एकपटक परिवर्तन गरेर हेर्नुस् : तिलक राई

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार

धरानवासी माझ परिचित नाम हो तिलक राई । कांग्रेसमा रहेर राजनीतिमा निरन्तर क्रियाशील युवा नेता राई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका छन् । कांग्रेसको धरान नगर सभापतिसमेत रहेका राईले सामाजिक क्षेत्रमा पनि लामो समयदेखि योगदान दिँदै आएका छन् । उनी किरात राई यायाक्खाको केन्द्रीय अध्यक्षसमेत हुन् । मेयरका उम्मेदवार राईसँग रेनु कार्कीले गर्नुभएको कुराकानी ।

प्रचार प्रसार कस्तो चल्दैछ ?
वास्तवमा हामी हरेक हिसाबले निरन्तर लागेका छौँ । धरानको वडाको हरेक टोल टोलमा हाम्रो निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ । अहिले उत्साहजनक ठंगबाट यो ऐतिहासिक नेपाली कांग्रेसको चुनावी कार्यक्रम तथा प्रचार प्रसार अगाडि बढिरहेको छ ।

स्थानीय मुद्दाहरु के–के छन् ?
विकास निमार्ण नै धरानको पहिलो मुद्दा हो । ०४५/४६ सालको परिवर्तनपछि अहिलेसम्म हरेक निर्वाचनमा नेपाली कांग्रेसले जित्न सकेन, कम्युनिस्ट पार्टीले नै जिते । तर, धरानवासीले जितेको अनुभुति र विश्वास गर्न सकेन । निर्वाचन जितेपछि निर्वाचन जुन हिसाबले जितेको त्यसो गतिविधि देखिएन । विकासको गतिविधि, जनताको भावनाअनुसार प्राप्त गर्न सकेन । जनताले कुनै पनि रुपमा त्यो महसुस गर्न पाएनन् । त्यो अविश्वास नै अहिले मूलभूतरुपमा चुनावी विषय बनिरहेको छ ।

हरेक चुनाव हार्दै गर्दा पनि नेपाली कांग्रेसले यहाँको विकास निर्माणको कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । एयरपोर्ट बनाउने कुरा छ, भत्ताको कुरा छ, एकीकृत सहरी योजनाअन्तर्गत खानेपानी परियोजनाको कुरा छ । जलआधारको कुरा छ ।

कर्पाेरेट क्षेत्रलाई कोरिडोरकोरुपमा अघि बढाएर कर्पाेरेट क्षेत्रमा जुन क्षति भएको छ त्यहाँ पर्खाल लगाउने कुरा छ । यो अहिले धरानलाई चिरेर जुन ४ फिटको बाटो दुध कोशी राजमार्ग गइरहेको छ । त्यसको मुद्दाको कुरा छ । धरान चतरा हुँदै गाइघाट जाने जुन बाटो छ, त्यो मुद्दा छ । यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जो स्थापना भएको छ, त्यसलाई राम्रो गतिबाट त्यसको क्षमताअनुसार सञ्चालन हुन सकिरहेको छैन । विपीमा थुप्रै विभागहरु, थुप्रै भौतिक संरचनाहरु निर्माण भइरहेको छ तर विशेषज्ञ डाक्टरहरु दिनदिनै घटिरहेको अवस्था छ । धरानको मुटुको रुपमा रहेको भानुचोक बजार छ, त्यो एकदम अस्तव्यस्त भइरहेको छ । धरानमा पार्किङको समस्या भइरहेको छ । दिनदिनै सवारीसाधनहरु बढीरहेको छ । कुनै योजना छैन, नीति तथा कार्यक्रम छैन । अहिलेसम्म धरान नगरवासीले सम्झनलायक कुनै पनि विकासका गतिविधि हेरेका छैनन् । यो सबै गतिविधिहरुलाई नीतिगत ढंगबाट कार्यान्वयन गर्नको लागि, बजेट व्यवस्थापन गर्नका लागि, पारदर्शी र भ्रष्टाचाररहीत नेतृत्व स्थापना गर्ने कुरा छ, यिनै कुरा हाम्रो मुद्दाहरुको रुपमा अगाडि बढिरहेको छ ।

जित्नु हुन्छ त, कस्तो छ अवस्था ?
अहिलेसम्मको स्थिति हेर्दाखेरि र पार्टीको अवस्था हेर्दाखेरि नेपाली कांग्रेस दोस्रो नम्बरमा रहेको चाहिँ हिजो हिसाबहरु छ । तर, मैले अघि उल्लेख गरेका मुद्दाहरु र अहिले पार्टीको जुन संरचना छ पार्टीको जुन क्रियाशीलता छ, नयाँनयाँ पार्टी आउनुभएको छ, पुराना विभिन्न सम्मानित व्यक्तिहरु युद्धस्तरमा लागिरहनुभएको छ । वडा–वडामा, टोल–टोलमा, घर घरमा जुन ऐतिहासिक रुपमा नेपाली कांग्रेसको चुनाव प्रसार प्रसार भइरहेको छ । धराने नगरवासीले जुन किसिमको विश्वासका साथ हामीलाई सल्लाह सुझाव दिइरहेको छ घर–दैलो कार्यक्रममा, टोलटोलको कोणसभामा आएर आफैँ पनि सुझाव दिइरहनुभएको छ । यो काम गर्नुपर्ने यो काम भएन भनेर त्यसले गर्दा नेपाली कांग्रेसप्रति एउटा विश्वास देखिएको छ त्यही विश्वासकै आधारमा जित्न सक्ने अवस्था छ ।

