हामी गोली थाप्न तयार छौँ : बिमल गुरुङ, गोरखाल्याण्ड जनमुक्ति मोर्चा

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार

पहाडको रानी भनेर चिनिने दार्जिलिङ अहिले तनावमा छ । यहाँका पर्यटकीय क्षेत्र, विद्यालय, कार्यालयहरु तथा सम्पूर्ण दैनिकी कष्टपूर्ण बनेको छ । केही समय यता गोरखाल्याण्ड आन्दोलन चरम बिन्दुमा पुगेको छ । यसै सेरोफेरोमा गोरखाल्याण्ड जनमुक्ति मोर्चाका नेता बिमल गुरुङसँग गरिएको छोटो कुराकानी । 

 बिमल गुरुङ किन आन्दोलनको अगाडि नेतृत्व गर्न आउँदैनन् ?
यहाँ आन्दोलनमा लाग्ने सबै हाम्रा कार्यकर्ताहरु हुन् । उनीहरु सबै बिमल गुरुङ आन्दोलन, जुलुसको अगाडि नआओस् भन्ने चाहन्छन् । आन्दोलन हाम्रो पनि हो र हामी नै अगाडि बढ्छौँ ।

तपाईलाई के कुराको खतरा छ र आन्दोलनमा खुलेर आउनु हुन्न?
आन्दोलनको नेतृत्व मैले नै गरिराखेको छु । यहाँ जे पनि हुन सक्छ । मलाई जनताहरुले भन्दै छन् कि तपाई देखिने गरी अगाडि आउन जरुरी छैन । हामी अगाडि रहेर लड्छौँ ।

 तपाई यो भन्दै हुनुहुन्छ कि तपाईको ज्यान खतरामा छ ?
हेर्नुहोस् बंगाल सरकारको पुलिस एकदम तानाशाही तरिकाबाट चलिरहेको छ । यहाँ विभिन्न षड्यन्त्र हुन सक्छन् । म पनि एउटा राजनीतिज्ञ हु । मैले राजनीतिमा धेरै वर्ष गुजारेको छु । म पनि साधारण तरिकाले मर्दिन । म पनि केहि गरेर मात्र मर्छु ।

के गरेर मर्नु हुन्छ ?
मेरो मुद्दा भनेको गोरखाल्याण्ड हो । यसका लागि म ज्यान पनि दिन्छु ।

तपाईमाथि पक्राउ पूर्जी जारी गरेको छ नि बंगाल सरकारले ?
पक्राउ पूर्जी त कसको माथि छैन र ? आन्दोलनकारी भएपछि पक्कै पनि हुन्छ ।

तीन जना आन्दोलनकारीको मृत्युको आरोप तपाई माथि छ नि ?
हेर्नुहोस् गोली बिना कारण बंगाल सरकारको पुलिसले चलाएको हो । जसको प्रमाण हामीसँग छ । सजाय त तिनीहरुले भोग्नु पर्छ । यसको जिम्मेवारी बंगाल सरकारले लिनु पर्छ । अहिले पनि म यहाँको निर्वाचित प्रतिनिधि छु । यहाँ केहि गर्नु अघि मलाई सोध्नु जरुरी छ । तर बिनाकारण अनि बिना जानकारी जुन बंगाल सरकारले यहाँ तानाशाही कदम चालेको छ । यो एकदिन पक्कै बंगाल सरकारले भोग्नु पर्छ ।

तपाईले आफ्नो सुरक्षा गार्ड आफैँ हटाउनु भयो नि ?
इन्दिरा गान्धीलाई आफ्नै सुरक्षा गार्डले मारेका थिए । मलाई यस्तो सुरक्षा गार्ड चाहिँदैन ।

आगामी दिनमा यो आन्दोलनको स्वरुप कस्तो हुन्छ ?
यो आन्दोलन सबै गोरखाली समुदायको हो, जहाँ जहाँ गोरखाली रहन्छन् त्यहाँसम्म यो आन्दोलन चर्किनेछ । हामीले प्रष्ट भनी सकेका छौँ कि यो हाम्रो पहिचानको सवाल हो । हामी हाम्रो मातृभूमिको लागि अन्तिम समयसम्म लड्न तयार छौँ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट