मिडिया जगतलाई मेरो आग्रह…

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

जनताहरुलाई सू–सूचित गर्दा सकारात्मक सोच राखेर सकारात्मक ढंगले मिडियाबाट हरेक कुराहरुको प्रचारप्रसार भइदियोस् । कतिपय मिडियाले शीर्षक बिगारि दिएर समाचारहरु नकारात्मक ढंगले राखिदिएका हुन्छन् भने कतिपयले त तल समाचार सही हुँदाहुँदै पनि शीर्षक बिगारि दिएका हुन्छन् । मिडिया जगतमा सहि कुराको मूल्यांकनै नगरी नकारात्मक शैलीमा समाचारहरु आइराखेका हुन्छन् ।

उदाहरणको रुपमा भन्दा राष्ट्र बैंकले अहिलेसम्म भारतबाट कति नेपालमा पैसा आउँछ भन्ने कुराको रेकर्ड नराखिदिएकोले गर्दा राष्ट्र बैंकले तथ्यांक नै दिन सकेन हा..हा..हा.. गरेर पेपरमा आयो । तर, रेकर्ड राख्न सकिन्छ कि सकिँदैन, हाम्रो अवस्था के छ, विकास निर्माणको अवस्था के छ, सरकारको अवस्था के छ, नेपाल र भारत बीचको खुल्ला सिमानाका स्थितिहरुलाई बन्द गर्न सकिन्छ कि सकिँदैन, खुल्ला सिमाना कहिलेदेखि छ, कति नेपालीहरु भारत जान्छन्, कति भारतबाट आउँछन् । त्यसको लेखाजोखा सरकारी संयन्त्रले राख्ने कि, राष्ट्र बैंकले राख्ने ?

नेपालबाट भारत कति जान्छन, कति आउँछन् र गएकाले कति तलबमा जागीर खान्छन् । जागीर खाएकामध्ये कति पैसा बैंकबाट पठाउँछन्, कति बोकेर आउँछन् । अनि बोकेरै आए भने कति पैसा चाहिँ पाँच सय, हजार, सयको ल्याउँछन् कसरी भन्न सक्ने ? त्यो हामीलाई थाहा हुँदैन । यस्ता काम राष्ट्र बैंकको त होइन ।

इण्डियाले अनुमान माग्दा नेपाली नागरिकहरुसँग कति पाँचसय र हजारको भारु छ नेपालले अनुमानै दिन नसक्ने, यति पनि गर्न सकेन भन्ने कुरा केही समय अगाडि मिडियामा आए । यस्ता कुरा कसरी भन्न सकिन्छ ? तपाईं मेरो जोगीमा कति पैसा छ भनेर भन्न सक्नुहुन्छ ? त्यसकारण हाम्रो वस्तुस्थितिलाई हेरेर हरेक दृष्टिकोणले सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ, जुन मिडिया जगतले गर्न जरुरी छ ।

केन्द्रिय बैंकले पनि सकारात्मक सोच राखेर कसरी आम नेपाली नागरिकलाई सुविधा दिन, बैंकिङ्ग पहुँच दिन सकिन्छ भन्ने कुरा हेर्नु प¥यो । तर, कुनै बैंकलाई ब्याजदर घटाउनु प¥यो, मार्का प¥यो, कुनै बैंकको सेयरमा कम आम्दानी भयो, सेयर होल्डरले कम पायो होला भन्ने कुरा हाम्रो चिन्ताको विषय होइन । हामीले सर्वसाधारण नेपाली जनतालाई बैंकिङ्ग पहुँच कसरी विस्तार गर्ने, मुलुकमा मूल्य वृद्धिको चाप नपरोस्, मूल्य वृद्धिमा आमजनताहरु लाभान्वित हुन्, मुलुकको स्थायित्व नबिग्रियोस्लगायतका कुराहरु हेर्ने हो ।

वित्तीय क्षेत्रमा विसंगति, अपराधिकरण, बैंकमा माफियाकरण, जनताको डिपोजिटलाई खाने बिगार्ने कुराहरुलाई कठिन रुपमा प्रस्तुत भएर निगरानी, नियन्त्रण, हुण्डीलगायत अवैध क्रियाकलापलाई बन्द गर्नुपर्ने कुरामा हामी सचेत हुन्छौ । यदि कानुनमै कुनै कमीकमोजोरी, त्रृटि छ भने प्रक्रियागत वा नियमसंगत ढंगले कानुनलाई संशोधन गरौ । नत्र भने नेपाली नागरिक, बैंक वित्तीय संस्था सारालाई कानुनको पालना गर्न आग्रह गर्छु । कानुनको परिधिभित्र रहेर हामीले व्यापार, व्यवसायहरु गरौ । कानुनले कसैलाई छुट दिँदैन त्यसैले कानुनको निर्देशनलाई पालना गरौ । त्यो भयो भने सबैको श्री हुन्छ, जय हुन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट