भयो भने एउटा तल्लो स्तरको व्यवसायीहरुले पनि गरेर खानसक्ने व्यवसाय हो यो । भनेपछि बाधा अड्चन धेरै छ, अहिले जति पनि काम हामी नेपाली दिदी बहिनी तथा दाजु भाईहरुले आफ्नै बल, बुता, आफ्नै प्रयासले गरिराखेका छन् । यसमा कुनै सरकारी तबरबाट वा कुनै त्यस्तो क्षेत्रबाट सपोट पाइराखेको अवस्था छैन ।

दशैँ कसरी मनाउँने गर्नु भएको छ ?

दशैँ हामी नेपालीहरुको महान चाड भएकोले सबै नेपालीहरुले जहाँ भए पनि राम्ररी मनाउनु भएको छ, मनाउनु पनि पर्छ । म बच्चा हुन्जेलसम्म मावलीमा रमाईलो गर्ने गर्दथे । म धेरै रमाइलो गर्ने मान्छे तर अहिले आएर हर कोहीले त्यति उत्साहसँग मनाएको लाग्दैन, खासमा काठमाडौंमा चाहिँ । किनभने केटाकेटी सबै विदेश पलायन भइसके, सबैको घरमा बुढाबुढी दुईजना मात्रै, त्यसले गर्दा के रमाइलो गर्ने भन्ने हुन्छ र, त्यसमा म पनि परेको छु । अहिले भर्खर मात्र मेरो नातीको वर्तमन गर्न र मेरो इन्स्टिच्युटको २५औँ वार्षिक उत्सव मनाउन अमेरिका, यूकेबाट आएका थिए, भर्खरै बिदा गरे र, लगभग २० वर्ष जति भयो मैले दशैँ नमनाएको । दशैँको समयमा छुट्टिमा प्राय म विदेश नै जाने गरेको छु । विदेश जाँदा त्यहाँ डुल्नेघुम्ने पनि हुन्छ र त्यहि समयमा ट्रेनिङ पनि गरिहाल्छु । अघिल्लो वर्ष मुक्तिनाथ दर्शन गर्न गएको थिए र यसपाली भियतनाम जाँदैछु । केटाकेटी हुँदा र परिवार सँगै बस्दाको रमाइलो अर्कै हुन्छ । साह्रै रमाइलो त्यो पलहरु याद आउँछ त्यसैले त्यो सम्झनुभन्दा बाहिरै गएर भुल्नु बेस्ट भनेर बाहिरै जाने गर्छु ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

सर्वप्रथम त स्वदेश तथा विदेशमा रहनु हुने दिदीबहिनी तथा दाजुभाईहरुलाई यो महान चाड दशैँको मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । सबैजना आफ्नो घरपरिवारलाई सँगै राखेर मनाउनु होस् । त्यस्तै दशैँको समयमा जताततै खानेकुरा मात्र दिने भएकाले खाको खाई गर्छौ हामी र पचाउँन सक्दैनौं, त्यसैले खानपानमा ध्यान दिनुहोला ।
यो व्यवसायलाई अझ गुणस्तरीय बनाउन, अगाडि बढाउनको लागि मैले जति मेहनत गरिराखेको छु त्यस्तै मेहनत मेरा धेरै अग्रज साथीहरुले पनि गरिराख्नु भएको छ । मेरा भावी पीढिहरु, सन्तान, विद्यार्थी, ब्यूटिसियन व्यवसायीहरुलाई निवेदन गर्न चाहन्छु, राम्रो तालिम लिएर दक्ष हुनुहोस्, गुणस्तरीय सर्भिस दिनहोुस्, आफ्नो एउटा पहिचान बनाउनहोुस्, परिचित हुने अवस्थासम्म आपूmलाई तयार बनाउँनुहोस्, आफ्नो व्यवसायलाई बलियो मजबुत बनाएर यसबाट एउटा पहिचान बनाउँनुहोस् । कमला श्रेष्ठ एउटा त छँदैछ, तर कमला श्रेष्ठ एक्लै भएर त भएन नि । लाखौँ लाख ब्यूटि व्यवसायमा हुनुहुन्छ, ती सबैजना कमला श्रेष्ठभन्दा पनि धेरै उचाईमा जानुपर्छ । थालनी गरेको व्यवसाय हो, साह्रै दुःख गरेर मैले यसलाई ल्याएको छु । यसलाई जगेर्ना, संरक्षण गर्नुहोस्, समाजमा मर्यादित बनाउनु र आफै पनि त्यो मर्यादामा बस्नुहोस यहि भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 


ताजा अपडेट