धरानमा लामो समयदेखि वामपन्थीहरुले जित्दै आएको छ, तपाईंले तोड्नुहोला त यो रेकर्ड ?
अब यस्तो छ, जतिबेलासम्म जित्यो बामपन्थीले जिते अनुसारको काम गर्न सकेन । आफ्नो उत्तरदायित्व र कर्तव्य पूरा गर्न सकेन । त्यसको बदला नेपाली कांग्रेसलाई दिने छन् धरानबासीहरुले मत । पहिलाको इतिहास हेर्नुस् न थुप्रै ठाउँमा ३० वर्ष चाहिँ कांग्रेस हारेको ठाउँमा कांग्रेसले जितिहरेको छ र कांग्रेसले जितेर पनि काम गर्न नसकेको अवस्थामा त्यहाँ अन्य पार्टीले जितेको अवस्था छ । त्यसले गर्दा जनताले परिवर्तन चाहिरहेका छन् । जुन बिउले तपाईंलाई राम्रो उत्पादन दिँदैन भने बिउ परिवर्तन गर्नु प¥यो नि त्यो बेलामा । जनतामा अहिले एउटा मनस्थिति के पैदा भएको छ भने जो व्यक्तिले काम गर्दैन, र यो स्थानीय तहमा के छ भनेदेखि नी पार्टी हेरिर्दैन, व्यक्ति र व्यक्तिको व्यक्तित्व हेरिन्छ । उसको व्यवहार, क्षमता अहिलेसम्म गरेको योगदानको कदर गरिने छ भन्ने बुझाइ जुन धरानवासीमा छ त्यो नै एउटा विषयवस्तु हो ।

मैले सामाजिक क्षेत्रमा लामो समयसम्म काम गरे, म आफ्नै जातीय समुदाय किरात राई यायाक्खाको अहिले केन्द्रीय अध्यक्ष छु । मैले त्यसलाई पनि अहिले सामाजिक संस्थाको रुपमा कुनै पार्टीको प्रोटेस नगरिकन काम गरिरहेको छु । मेरो नेतृत्वमा सामाजिक संस्था र राजनीतिकलाई अलग अलग राखेर काम गरेँ त्यसले गर्दा पनि तिलकलाई चुनाव जिताउने जुन धरानबासीको चाहाना छ त्यही नै हो मेरो दावी चुनाव जित्ने ।

प्रमुख प्रतिस्पर्धी कसलाई मान्नुभाको छ ?
अब…, एमाले नै हुन्छ प्रतिस्पर्धी ।

अनि जितेपछि के–के गर्ने योजना बनाउनुभएको छ ?
जितेपछि सबैभन्दा पहिला त धरानका आवश्यकताको रुपमा रहेका जति पनि विकास निर्माणको कुरा छ त्यसलाई क्रमवद्ध ढंगबाट त्यसलाई अघि बढाउने या प्रस्तावित एयरपोर्टको कुरालाई अघि बढाउने । नेकपा एमालेको चाहिँ तत्कालीन अवस्थामा जनप्रतिनिधि भएकै बेलामा भानुचोकमा त्यो घरहरु भत्काएर बसपार्क बनाउने कुरा भएको हो । त्यो कुरालाई पूरा गर्ने कुरा व्यवस्थित बसपार्क बनाउने भन्ने कुरा छ । यहाँ खानेपानी आयोजना चलिरहेको छ, त्यसलाई पूर्णता दिने कुरा छ । माथि जलआधार क्षेत्र छ, त्यसलाई संरक्षण गर्ने कुरा छ । धरानमा अहिले एकदमै ट्राफिक जाम भइरहेको छ । त्यसलाई सही ढंगबाट पार्किङको व्यवस्था गर्ने कुरा छ र धरान एउटा विभिन्न जातजातिको सहर भएको हुनाले यसलाई एउटा सस्ंकृतिक सद्भावपूर्ण ढंगको सहर बनाउनुपर्छ । धार्मिक पर्यटनको सम्भाव्यता छ विभिन्न मठमन्दिर छन् । महत्वपूर्ण रुपमा त्यसलाई संरक्षण गर्ने कुरा छ । यहाँ थुप्रै जातजाति वर्ग समूहको सांस्कृतिक पक्षहरु छ, त्यसलाई धरान नगरपालिकाको तर्फबाट व्यवस्थापन गरेर यी नै कुराहरुलाई अगाडि बढाउने कुरा छ, यी सबै काम गर्नुछ ।

अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
म धरानका मतदाताहरुलाई एकपटक परिवर्तन गरेर हेर्नुस्, नेपाली कांग्रेसको उम्मेदवार तिलक राईलाई पत्याउनुस् भन्न चाहन्छु । म तपाईंलाई दिएको प्रतिवद्धता र धरानको नगरवासीहरुले जुन अपेक्षा गरेका छन्, जुन सपना देखेका छन् विकास निमार्णको त्यसलाई पूरा गर्ने छु । धरानमा आउने हरेक प्रहरीले धरानवासीलाई दबाएर राखेको छ, त्यहाँ शान्ति सुरक्षाको नाममा ६ बजे नै ७ बजे नै बजारहरु बन्द गराइन्छ । दुई–चारजना भेला हुँदा पनि पुलिसले भेडा–बाख्रा झै लखेटेको छ । यी कुराहरुमा धरानलाई स्वतन्त्र सहरको रुपमा अगाडि बढाउने मेरो योजना छ । त्यसको लागि सम्पूर्ण धरानवासीहरुलाई म तिलक राईलाई रुखमा मतदान गरेर मेयरको रुपमा जिताउनको लागि आग्रह गर्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट