नेपाली सेनाका दिनेश र कमला स्ट्रोङ्गेष्ट खेलाडी

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

राजेश थापामगर

काठमाडौं । नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रोङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका छन् । दुवैले मेडल ट्रफी सहित नगद रु ११-११ हजार प्राप्त गरे ।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियरतर्फ सेनाकी कमला श्रेष्ठ र सिनियरतर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पुरुषतर्फ जुनियरमा बाँकेका प्रकाश के.सी. र सिनियरमा सेनाका ओलम्पियन कमलबहादुर अधिकारी विजेता भए ।

प्रतियोगितामा राईजिङ्ग खेलाडी तर्फको उपाधी पुरुषतर्फ कास्कीका किरण घर्तीमगर र महिलातर्फ पर्साकी रशिना बस्नेतले जिते । विजेता खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीद्वय सेनाकी कमला श्रेष्ठ र बाँकेकी सञ्जु श्रेष्ठले नगद रु १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

दक्षिण एशियाली खेलकुदका सर्वाधिक पदकधारी, ओलम्पियन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिललाल जोशीको स्मृतिमा आयोजित भारोत्तोलन प्रतियोगिताको पुरुष ६२ केजी तौल समूहको सिनियरतर्फ नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८० केजी, क्लिन एण्ड जर्कमा १ सय १० केजीका साथ कुलमा १ सय ९० केजी भार उठाउँदै स्वर्ण जिते ।

त्यस्तै दोश्रो भएका एपिएफका राहुलकुमार दासले कुल १ सय ५३ केजी तथा तेस्रो भएका एपिएफकै सुभाष कुमार शाहले कुलमा १ सय ५२ केजी भार उठाएका थिए । यता ६९ केजी तौलमा नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २ सय केजी भार उठाउदै स्वर्ण, १ सय ७७ केजी उठाउँदै एपिएफका महेश चौधरीले रजत तथा सेनाकै जिवन तामाङ्गले कुलमा १ सय ६० केजी उचाल्दै कास्य पदक प्राप्त गरे ।

७७ केजी तौलमा ओलम्पियन नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण पाए । उनले स्नाचमा १ सय १० केजी, क्लिनमा १ सय ५७ केजीका साथ कुलमा २ सय ६७ केजी भार उठाएका थिए । यही तौल समुहमा एपिएफका तिलकबहादुर थापाले कुल १ सय ६२ केजी उठाउँदै रजत तथा पर्साका आकाशकुमार पटेलले १ सय १८ केजी उचाल्दै कास्य पदक प्राप्त गरे ।

पुरुषकै सिनियर तर्फको ८५ केजीमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण पदक, सेनाकै दिनेश कार्कीले रजत र एपिएफका सुजन बि.क.ले कास्य प्राप्त गरे । ९४ केजीमा नेपाली सेनाका टहल बहादुर बस्याललेस्वर्ण, सेनाकै विनोद खड्काले रजत र एपिएफका देवेन्द्र वि.क.ले कास्य प्राप्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट